जालमा पारेर रगतको सिन्दूर हाल्यो, उसैले अस्पतालको बास गरायो

पुस २२ - , काठमाडौं ।
वीर अस्पतालको आइसीयू कक्षमा एक महिला लगातार चिच्याइरहेकी छिन् । आइसीयूमा अरु पनि महिला बिरामी छन् । तर ती महिलाको अवस्था देख्दा सबैको मन दुख्छ ।  १० दिन भयो राम्ररी होस खुलेको छैन । मुखबाट एकनासले फिंज बगेको छ । हात खुट्टा बाँधिएका छन् । बेलाबेला उनी तर्संदै  बर्बराउँछिन् ।
आइसीयूमा यो हालतमा रहेकी उनी सुर्खेत घर भै काठमाडौंमा नेपाल प्रहरीको जवान पदमा कार्यरत एक दलित महिला हुन  । उनको कथा निकै दर्दनाक छ ।
इमान्दार र अनुशासित भएर नेपाल प्रहरीको जागिर खाइरहेकी उनलाई नेपाल प्रहरीको जवान पदमै जागिर गर्ने ओखलढुङ्गा घर भएका उमेश अधिकारी नाम गरेका युवाले  प्रेम प्रस्ताव राखे  । उनलाई थाहा थियो कि छुवाछुतबाट पूर्ण रुपमा मुक्त हुन नसकेको नेपाली समाजमा अन्तर्जातीय प्रेम गर्नु सजिलो छैन । त्यसैले उनले त्यो प्रस्तावलाई अस्वीकार गरिन् ।
तर ती युवकले उनलाई गएको भदौमा एकान्तमा फेला पारे । बलजफती गरे । उनको केही लागेन । जबर्जस्ती गर्ने उसको सामु शरीर सुम्पन पर्यो । आफ्नो कुभावना पूरा गरेपछि उसले साँच्चै चोखो माया गर्ने छिट्टै नै बिहे गर्ने आश्वासन दिए ।
तैपनि उनलाई विश्वास लागेन । अन्त्यमा ती युवाले ‘बिहे नगरेमा तिम्रै नाममा प्रेमपत्र कोरेर आत्महत्या गर्छु’ भनेपछि उसको प्रेमलाई स्वीकार गर्न बाध्य भइन् । अनि आफुलाई उसले बलात्कार गरेको कुरा पनि बाहिर ल्याइनन् ।
धेरै माया गरेको देखाउन ती युवकले आफ्नो हात काटेर रगतको सिन्दुर लगाइदिए र संकटा मन्दिरमा लगेर स्वयंवर पनि गरे । बिहे गरेको केही समयपछि दुवैजना जोरपाटीमा कोठा लिएर बस्न थाले । तर केही दिनपछि ती युवक कोठामा जान छाडे । अनि नक्कली बिहे गरेकाले आफ्नो पछि नलाग्न धम्की दिन थाले ।
बेलाबेलामा युवतीलाई कुट्ने, पिट्ने र मानसिक रुपमा दवाव दिन थाल्यो । भनेको नमानेमा बलात्कारको भिडियो इन्टरनेटमा राखिदिने धम्की समेत दियो । त्यति मात्र होइन, कुरा खोलेमा युवतीलाई मारेर विदेश जाने भनेर तर्सायो ।

त्यसपछि पीडित युवतीले नेपाल प्रहरीको महिला सेलमा उजुरी गरिन् । केही समय युवाले तारेखमा पनि धाए।  तर महिला सेलले मिलेर जान अनुरोध गरेपछि  कुरा मिलाइयो ।
गएको पुस १० गते ती युवक अचानक युवतीको कोठामा पुग्यो । तर पुगेको केही क्षणमै युवती बेहोस भइन । उनलाई हतार हतार अस्पताल पुर्याइयो । उपचारको क्रममा युवतीले विष सेवन गरेको देखियो ।
सुरुमा महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि नेपाल प्रहरी अस्पताल लगियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि युवतीलाई वीर अस्पतालको आइसीयू कक्षमा राखिएको छ ।
पीडित युवती नेपाल प्रहरीकै कर्मचारी भएपनि कोही पनि प्रहरी उनको अवस्था बुझ्न अस्पतालमा गएका छैनन् । बरु प्रहरीकै उच्च अधिकारीले यो घटनालाई गुपचुप राख्न दबाब दिइरहेको पीडित युवतीकी आफन्तले बताए । घटना भएको १० दिन बितिसक्दा पनि कुनै मानव अधिकारवादी र महिला अधिकारवादीले घटनाको बारेमा कुरा उठाएको छैनन ।
ती युवक समय समयमा अस्पतालमा आएपनि उम्कने मात्रै कुरा गरेको आफन्तले बताए । पीडित युवतीका आफन्तका अनुसार उमेश अधिकारीले नै उनलाई विष खुवाएको हो । तर यसबारे अनुसन्धान हुन सकेको छैन । पीडित युवती अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेकी छिन् । घरको आर्थिक अवस्था पनि नाजुक भएकाले उपचारमा समस्या परेको आफन्तले बताएका छन् ।

No comments:

Post a Comment