म मुक्ति चाहन्छु, म अन्धकार तोड्न चाहन्छु : पदम सुन्दास


म मुक्ति चाहन्छु, म अन्धकार तोड्न चाहन्छुलेखक तारालाल श्रेष्ठले ‘बल्झिरहने अतीत, अल्झिरहने वर्तमान’ पुस्तकमा जति पनि लेखेका छन् ती सत्य छन् । ती सत्यभित्र ठ्याक्क एक ठाउँमा दलित समुदायबीचको फुटको सन्दर्भ कोट्याउनुभएको छ । उहाँले दलित फुट देखेर आत्महत्या गर्न मन लागेको कुरा लेख्नुभएको देखेर म सत्तरी वर्षीय युवकलाई सारै चोट पर्‍यो । म उहाँसँग काँधमा काँध मिलाएर यो बौद्धिक डिस्कोर्षबाट नेपालमा विद्यमान हजारौं वर्षका समस्यासँग लड्न हिँडिरहेको छु । यस्तो दृश्य देख्दादेख्दै पनि फुटका कुरा सुन्दा फ्लोरबाट धेरै ताली आउँदा म छक्क परें । दलितभित्र भएका फुटको कारकतत्व त हिन्दु धर्ममा भएको तहगत संरचनाको विरासत हो । त्यसैले आत्महत्या हैन, यो समाजलाई बदल्न म लेखकलाई के अनुरोध गर्दछु । दलित र सबै गैरदलित उत्पीडित सँगसँंगै एकपटक उठौं यो समस्या छिट्टै समाप्त भइजान्छ ।


पुस्तकमा हजारौ वर्षसम्मका पीडित समुदायले पोख्न नसकेका कुरा पनि हुबहु पोखिएको छ, त्यो पनि गैरदलितको तर्फबाट । त्यसैले मैले भनिरहेको छु, दलितको समस्या दलितको मात्रै नभएर सिङ्गै समाजको समस्या हो । र, यो परिवर्तनसँग गाँसिएको आन्दोलन भएकाले यसको अन्त्यका लागि समाजमा दुई कित्तामा रहेका दलित र गैरदलित दुवै पक्षले सहकार्य गर्नु आवश्यक छ । हिजो दलितले मात्रै पीडाबोध गरेर एक्लैले संघर्ष गरिरहेको अवस्था थियो, अब यो समाजको र सिङ्गो राज्यको समस्या हो भन्ने गैरदलितलाई पनि जिम्मेवारीबोध हुनुपर्ने कुरा यस किताबमा आएको छ ।
अर्काे कुरा, सत्तरी वर्षको दलित आन्दोलनको इतिहासमा दलित–दलितबीचको विभेदको कुरा र आफ्ना कमीकमजोरीका कुरा खुट्याउन सकिरहेको थिएन । के कुरा सत्य हो भने दलित समुदायभित्र हामी २६ जातमा विभक्त छौं । मैले आत्मा साक्षी राखेर भन्नुपर्छ, २००८ सालदेखि अहिलेसम्म २ वटा जातले मात्र हालीमुहाली गर्दै आएका छन् । हालीमुहाली यस अर्थमा भनेको हुँ कि २६ वटा दलितका जातलाई सँगै मिलाएर हिँडेको भए आजसम्म यो आन्दोलन अहिलेसम्मकै सबभन्दा सशक्त र सफल आन्दोलन भइसक्थ्यो । र अहिले दलितले मुक्तिका लागि आन्दोलन गरिरहनुपर्ने अवस्था पनि आउने थिएन । उनीहरूले आफू सत्ताको नजिक हुँदा आफ्नाबाहेक अर्कालाई देख्तै देखेनन्, जसका कारण आजसम्म समग्र दलितको मुक्ति हुन सकेन । हामीले यसरी त आन्दोलन बिग्रिन्छ है भन्दाभन्दै पनि त्यो कुरालाई पोख्न सकिरहेका थिएनौं । उहाँले निष्पक्ष र निडर भएर यो पुस्तकमा ल्याइदिनुभएको छ । दलित समुदायले आफूभित्र भएको विभेदलाई पनि हटाउन सचेत हुने कि नहुने ? खालि गैरदलितलाई मात्रै भन्ने कि आफूभित्रको समस्या पनि हटाउने ? मनन गर्नैपर्दछ ।
यस किताबमा एनजिओबारे पनि उठेको छ । यसमा धेरै कुरा भन्न चाहँदिनँ । वास्तवमा एनजिओले दलितलाई केही हदसम्म सुसूचित गराएको छ, तर भुत्ते पनि बनाएको छ । मैले ज्यादा बोलेको ठहरिँदैन भने अब केही वर्षपछि दलित आन्दोलन चलाउने मजस्ता सत्तरी वर्षीय युवकमात्रै बाँकी रहने छन् । अरु सबै अमेरिका पुगिसकेका हुनेछन् । सबैको टार्गेट छ, कसरी अमेरिका पुग्ने र आफ्नो दुनो सोझाउने ? यो कुरा उहाँले ठाडै भनिदिनुभएको छ, त्यसका लागि धन्यवाद ।
