फिनल्यान्ड बस्दै आएकी सुनिता नेपालीको शंकास्पद मृत्युको छानबिन गर्न माग

माघ १४ गते । फिनल्यान्ड बस्दै आएकी नयाँगाउँ, पोखराकी सुनिता नेपालीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले यथार्थ छानबिन गर्न माग गरेको छ । दुई महिनाअघि फिनल्यान्डमा मृत्यु भएकी नेपालीको हत्या भएको भन्दै दोषीलाई कारबाही माग गरेका हुन् । लेकसाइड माइती भएकी २२ वर्षीया सुनिताको एक वर्षअघि नयाँगाउँका सुरज नेपालीसँग विवाह भएको थियो । माइती पक्षले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी छोरीको शंकास्पद मृत्यु भएको निष्कर्ष निकाल्दै दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । भावविह्वल अवस्थामा कार्यक्रममा आएकी मृतककी आमा नन्दकलाले दाइजो कम ल्याएको भन्दै छोरीलाई यातना दिँदै र पछि आएर हत्या गरेको बताइन् ।
‘यातना दिएर छोरीलाई मृत्युको मुखमा पुर्‍याए,’ रुँदै उनले भनिन्, ‘छोरीको मृतात्माको शान्तिका लागि पनि हामीलाई न्याय चाहियो ।’ उनका अनुसार छोरीले बेलाबेेलामा फोनमा घरपरिवारले दुई वटा सुनका औंठीलगायत सामान नन्द-आमाजूले माग गर्ने गरेको रुँदै भन्थिन् । दाइजो कम ल्याएको भन्दै घरपरिवारले यातना दिने गरेको उनले बताइन् । बाजा बजाएर धुमधामसँग बिहे गरेकी छोरीको यो हालतले उनी दिनहुँ रुने र बर्बराउने गरेकी छिन् । राम्रोसँग खानपिन र राति निदाउनसमेत सकेकी छैनन् । एउटै छोरीको यो अवस्था भएपछि परिवार शोकमा डुबेको छ । ६ महिनादेखि श्रीमान् र नन्द-अमाजूसँग फिनल्यान्ड बस्दै आएकी सुनिताले फोनमा घरपरिवारले चरम मानसिक यातना दिने गरेको फोनमा रुँदै बताउने गरेको दाजु गणेशबहादुर नेपालीले बताए । ‘दाइजो कम भयो, विवाहमा दिएको सामान पुगेन भन्दै यातना दिँदा पनि बहिनीले सहँदै आइरहेकी थिइन्,’ गणेशले भने, ‘मृत्युको तीन दिनअघि पनि घरमा झगडा परेको फोनमा भनेकी थिइन् ।’
गत मंसिर ८ गते मृत्यु भएकी सुनिताको भोलिपल्ट नन्दले ऊ त सुइट भई भन्दै फोन काटिदिएको उनले बताए । केटा पक्षले आत्महत्या भन्दै कसैले बाथरुममा, कसैले सिलिङमा र कसैले ढोकामा झुन्डिएर आत्महत्या गरेको फरक-फरक कुरा गरेपछि शंकास्पद मृत्यु भएको केटी पक्षको आरोप छ । यस सम्बन्धमा केटा पक्षका बाबुसँग बुझ्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन । घटनापछि केटा पक्षको परिवार सम्पर्कमा आउन नचाहेको केटी पक्षको भनाइ छ । मृत्यु भएको १४ दिनसम्म माइतीलाई खबर नगरी केटा पक्षले शव उतै दाहसंस्कार गर्ने तयारी गरेका थिए । माइती पक्षले परराष्ट्र मन्त्रालयमा निवेदन दिएपछि शव पोखरा ल्याइएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुस २ गते ल्याइएको शव माइती पक्षलाई खबर नगरी दाहसंस्कार गरिएको थियो । दाहसंस्कारमा मृतकका श्रीमानको समेत उपस्थिति भएन । घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत बेवास्ता गरेपछि माइती पक्षले गत मंसिर १२ गते इन्टरपोलमा छानबिनका लागि उजुरी दिएका छन् । दाइजो निहुँमा निर्दोष चेलीले विदेशी भूमिमा अनाहकमा ज्यान गुमाएको भन्दै माइती पक्षले दोषीलाई कानुनी कठघरामा उभ्याउन अधिकारकर्मी, कानुनी व्यवसायी र सरोकारवालासँग माग गरेका छन् ।

No comments:

Post a Comment