धारो छोइने भन्दै कथित माथिल्लो जातका व्यक्तिले पानी लैजान रोक

शान्तिनगर (सल्यान), माघ १६ - धारो छोइने भन्दै कथित माथिल्लो जातका व्यक्तिले पानी लैजान रोक लगाएपछि शारदा नगरपालिकास्थित शान्तिनगरका बादी समुदाय खोलाको दूषित पानी पिउन बाध्य भएका छन् । कथित तल्लो जातका बासिन्दालाई पानी लिन रोकिएपछि यहाँका २९ बादी परिवार साउनदेखि शारदा खोलाको पानी खान बाध्य भएका हुन् । 'धारामा जानै दिन्नन् । खोलाको पानी खान हुँदैन भन्ने थाहा छ, तैपनि त्यसैको भरमा छौं,' स्थानीय सिर्जना बादीले भनिन्, 'पानीकै लागि धेरै सास्ती भोग्नुपरेको छ । सरकारले गाउँका बासिन्दाका लागि बनाएको धारा कथित माथिल्लो जातकाले मात्र एकलौटी बनाएपछि विपन्न दलित समस्यामा परेका हुन् । 'पानी पनि छुन दिन्नन् । हाम्रो अधिकारै नभएजस्तो । हामी मान्छे नै नभएजस्तो गर्छन्,' उनले दुःखेसो पोखिन् ।
धारोको पानी नपाएपछि जिल्ला विकास समितिको लक्षित वर्ग अन्तर्गतको बजेटबाट ५० हजारको लागतमा छुट्टै खानेपानी इनार निर्माण गरिएको थियो । वर्षामा त्यो पनि बाढीले बगाएर लगेपछि पानीको समस्या भएको हो । योजना सञ्चालन गर्ने समयमै भेदभाव गरिएको सीता बादीले बताइन् । दलित र गैरदलितका लागि छुट्टै धारा बनाइएका थिए । 'बादीको धाराको पाइप फुटेका कारण धारामा पानी आएन । अर्को धाराको पानी थाप्न पाएनौँ,' उनले भनिन् । त्यसैले जिविसको योजनामा खोलाको छेउमा इनार बनाइएको थियो । 'जबर्जस्ती गरे झगडा हुन्छ । नगरे पानी पाइन्न । गरिब र तल्लो जाति भनेपछि सबैले हेप्ने रै'छन्,' उनले दुःखेसो पोखिन् ।
इनार खोलाले बगाएपछि बारम्बार सम्बद्ध निकायमा माग गर्दै आए पनि कसैले सहयोग नगरेको पुष्पा बादीले बताइन् । जातीय भेदभाव गर्नेलाई अवहेलना मुद्दा दर्ता गरी कारबाही गर्न सकिने कानुनी व्यवस्था भए पनि न यहाँका बादीले त्यो आँट गरेका छन् न त प्रहरी र प्रशासनका अधिकारीले चासो दिएका छन् । 'छुवाछूत र होचोमिचो गर्न नपाउने भन्छन् तर हाम्रो गाउँमा केही परिवर्तन आएको छैन,' उनले भनिन्, 'पानीमा मात्र हैन, हरेक कुरामा भेदभाव छ ।' भेदभावका कारण सामुदायिक वनबाट दाउरा ल्याउनसमेत रोकिएको उनले बताइन् ।
बादीहरू २० वर्षदेखि शान्तिनगरको ऐलानी जग्गामा बस्दै आएका छन् । पहिला मासिक ५० रुपैयाँ शुल्क तिरेर दाउरा संकलन गर्थे । अहिले सामुदायिक वनले सदस्यताका लागि ७ हजार मागेको छ । विपन्न बादीहरू त्यति पैसा तिरेर सदस्य बन्न सक्दैनन् । 'सदस्य बन्न पैसा छैन । सदस्य नबने दाउरा पाइन्न,' उनले भनिन् । दलित सेवा संघ अध्यक्ष यज्ञ विकले शान्तिनगरमा बादीलाई खानेपानीमा भएको विभेदप्रति आपत्ति जनाउँदै भेदभाव गर्नेलाई कारबाही गर्न र खानेपानीको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

No comments:

Post a Comment