तेस्रो भागमा दलितको पहिचानका कुरा छ । त्यसमा सत्तरी वर्षको दलित इतिहासमा दलितहरूले म दलित हुँ भनेर सगौरव हिँड्न नसकेको कुरालाई यसरी औंल्याइएको छ, “म दलित हुँ, यो देशको सबभन्दा पछाडि पारिएको नागरिक म हुँ, म स्वाभिमानी छु, मलाई मेरो पसिनासँग गौरव छ भन्ने कुरा तिमीहरूले सगौरव भनेर हिँड, केही हीनताबोध गरेर हिँड्न जरुरी छैन ।”
वास्तवमा हामी दलितहरू यसबारे सचेत छौं । आन्दोलन र जातीय पीडा बुझेकाहरूले आफूलाई दलित भन्न कहिले हीनताबोध गरेको छैन । हामी दलित समुदायले केही कार्यक्रम गर्नुपर्यो भने हाम्रा पीडा पोख्न नेताहरू बोलाउँछौं । कार्यक्रममा आउने नेताहरूले पहिल्यै भन्छन्, ‘तिमीहरू दलित शब्द हटाई हाल तुरुन्तै । दलित शब्दले तिमीहरूलाई हीनताबोध गराउँछ । त्यसैले दलित नभनी सिंगो नेपाली हौं भनेर अर्ति दिनुहुन्छ र हामीले जुन मुद्दामा काम गर्न लागेका हुन्छौं, त्यो मुद्दालाई अर्काेतिर मोडी दिनुहुन्छ ।
नेपालमा हजारौं वर्षदेखि अपहेलितहरूलाई अछूत भनेर, परिगणित भनेर, विभिन्न विशेषण र नामलाई हामीले विस्थापित गरेर आन्दोलनले सिर्जना गरेको दलित शब्द राखेका हौं । दलित हुनु आन्दोलनसँग जोडिनु हो । हामीले नाम फेर्ने क्रममा दलितपनाबाट उम्किन विभिन्न नाम राख्यौं होला । सबै नेपालीका लागि सबभन्दा राम्रो र स्वाभिमानी नाम नेपाली नै हो । हामीले के भन्यौ भने ‘ठिक छ, हामी दलित भन्न चाहन्नौं, हामीलाई नेपाली नागरिकता देऊ’ भनेर नामसँग नेपाली थर राख्यौं । तर अहिले नेपाली भनेर परिचय दिँदा कुन जात हो भनेर सोधिन्छ । अहिले नेपाली भन्दा सिंगो नेपालीलाई बुझिँदैन । कामी हौ कि सार्की हौ कि दमाई हो भनेर ३ वटा जातमध्ये को हौ भनेर सोधिन्छ । नेपाली भनेको गाइने हो कि बादी भनेर सोधिन्छ । जुनसुकै नाम परिवर्तन गरेर मुक्ति हुन खोजे पनि हामीले भेदभावपूर्ण चिन्तन र व्यवहारलाई फ्याँक्न नसकेसम्म कुनै पनि नाम फेराइबाट मुक्ति पाउनेवाला छैनौं ।
‘दलित’ आन्दोलनसँग जोडिएको कुरा हो । आन्दोलनबाट कमाएको नाम हो । यो हटाउँदा सत्ताधारीलाई मात्र फाइदा छ । हकअधिकार लिने हो भने हामी यही नामबाट चिनिएर जानुपर्छ । हामीले सयौं वर्षसम्म दलित ट्याग बोकेर बस्न खोजेको हैन । यो समस्या समाधान नभएसम्म यो नाम आवश्यक छ । हाम्रो संविधानभित्र दलित शब्द राख्न अनिवार्य छ । संविधानमा दलितको नाम किटानी नभएसम्म हामीले कुनै पनि हक अधिकार पाउनेवाला छैनौ । यो कुरो हामीले २०४७ सालको संविधानबाट भोगिसक्यौं ।
२०४७ सालको संविधानको ड्राफ्ट बनाउने समयमा दलितलाई पनि महिलालाई सरह ३ प्रतिशत आरक्षण माथिल्लो सदनमा छुट्याइएको थियो । तर त्यतिबेला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भन्नुभयो, ‘सयौं वर्षसम्म उही अपमानित दलित नाम रहिरहन्छ । त्यसैले यो नाम नराख, तिमीहरूलाई पछि अरु थपेर व्यवहारमा दिइहाल्छौं ।’ यसरी पाइएको ३ प्रतिशत पनि उहाँले चिप्ल्याई दिनुभयो । त्यसपछि १६–१७ वर्षसम्म पनि हामीले केही पाएनौं । त्यसकारण हाम्रो अधिकार खोस्नमात्रै दलित नाम नराख भनिएको हो ।
