बल्भि्करहने अतीत, अल्भि्करहने वर्तमान’- तारालाल श्रेष्ठ

काठमाडौं– दलित मुक्तिको आन्दोलन ७० वर्ष लामो भए पनि अझै यसले गति लिन नसकेकोमा मंगलबार असन्तुष्टि व्यक्त गरियो। तारालाल श्रेष्ठद्वारा लिखित दलितका समस्या र मुक्तिसँग सम्बन्धित पुस्तक ‘बल्भि्करहने अतीत, अल्भि्करहने वर्तमान’लाई विमोचन गर्दै एमाओवादी नेता बाबुराम भट्टराईले जति जोडबल गर्दा पनि अहिले पाएको उपलब्धिलाई संस्थागत गर्न कठिन हुँदै जान थालेको धारणा राखे। यदि यो उपलब्धि गुमे अहिलेसम्म दलित, जनजाति र अन्यले पाउन लागेको उपलब्धि पनि खोसिन सक्ने आशंका उनले व्यक्त गरे।
tarala book
‘अहिले माघ ८ मा संविधान जारी गर्न जसरी हतार गरिएको छ, त्यसले पाइएका उपलब्धि पनि गुम्नसक्ने सम्भावना छ,’ भट्टराईले भने, ‘महिला र दलितलाई सम्बोधन नगर्ने संविधान कागजको खोस्टोमात्र हुन्छ।’
‘तपाईंहरुलाई लाग्ला, यतिबेला संविधान जारी गर्न संविधानसभा भवनमा गहन छलफल भइरहेको होला तर दुःखका साथ भन्नुपर्छ, अहिले त्यहाँ त्यस्तो कुनै काम भएको छैन। त्यसैले त्यहाँ बस्नुभन्दा मलाई यस्ता ज्ञानगुनका कुराकानी हुने ठाउँमा जान मन लाग्छ,’ भट्टराईले भने, ‘बरु शिलान्यासमा नजाँदा केही फरक पर्दैन। पुस्तक विमोचनमा नजाने नेता निकम्मा र अल्छ्याहा हो। किनभने किताबबाट कम्तीमा दुइटा नयाँ कुरा थाहा हुन्छ।’
उनले पुरानै संविधान जारी गर्न केही नेता कस्सिएर लागेको आरोप लगाउँदै गिरिजाप्रसाद कोइरालाले गणतन्त्रसँग राष्ट्रिय जनावर गाई साटेको प्रसंग उल्लेख गरे। उनले भने, ‘हामी गणतन्त्र नल्याई नछाड्ने, उहाँहरु त्यसको विपक्षमा भएकाले राष्ट्रिय जनावर गाईको विरोधमा रहेका हामीले गणतन्त्रसँग गाई साट्नु परेको हो। गाईको सट्टा अरु कुनै जनावर राख्दा हुन्थ्यो तर उहाँहरुले मान्नु भएन।’
पुस्तक आफूलाई निकै मन परेको बताउँदै उनले करिब आधा घन्टा प्रशंसा गर्न भ्याए। अनुसन्धानमूलक पुस्तक भए पनि निजी अनभूतिसमेत राखेर यसलाई रोचक बनाइएको उनको धारणा थियो। ‘दलित विषयमा यति गहन पुस्तक अहिलेसम्म नेपालीमा लेखिएको छैन भन्ने मलाई लाग्छ,’ उनले भने, ‘दलितका मुद्दा दलितले नै उठाउँदा यो आन्दोलन थप कोमामा जान्छ। गैरदलितले दलितमाथि गर्ने विभेदभन्दा दलितले दलितमाथि नै दलित पुरुषले दलित महिलामाथि गर्ने विभेद नै कडा छ।’
आफू कम्युनिस्ट हुनुमा दलित र महिलामाथि हुने अन्यायले भूमिका खेलेको रहस्य पनि उनले खोले। ‘उनीहरुमाथि हुने अत्याचार र विभेदले मलाई भित्रैदेखि छुन्थ्यो। कम्युनिस्टले यी विभेद हटाउँछन् भन्ने लागेकाले म कम्युनिस्ट भएको हुँ,’ भट्टराईले भने, ‘माओवादीले पहिलो पटक एकीकृत ढंगले वर्गीय उत्पीडनसँगै दलित उत्पीडनका कुरा पनि उठाएकाले जनयुद्धले उचाइ लिएको हो।’
पुस्तकबारे टिप्पणी गर्दै मानवशास्त्री ओम गुरुङले पुस्तकले पिछडिएका समुदायका लागि स्रोत पुस्तकका रुपमा योगदान गर्ने बताए। उनले पनि दलित समुदायले बेग्लाबेग्लै वा आफूमात्रै संघर्ष गर्ने नभई एकीकृत आन्दोलन गर्नुको विकल्प नरहेको स्वीकारे।
हजार वर्षभन्दा बढी समयदेखि विभेद खेपिरहेका दलितले ७० वर्षदेखिस्वाभिमानका लागि लड्दा कुनै उपलब्धि हुन नसकेकाले गैरदलितबाट पनि सहयोगको अपेक्षा गरेको पुराना दलित अगुवा पदम सुन्दासले बताए। दलितभित्रै पनि २६ जातको विभाजन भएकाले आफूले पनि ती विभेद हटाउन ध्यान दिनुपर्ने उनको धारणा थियो। उनले पुस्तक प्रकाशक सीडीआरसीले बौद्धिक व्यक्तित्व जन्माउन खेलेको भूमिकाको प्रशंसा गरे।
कार्यक्रममा सीडीआरसीकी कमला हेमचुरी, साहित्यकार अभि सुवेदीले पनि बोलेका थिए।

No comments:

Post a Comment