भिमादको राङरुङ गाउँलाई छुवाछुत रहित गाउँ वनाउने प्रतिवद्धता


माघ १३,भीमादको राङरुङ गाउँलाई जातीय छुवाछुतरहित नमूना गाउँका रुपमा विकास गरिने भएको छ । बीपी चिन्तन प्रतिष्ठान तनहुँको आयोजनामा भएको कार्यक्रममा बोल्ने स्थानीयले गाउँलाई जिल्लामै जातीय विभेदरहित नमूना गाउँ बनाउने प्रतिबद्धता जनाएका छन् । छुवाछुतबिरुद्धको वृहत छलफलमा बोल्दै महिला सहकारीकी अध्यक्ष सावित्री थापाले अनजानका कारण दलितहरुलाई विभेद गरे पनि अब सचेत भएकाले त्यसो नगर्ने बताइन् ।  युवा क्लब भीमादका अध्यक्ष नारायण लम्सालले छुवाछुत पहिलेभन्दा धेरै कम भैसकेको भन्दै आगामी दिनमा थप मेहनत गरेर गाउँलाई नमूना बनाउन सहयोग गर्ने बताए ।
कार्यक्रममा राष्टिूय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले देशमा छुवाछुत अन्त्य हुनुपर्ने बताउँदै यसका लागि गाउँस्तरमा छुवाछुत हटाउन भएको पहल सकारात्मक रहेको बताए ।  आयोगले जातीय विभेद हटाउनका लागि अहिले अभियान चलाइरहेको उल्लेख गर्दै उनले स्थानीयको सक्रियताको उदाहरण अन्यत्र समेत फैलाउन पहल गर्ने बताए ।  बीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष पुष्पराज पराजुलीले बीपीले आफ्नो पालामा विभेद कम गर्नका लागि दलितलाई समेत विभिन्न तहमा जिम्मेवारी दिएर पहल थालेको उल्लेख गरे । उनले शिक्षा र आर्थिकस्तरका कारण विभेद झन बढ्ने तर्क गर्दै विभेद अन्त्यका लागि आर्थिकस्तर उकास्ने र सचेतनमुलक गतिविधि संगै गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस गाउँ सभापति बलराम पराजुली, एमाले गाउँ अध्यक्ष ध्रुवराज खनाल लगायत राजनीतिक दलका नेताहरुले आफूहरु पहिल्यैदेखि छुवाछुतरहित समाजको पक्षमा रहे पनि अहिले स्थानीयमा समेत चेतना आएकाले गाउँलाई नमूना बनाएर अरुका लागि समेत उदाहरणीय बनाउन सकिने बताए । कार्यक्रममा नेपाली कांग्रेस प्रवक्ता हरि वाग्ले, प्रतिष्ठानका जिल्ला सभापति निलबहादुर थापा, सोच नेपालका प्रबन्ध निर्देशक उत्तम निरौला, दलित संघका जिल्ला सभापति अमृतबहादुर नेपाली लगायतले राङरुङमा देखिएको दलित र गैरदलितको सद्भाव अन्यत्रका लागि उदाहरणीय हुने बताए ।
करिब १८ सय घरधुरी रहेको गाविसमा ३ सय बढी घर दलितका छन् । दलितको संख्या समेत बढी रहेको र विभेदको अवस्था पनि कम रहेकाले गाउँलाई नमूना बनाउन प्रयास थालिएको स्थानीयले बताएका छन् ।

No comments:

Post a Comment