माघ १२- श्रीनगर गाविसको दलित बस्ती सायाखोलाका बालबालिका विद्यालय जाँदैनन्। उनीहरूको दैनिकी वनजंगलमा घाँसदाउरा ल्याउँदैमा बित्ने गरेको छ। सिंगो दलित बस्तीका एकजनाले पनि एसएलसी गर्न सकेका छैनन्।
विद्यालय पढ्ने उमेरमा दाउरा खोज्न जंगल धाउनुपर्ने बाध्यता छ। दुःख गरेर संकलन गरेको दाउरा बिक्री गर्न उनीहरू सदरमुकाम गमगढी पुग्छन्। ४६ घरधुरी रहेको सायाखोला गाउँका बालबालिका घरेलु कामले पढाइबाट वञ्चित छन्। गाउँमा एसएलसी टाढाको कुरा भयो। टेस्ट पास गरेका विद्यार्थी भेटाउन पनि मुस्किल रहेको मालिका प्रावि हेन्नीकाधका शिक्षक रंगबहादुर कार्कीले बताए। ‘हातमुख जोर्न उनीहरूलाई दाउरा बिक्री नगरी सुख छैन,’ शिक्षक कार्कीले भने।
गाउँबाट विद्यालय पुग्न १५ मिनेट पनि लाग्दैन। त्यसैमा दलित बालबालिकालाई सरकारले पढाइ छात्रवृत्ति दिएको छ तर पढ्न आउँदैनन्। स्कुलभन्दा दाउराले प्राण बचाएको नाम नबताउने सायाखोलाका एक बालकको भनाइ छ। ‘स्कुल पढ्न कापीकलम किन्ने पैसा हँुदैन। एक भारी दाउरा बेच्यो भने ३ सय ५० कमाइन्छ। त्यसले परिवारको गर्जोसमेत टर्छ,’ उनले भने।
जिल्लामा कार्यरत दर्जनभन्दा बढी गैसस र जिल्ला शिक्षा कार्यालयले शिक्षा क्षेत्रमा करोडभन्दा बढी बजेट लगानी गरेको छ तर अहिलेसम्म सायाखोलाको दलित बस्तीलाई शिक्षातिर आकर्षण गर्न भने सकेका छैनन्। गैसस र सरकारी निकाय मात्र नभएर जिल्ल्ाामा शिक्षा क्षेत्रमा युनिसेफले पनि ठूलो बजेट लगानी गर्छ। गाविस स्तरबाट पनि बजेट छुट्याएर शिक्षातर्फ खर्चिने गरेको पाइएको छ।
सायाखोलामा मात्र नभएर अधिकांश ग्रामीण भेगमा अभिभावकहरूले आफ्ना छोराछोरीलाई गाईभैंसी चराउन, घाँसदाउरा ल्याउन, घट्टजाँतो पिस्न काममा पठाउने गरेका छन्। घरयासी काम र अभिभावकको गैरजिम्मेवारीका कारण फोतु १, रावलबाडा गाउँमा २९ घरधुरी दलित बस्तीमा पनि अहिलेसम्म २ जना युवकले मात्र एसएलसी पास गरेका छन्।
बालबालिकाले घरको काम र अभिभावकले बाहिरको काम गर्नुपर्छ भन्ने पुरानो मानसिकताले गर्दा शिक्षाबाट यो समुदाय पछि परेको रावलबाडाका अभिभावक धनबहादुर दमाईले बताए। उक्त गाउँका अधिकांश बालबालिका सानै उमेरमा रोजगारीका लागि भारत जान्छन्। कलिलो उमेरमा अर्काकामा ज्यालादारी काममा खटिने गरेकाले ७५ प्रतिशत बालबालिका शिक्षा क्षेत्रबाट बाहिर छन्।