अहिले पनि दलितको नामबाट सभासद भएका, दलित जनजाति पार्टीको नामबाट संविधानसभामा पुगेकाहरूले कसैको उक्साहटमा या मन्त्री पाउने आसमा भनेका छन्, ‘दलित शब्द नराखौं, हामीलाई हीनताबोध हुन्छ, राष्ट्रिय दलित आयोग पनि नराखौं ।’ कोही योभन्दा राम्रो उत्पीडित शब्द राखौं, शिल्पी राखौं भन्छन् । त्यसैगरी अरुचाहिँ पौरखी राखौं भन्छन् । अनि के हामी वर्षौसम्म नाममात्रै फेरिरहने कि दलितकै नामबाट हकअधिकार सुनिश्चित गर्ने ? त्यसैले इतिहाससँग जोडिएको यो दलित शब्द अनिवार्य राखिनुपर्छ । यो हाम्रो परिचय हो । त्यसमा हामी स्वयम् सचेत हुनुपर्छ । राज्यलाई पनि यसप्रति सचेत बनाउँनैपर्छ ।
यस किताबमा धर्मनिरपेक्ष राष्ट्र घोषणाको कुरा छ । संसारमा जहाँ–जहाँ हिन्दुहरू पुगेका छन्, त्यहाँ–त्यहाँ जातीय छुवाछूत बोकेर गएका छन् । यस किताबमा बेलायतमा भुटानी शरणार्थीलाई भेट गर्दा त्यहाँ पनि छुवाछूत भेटिएको कुरा उल्लेख गरिएको छ र यही रोग अमेरिकामा पनि पुगिसकेको छ । हामीलाई अछूत बनाउँदै आएको हिन्दु धर्मले राज्यसत्तालाई प्रयोग गरेर जबर्जस्ती हिन्दु र अछूत बनाइराखेको छ । जब जब दलितहरू सचेत हुँदै जान्छन्, उनीहरूले आफ्नो धार्मिक मठमन्दिरमा गएर पूजा गर्न खोज्दा पनि त्यो अधिकार प्रयोग गर्न पाउँदैनन् । यसरी नै हिन्दु धर्मको नाममा छुवाछूत र भेदभाव जारी राखिन्छ भने त्यही धर्ममा आस्था राखेर बस्नुपर्छ भन्ने कुरा पनि अब मानिँदैन । हामीलाई अहिलेसम्म चार जात छत्तीस वर्णमा आधारित हिन्दू धर्मभित्र अछूत बनाएर जबर्जस्ती राखिएको छ ।
अन्तरिम संविधानले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिसक्यो । अहिले ठूला नेताहरू बग्घीमा रथयात्रा गरेर फेरि नेपाललाई हिन्दू राष्ट्र बनाउन प्रयत्नरत छन् । दलित आन्दोलनले २००८ सालदेखि उठाएको मूल नारा भनेको धर्मनिरपेक्ष राष्ट्रको माग पनि हो । धेरैपछि मात्रै प्रगतिशील भनिने कम्युनिस्ट नेताहरूले यसलाई स्वीकार गर्न थालेका हुन् । दलित आन्दोलनको इतिहासदेखिको प्रथम नारा धर्मनिरपेक्ष राष्ट्र हुनु हो । तर अहिले अधिकांश टिभी, एफ एम, रेडियो अनि मिडियाले धर्मनिरपेक्ष राष्ट्रको विपक्षमा प्रचार गरिरहेका छन् । जनमत–संग्रह नगरीकन संविधानमा किन राख्यो भनिरहेका छन् । आफूलाई प्रगतिशील भन्ने व्यक्तिहरूले पनि जनमत–संग्रहको कुरा उठाइरहेका छन् ।
मेरो प्रश्नः धर्मनिरपेक्ष राष्ट्र हुँदा कुनै हिन्दुलाई फरक परेको छ ? उनीहरूले खाइपाइ आएका हकअधिकार कहीँ खोसिएको छ ? तर हामीलाई भने हिन्दु धर्मकै नाममा हजारौं वर्षदेखि विभेद गरिएको छ, वञ्चित गरिएको छ । हामीले आफूले खनेको कुवामा पानी लिन सकिरहेका छैनौं । यसरी जबर्जस्ती लादिएको धर्मलाई फेरि देशको धर्म बनाएर हामीलाई अछूत नै बनाई त्यही वर्णाश्रमभित्र राख्ने ? अब त्यस्तो थोपराइ दलितले सहनेवाला छैनन् । त्यसकारण हामी आफ्नै इच्छाको धर्म लिन चाहन्छौं । हामीे आफूलाई छुवाछूत गर्ने धर्म त्याग्न पनि सक्छौं ।
