आफ्नै जातले गर्छन् भेदभाव- योगेश आदी

पाकेको तरकारी भात चुलोमाथि मगमगाई रहेको हुन्छ । एउटा भोको बालक त्यतातिर लम्कन खोज्दैछ । ‘एै यो ठिमाहालाई तान् तान् । के बिधि छुल्याहा छ यो ठिम्मर, एकै छिन छोड्यो कि चुलोमा पुगिहाल्छ ।’ यस्तै भनेर तान्दा–तान्दा मेरो भोटो पछाडिको फेरो एकातिर च्यातिनै आँटेको हुन्थ्यो अरे । ‘यो आधी–भात आधी–ढिंडोको जातले पकाई राखेको भात छोए जस्तो छ, कुकुरले पनि खानै मानेन ।’ आफूले जन्माएको छोरोलाई यी यस्तै बचनबाणले हरहमेशा हानिरहँदा मेरो आमाको मनमा के गड्थ्यो होला ! आफू मगर्नी भैकन ३८ वर्षअघि डंगोलसँग प्रेमविवाह गरी आफ्नै घरमा अछुतोसरह बिताएका दिनहरुको सम्झना गर्दा मेरो आमा अझै पनि भक्कानिनु हुन्छ । एकातिर जन्मघरको बाटो थुनिएको थियो । अर्काेतिर पराईघरमा कुरीतिका बन्धनले चुलो कोठा बारिएको थियो । जनस्वास्थ्यको जागिरमा गाउँपाखा चहार्दै हिंड्ने मेरो बुबा घरभित्रको यी सबै घटनाबारे भलिभाँती जानकारी राखेर पनि मौन बस्न बाध्य थिए । मेरो बुबाका लागि कुलपूजा कोठा बिरानो बनिसकेको थियो । बिहावारीमा कसैले सुपारी थाप्न दिंदैन थिए । समाज बसेर पनि असामाजिक तत्वझैं जीवन निर्वाह गर्दै कयौं वर्ष बिताएका घटनाहरु दन्त्य कथाजस्ता लाग्छन् ।
जातपातको कुसंस्कारभित्र म जस्तै कयौं बाल मनसुवाहरु कसरी हुर्किए होलान् ! मेरो बुबालाई जातको कुरा उठाएर अनावश्यक मानसिक तनाव दिने अरु कोही थिएनन्, घर परिवारका नेवारहरु नै थिए । मेरो आमालाई ‘कुजातसँग पोइला गई’ भनेर कटु बचन लाउने कोही थिएनन् मगरहरु नै थिए । कुनै ब्राह्मणले कहिल्यै मलाई कुजात, ठिमाहा, ठिम्मर, खेंनेवा, लिंडो, ज्यापू इत्यादि भनेर कहिल्यै भनेनन् । जति पनि जातसँग सम्बन्धित असमानताहरु व्यहोर्नु प¥र्याे, जातभित्र नै प¥यो ।
ठूलो जात र सानो जात भनेर भेदभाव गरिने एउटै जातभित्र रहेछ । नेवारभित्रका जातका तहहरु डरलाग्दो किसिमले भेदभावपूर्ण रहेछ । पानी नै नचल्ने नेवार पनि हुँदा रहेछन् भनेर मैले सानैमा देखें । मलाई त कति नेवारहरुले चुलामा समेत जान दिंदैन थिए । मगरभित्र पनि पानी नचल्ने मगरहरु हुँदा रहेछन् । मगरले मगरलाई हेयको दृष्टिले हेरेको मावलीमा कयौं देखेको छु । ब्राह्मणभित्रका क्षेत्रीदेखि जैसीसम्मका तहहरु पनि टिठलाग्दो नै देखेको छु । सानोमा मेरो लट्टे बिक भन्ने साथी थियो । म उसलाई रिस उठेको बेला ‘डुम कामी’ भन्थें । ‘तँ सबैभन्दा सानो जात होस् भनेर भन्दा उसले– ‘हामी होइन, हामीभन्दा सानो दमाई हो, त्यो भन्दा सानो सार्की हो, त्यो भन्दा पनि सानो पोडे हो’ भनेर आफूलाई अलि माथि राख्थ्यो ।