सानै उमेरमा कुलतको सिकार हुन्छन्। कुलतमा लागेपछि पढाइप्रति कम रुचि राख्ने गरेका छन्। स्कुल पठाए पनि भागेर घर र्फकन्छन्। बालबालिकाको उमेर नछिप्पिँदै अभिभावकले कुलतमा लगाउने गरेको जिल्ला बाल अधिकृत इन्द्रा शाहीले बताइन्। ‘आर्थिक स्थिति कमजोर र जनचेतनाको अभावले गर्दा अभिभावकले छोराछोरी बिगारेका छन्,’ उनले भनिन्। सदरमुकाम नजिकका सायाखोला, पिना गाविसको कोटिल्ला र मुन्दु गाउँका ९५ प्रतिशत बालबालिका घरायसी कामले शिक्षाबाट वञ्चित भएको शाहीको भनाइ छ। बालबालिकालाई घरेलु कामबाट छुटकारा दिलाएर शिक्षातर्फ उन्मुख गराउन गाउँगाउँमा किशोर-किशोरी शिक्षा कार्यक्रम लागू गरिएको छ। त्यसबाट केही प्रगति देखिएको जिल्ला बालकल्याण समितिले जानकारी गराएको छ।
जिल्ला बाल कल्याण समितिको एक तथ्यांकअनुसार कुलत र अभिभावक गुमाएर अलपत्र रहेका बालबालिकाको संख्या जिल्लाभरि करिब ८ सयभन्दा बढी छ। जिल्लाको अर्को तथ्यांकअनुसार कार्कीबाडाका १ देखि ४ वडाभित्र पर्ने भामबाडाका १२ वर्ष उमेर नकटै बालविवाह गर्ने प्रचलन छ।
ग्रामीण भेगतिर ७/८ वर्ष उमेरका बालबालिकालाई घरेलु हतियार बन्चरो, हँसिया दिएर वनजंगलतिर दाउरा ल्याउन पठाउने, गाई, बाख्रा, भैंसी घोडीलगायत चौपाया बस्तु चराउन भीरपाखातिर पठाउने गरिन्छ। अभिभावकले दिउँसो मात्र छोराछोरीलाई स्कुल पढाउने र बिहानबेलुका घरेलु काममा लगाउने प्रचलनले पढाइमा अत्यन्त कमजोर र एसएलसी पास गर्न मुस्किल हुने गरेको विजय मावि कालैका शिक्षक वीरबहादुर बमले जनाए।
पूर्वी करान भेगका ५ गाविस पुलु, किम्री, डोल्फु, माग्रीका कलिलो उमेरका बालबालिका घरेलु मदिरा बनाउने र सेवन गर्ने कार्यमा बढी उन्मुख हुने गरेका छन्। पठनपाठनतिर रुचि नराख्ने गरेको पाइएको छ। करान भेगका १२ वटा जनजाति बस्तीमा एकातिर विद्यालयमा भाषागत समस्या छ। अर्कातिर घरेलु मदिराको कुलतले गर्दा करिब ७५ प्रतिशत बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित छन्।
मुख्यत बाबुआमाकै कमजोरीका कारण बालबच्चा कुलतमा लागेको पुलु गाविसका गुरुस्याङग्याप लामाले बताए। ‘जनजातिमा बढी मदिरा जाँडरक्सी उत्पादन र सेवनले गर्दा बालबालिका बिगि्रने गरेका छन्,’ उनले भने।
‘०६७ सालको सर्वेक्षणमा २ हजार र राष्ट्रिय जनगणनाले मुगुमा २ हजार १ सय बालबालिका शिक्षा क्षेत्रबाट बाहिर रहेको देखाएको भए पनि हाम्रो स्रोतकेन्द्रको तथ्यांक हेर्दा विद्यालयभन्दा बाहिर छैनन् भन्ने लाग्छ,’ निमित्त जिल्ला शिक्षा अधिकारी धनसुधन चौलागाईंले दाबी गरे।
प्रकाशित मिति: २०७१ माघ १२ १०:१८
No comments:
Post a Comment