यस किताबमा लेखकको सुझाव छ, हामी हिन्दु धर्ममा बस्न सक्दैनौ भने नास्तिक बनौं, नास्तिक बन्न सक्दैनौ भने कम्तीमा तटस्थ बनौं । म के भन्छु भने हामी सम्पूर्ण दलितहरू हिन्दु धर्मभित्र बसेर त्यसको भण्डाफोर गर्दै त्यसलाई परिवर्तन गर्न चाहन्छौं । यो धर्म मान्न चाहँदैनौ भने अर्को धर्ममा जान पनि स्वतन्त्र छौं । कुरो के निस्कन्छ भने क्रिस्चियन धर्मले पैसा खुवाएर, लोभलालच देखाएर धर्म परिवर्तन गरेका छन् । यसमा सबभन्दा बढी पैसा खाएर जानेचाहिँ ठूलठूला गैरदलित नै छन् । दलितहरूले चाहिँ आफ्नो आस्थाको मन्दिरमा पस्न नपाएको कारण धर्म परिवर्तन गरेका छन् । जुन ठाउँमा हामीलाई स्वागत तथा सत्कार गर्छन्, त्यो ठाउँमा आफ्नो स्वेच्छाले धर्म परिवर्तन गरेका छन् । उनीहरूले कसैको करकाप र पैसा खाएर धर्म परिवर्तन गरेका हैनन् । यही कुरा यस पुस्तकमा दलितका तर्फबाट वकालत गर्नुभएकोमा लेखकलाई धन्यवाद ।
यो किताबको शिर्षक ठ्याक्कै मेरो जीवनको कथाजस्तो लाग्छ । मेरै जीवनसँग जोडिएको जस्तो मात्रै हजारौं वर्ष उत्पीडन सहँदै आएका दलितहरूको हो कि भन्ने लाग्छ । मेरो पुर्खाले सदीयौंदेखि अपमान सहे, मेरा बाजे र बाउले अपमान सहे । मैले पनि अपमान सहँदै आएँ । मैले जन्मँदादेखि पढ्दा र विवाह गर्दा समेत अपमान भोगेको छु । ब्यापार गर्दादेखि राजनीति गर्दा पनि अपमान भोगेको छु । सामाजिक काममा पनि अपमानै भोगिरहेको छु । मैले मात्रै अपमान भोगेर पुगेन, अब मेरो छोराले पनि अपमान भोग्ने ? त्यसकारण म मुक्ति चाहन्छु । मेरो सन्तान मुक्ति चाहन्छन् । मेरो समाज मुक्ति चाहन्छ ।
यो बल्झिरहने अतीतले मलाई दिनभरि अल्झाइरहन्छ । मैले बिर्सेको छैन, स्कुलमा पढ्दाखेरी पानी अञ्जुलीमा थापेर खाएको, सरकारी जागिर खान जाँदा अफिसमा दमाईको छोरा आयो भनेर छिर्न नपाएको, मेरो छोरालाई पढाउन जाँदाखेरी दमाईको छोराले के पढ्छ भनेर सरहरूले खिसी गरेको कुरा । जिन्दगीभर भोगेका यी तमाम अतीत हरदम बल्झिरहन्छन् । त्यसकारण यो अतीतको पीडा बल्झिँदाबल्झिँदा हाम्रो वर्तमानको सिर्जनशीलतामा समेत ह्रास आएको छ ।
के हामी कलामा पछि छौं ? संगीतमा पछि छौं कि ? सीप र श्रम के कुरामा पछि छौं ? तर हामीलाई खालि जातैको भुतले हरदम सताइरहेको छ । जातीय अपहेलनाको विरुद्धमा लाग्दालाग्दै हाम्रो वर्तमान सधैं अल्झिरहेको छ । हाम्रो जीवनसँग ठ्याक्कै मेल खानेगरी पुस्तक नाम राख्नुभएकोमा लेखकलाई पुनः धन्यवाद । अन्तिम धन्यवाद उहाँले किताबबाट आउने आम्दानी र रोयल्टी दलित विद्यार्थीका लागि खर्च गर्ने बताउनुभएकोमा । यस पुस्तकको आम्दानीबाट केही गरिब दलित विद्यार्थीले छात्रवृत्ति पाउने छन् । छात्रवृत्तिको आधार प्राप्त गरेको बौद्धिक ज्ञानसहित उनीहरूबाट दलित आन्दोलनमा एकेडेमिक एक्टिभिजम्मा थप सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ ।

No comments:

Post a Comment