एमाओवादी जिल्लास्तरका नेताले दलित कर्मचारीमाथि जातीय विभेद गरे

टेकेन्द्र बस्याल
पुष ३०
कोहलपुर, जागरण मिडिया सेन्टर ।

कोहलपुर उद्योग व्यापार संघका निर्वतमान महासचिव, एमाओवादी जिल्लास्तरका नेता तथा सिम्पल फार्मेसी सञ्चालक विष्णुप्रसाद खनालले एक दलित कर्मचारीमाथि जातीय विभेद गरेका छन् ।
खनालले दिएको गालीगलौज, अपशब्द र कडारे कामीजस्ता शब्दको मोबाईल रेकर्ड सुनाउँदै कर्मचारी टेकबहादुर विकले विभेद भएको बताए । सोमबार कोहलपुरमा पत्रकार सम्मेलन गर्दै विकले आँफूमाथि यसअघि पनि जातीय घोचपेचका शब्दसहित विभेद हुने गरेको र पुष २५ गते राती ९ बजे खनानले दोहोर्याएको भने । आँफूमाथि जातीय आधारमा कडारे र कामी भन्दै विभेद र अपमान गरेको भन्दै उनले कानुनी उपचारमा जाने बताए ।
पुष २५ गते रात्री खाना खाएर फर्किएपछि खनालले अपशब्द र अश्लिन शब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको र विवादपछि जागिर समेत छोड्नुपरेको उनले भने । व्यापारी खनालसंगको विवादको करिव चार मिनेट मोबाईल रेकर्ड सुनाउँदै विकले यही आधारमा अदालत र राष्ट्रिय दलित आयोगमा कानुनी उपचारका लागि जाने जनाए । खनालले मदिरा सेवन गरी बेलाबेला विभेद गर्ने गरेको उनले पत्रकार सम्मेलनमा भने । कर्मचारीमाथि दलित भएकै कारण विभेद भएको भन्दै जिल्लाका राजनैतिक दलका भातृसंगठन र दलित अधिकारकर्मीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेका छन् । नेपाल दलित संघ, उत्पीडित जातिय मुक्ति समाज, नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा, दलित सेवा संघ, दलित गैरसरकारी संस्था महासंघ, ओसीडिसी र कोहलपुर नगरपालिका स्तरीय दलित संजालले संयुक्त विज्ञप्ती जारी गर्दै घटनामा खेद प्रकट गर्दै कानुनी कारवाहीको जोडदार माग गरेका छन् ।
दलित गैरसरकारी संस्था महासंघ क्षेत्रीय अध्यक्ष डिलबहादुर परियारले मोबाईल रेर्कडका आधारमा टेकबहादुर विकमाथि जातीय विभेद भएको दावी गर्दै मंगलबार कानुनी प्रक्रियाका लागि अदालत र राष्ट्रिय दलित आयोगमा मुद्धा दर्ता गरिने बताए । देश छुवाछुत राष्ट्र मुक्त घोषणा भैसकेको अवस्थामा ठुला भनिएका र कहलिएका व्यक्तिबाट जातीय छुवाछुत भैरहेको भन्दै यो घटनामा दोषीलाई कारवाही गरिने उनले भने । आरोपित भनिएका सिम्पल फार्मेसीका सञ्चालक खनालले आँफूले जातीय विभेद हुने गरी कडारे र कामी शब्द नबोलेको तर घटना उस्तै बन्न गएको बताए । आँफूले विभेद नगरेको र मनसाय समेत नभएकोले पिडितसंग बसेर सहमतीमा जाने उनले भने ।
“जातीय भेदभाव तथा छुवाछुतको कसुर र सजायँ ऐन २०६८” मा कुनैपनि स्थान (निजी तथा सार्वजनिक) मा छुवाछुत र जातीय विभेद गर्न नपाईने, यदि गरेमा विभेदको प्रकृति बमोजिम तीन महिना देखि तीन बर्षसम्म कैद वा एक हजार रुपैया देखि २५ हजार रुपैयासम्म जरिवाना वा दुवै सजाँय हुने र कसैले उक्त ऐनबमोजिमको कसूर गरेको ठहरिएमा पीडकबाट पीडितलाई २५ हजार देखि एक लाख रुपैयासम्म क्षतिपुर्ती भराईदिन सक्ने व्यवस्था छ ।

No comments:

Post a Comment