एकदिन मैले सन्जु नेपाली भन्ने दमाई साथीलाई ‘तँ भन्दा त लट्टे ठूलो जात हो रे’ भन्दा सन्जुले– ‘होइन, हामी नै बिहावारीमा अगाडि लाग्ने र बिहानै मुख हेर्दा साइत पर्ने जात भाकोले हामी कामीभन्दा ठूलो हो’ भनेर स्पष्टीकरण दिएपछि मैले दलितभित्र पनि थुप्रै तहहरु रहेछन् भन्ने अनुभूति गरेको थिएँ । करिब २५–३० वर्षअघिको ग्रामीण नेपाली समाज जातपातका यस्ता कुरीतिबाट ग्रस्तै रहेको अहिले पनि महसुस गर्न सकिन्छ ।
जब म स्कुल जान थालें । स्कुलमा सबै जातका साथीहरु एकै गाउँमा पढ्न खेल्न रमाउन थालेपछि ती भेदभावका आलीहरु मत्थर हुँदै गए । कहिल्यै कसैले– ‘तँ तामाङ, तँ दमाई, तँ नेवार’ भनेर कक्षामा भेदभावपूर्ण व्यवहार गरेको देख्न परेन । मैले एसएलसी सकिसक्दासम्म दलित साथीहरुसँग बसेर खाँदा सामान्य लाग्न थालिसकेको थियो । समाजमा आएको त्यो एक किसिमको स्वस्फूर्त रुपान्तरण थियो ।
शिक्षाको पहुँच र चेतनाको स्तर वृद्धिसँगसँगै समाजमा सामुदायिक ऐक्यबद्धता र भातृत्व मजबुत हुँदै गइरहेको थियो । दलित जनजाति महिला र पिछडिएका वर्गलाई प्रदान गरिएको आरक्षणले धेरै हदसम्म दुर्गम गाउँहरुमा प्रभाव पारेको देखिन्थो । संविधानप्रदत्त हकअधिकारमा कुनै भेदभाव थिएन । कानूनले सबैलाई समान अवसर र सुरक्षाको प्रत्याभूति दिएको थियो । सबै जातजातिका नागरिकहरु देशका जिम्मेवार पदमा समेत पुगेर उदाहरण प्रस्तुत गरिरकेका थिए । योग्यता र क्षमताको आधारमा कसैलाई पनि अगाडि बढ्न जातले रोकेको मैले मेरो गाउँघरमा कहिल्यै देखिन ।
समयको कालखण्डमा जातको कारण मेरो बुबाआमाले भोग्नु परेको घरभित्रको पीडा आजको दिनमा मेरै गाउँमा कसैले भोग्न पर्दैन । समाज विकासको क्रममा संस्कृति पनि विकास भैसकेको छ । अब मैले मेरो पुरानो पुस्तासँग मेरो बुबाआमालाई गरेको भेदभावको बदला साँध्नुको अर्थ छैन । मैले ‘कामी डुम’ भन्यो भनेर लट्टेको छोरोले मसँग इबि साँध्नुको पनि तुक छैन । बाजेका पालामा गरेको भेदभावका कुराहरु उठाएर रगत उमाल्नुको माने छैन । अब मेरो बुबालाई सबैले सुपारी दिन थालिसकेका छन् । मलाई कसैले चुलामा रोक्दैनन् । पियनदेखि सभासद्सम्म सबै जातजातिका मान्छेहरु बनिसकेका छन् । हो–होइन, पुष्टिका लागि अरुका कुरा सुन्नै पर्दैन, सभासद्देखि सरकारी ओहोदामा रहेका पदाधिकारीहरु आफैंले हेरे छर्लंगै हुन्छ । जसमा सबै जातजातिका मानिसहरु योग्यता र क्षमताअनुसार पुगेका छन् । यस्तो परिवेशमा फेरि किन जातको दायरामा नेपालीमा छुट्याउने दुष्प्रयास गरिंदैछ !
तर आजकल फेरि समाज विकासक्रमसँगै मत्थर हुँदै गएका जातजातिका कुराहरु उठाउन थालिएका छन् । समतामूलक सोचमा अगाडि बढिरहेको नेपाली समाजमा केही राजनैतिक दलले राजनीति गर्ने मुद्दाको रुपमा जातका कुराका उठाएर समाजमा स्थापित अमनचैन खल्बल्याउने कोसिस गरिरहेका छन् ।
० योगेश आदी
ygshdngl@yahoo.com
Source= biswonews.Com

No comments:

Post a Comment