सामाजिक सुरक्षा भत्ता बुझ्न बृद्धबृद्धालाई हैरानी


सिन्धुलीमाढी, माघ १४ गते । सरकारले बृद्धाबृद्धाका लागि छुट्याएको सामाजिक सुरक्षा भत्ता बुझ्न कमलामाई नगरपालिकाका बृद्धबृद्धाले निकै हैरानी व्यहोर्ने गरेका छन् ।
सरकारले भत्ता वितरण कार्यलाई पारदर्शी बनाउने भन्दै नगरक्षेत्रहरूमा बैङकिग वितरण प्रणाली लागू गरे पनि त्यसले बृद्धबृद्धालाई अझ बढी हैरानी भएको गुनासो उनीहरूले गरेका छन् । अझ नगरपालिका क्षेत्रका सवै वडाहरुमा सडक सुविधा समेत विस्तार नभएकाले बृद्धबृद्धाहरु माढीबजारसम्म आई पुग्न निक्कै हैरानी व्यहोर्नु पर्ने समस्या रहेको बताउछन ।
कमलामाईनगर क्षेत्रका भत्ताबाहक बृद्धबृद्धा, अपाङ्ग, एकल महिला, लोपउन्मुख हायू जातीलाई कमलामाई नगरपालिका कार्यालयले राष्ट्रिय वाणिज्य बैंक सिन्धुली शाखामार्फत भक्ता वितरण गर्दै आएको छ । बैंङकमार्फत वितरण कार्यले आफु हैरानीमा परेको कमलामाई नगरपालिका–१० का ७० वर्षीया बृद्ध टंकबहादुर विकको गुनासो छ ।
‘पहिले वडा सचिवले घरमै ल्याइ दिन्थे’ उहाँले भन्नुभयो, ‘अहिले त दिनभर लाएर सदरमुकाम आउनु पर्छ । यहाँ पनि बैङकमा भनेको समयमा काम हुदैन, लाइन बस्दाको दिक्क हुन्छ ।’ कमलामाई नगरपालिका–४ का रामबहादुर ठोक्करको पनि त्यस्तै गुनासो छ । ‘मर्ने बेलामा पनि सरकारले किन दुःख दिएको होला यसरी ?’ उहाँले दुःखेसो पोख्नुभयो ।
गाउँका बृद्धबृद्धा सदरमुकामसम्म आइपुग्न गाह्रो हुने र गाउँमा बैङकको पहुँच नभएका कारण भत्ता वितरण गाउँमै आएर गरि दिए राम्रो हुने सुझाब छ बृद्ध टंक विकको । ‘भत्ता लिनेहरू कोही आँखा देख्दैनन्, कोही कान सुन्दैनन् भने कोही हिड्न सक्दैनन्,’ उहाँले अगाडी थप्नुभयो, ‘हामी जस्ता यस्ता नागरिकको विषयमा सरकारले सोचि दिए राम्रो हुन्थ्यो कि ।”
भत्ता वितरणले बैंकको समेत काम प्रभावित बनेको छ । कमलामाई नगरपालिकाका अनुसार नगर क्षेत्रभित्र २०७१ सम्मको तथ्याङक अनुसार जेष्ठ नागरिक ८४२ जना, दलित जेष्ठ नागरिक २४६ जना, एकल महिला ९२८ जना, पूर्ण अपाङ्ग ५५ जना, आशिक अपाङ्ग ३ जना र लोपउन्मुख हायू जाति ३२९ गरी सामाजिक सुरक्षा भत्ता लिने नागरिक जम्मा दुई हजार ४०३ जना छन् ।
भत्ता लिन उनीहरू सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा आउने गर्छन् । भत्ता वितरणका बेला बैंकको सबै काम छाडेर सबै कर्मचारी वितरणमा रुमलिनु पर्दा अरू सबै काम प्रभावित भएको बैङकका एक कर्मचारीले गुनासो गरे ।
सरकारले भत्ता वितरण कार्यलाई पारदर्शी बनाउन बैकिङ्ग प्रणालीको सुरुवात गरेको भएपनि सेवाग्राहीहरु भने समस्यामा परेका छन । बृद्धबृद्धाहरुलाई बुढेसकालमा सरकाले दिएको राहत रकम मर्ने बेलामा सजाय जस्तो भएको उनीहरुले महसुस गरेका छन । बुढेसकालमा दुःख भोगीरहेका सेवाग्राहीहरुको समस्यालाई सरकाले गम्भीरतापुर्वक लिन जरुरी रहेको स्थानीयहरु बताउछन ।
यता नगरपालिका कार्यालयले भने असक्त र बच्चा बच्चीहरुका लागि वडा सचिबको सिफारीसमा उस्ले इच्छाएको व्यक्तिले लिन पाउने व्यवस्था मिलाएको बताएको छ ।

No comments:

Post a Comment