तीस हजारको ब्याजमा ३५ वर्षदेखि हलिया - करन ताम्राकार

डडेल्धुरा   ।सरकारले हलिया प्रथाको अन्त्य गरेको झन्डै ६ वर्ष बितिसकेको छ । तर, मस्टामाडौं गाविस–९ सकायलका नरी दमार्इं अझै हलिया बसिरहेका छन् । उनी ३५ वर्षदेखि हलिया बसेका हुन् । ३० हजार ऋण तिर्न उनी ३५ वर्षसम्म हलिया बसिसके । तर, ऋण चुक्ता भएको छैन ।
उनी लालबहादुर कठायतको हलो जोत्छन् । हली बसेर नै उनले सातजनाको परिवार पालेका छन् । उनले भने, ‘मालिकको हलो जोत्न छोड्यो भने आफ्नै उठीबास हुन्छ, हामी जस्ता गरिबलाई कसले खान दिन्छ र ?’
आफूलाई मालिकले बस्नलाई एक रोपनी जमिन दिए पनि नामसारी भने नगरेको दमाईंले बताए । मुक्त भए बस्दै आएको घर पनि छोड्नुपर्ने बाध्यता रकहेकाले मालिकको हलो जोत्न नछाडेको उनको भनाइ छ । उनले भने, ‘सरकारले हलियामुक्त घोषणा गरेको छ भन्ने सुनेको छु । तर, मुक्त भएर के खाने ? कहाँ गएर बस्ने ? अब अन्य काम गरेर खान सक्ने अवस्था नै छैन ।’
उनलाई सरकारले ‘क’ वर्गको मुक्त हलियाको परिचयपत्र दिएको थियो । उनी केही समय हलो जोत्न गएनन् पनि । तर, खान नै समस्या भएपछि परिचयपत्र फालेर आफू फेरि हलिया बसेको उनले बताए ।
हलिया मुक्तिको घोषणा भए पनि हलिया पुनस्र्थापना र प्रमाणीकरणलगायत विषयलाई गम्भीर रूपमा नलिएका कारण नरी दमार्इं जस्तै अन्य हलियाको पनि अवस्था रहेको हलियामुक्त समाज डडेल्धुराका अध्यक्ष तुलाराम सार्कीले बताए । पछिल्लो समय हलियाको अधिकारका क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय मुक्त हलिया समाज महासंघले दातृ निकाय र राज्यतर्फबाट हालसम्म ५० करोडभन्दा बढी हलिया समुदायको क्षेत्रमा खर्च भइसकेको जनाएको छ । तर, मुक्त हलियाको अवस्था भने जस्ताको तस्तै छ ।
डडेल्धुरामा दुई हजार ६ सय ७६ मुक्त हलिया छन् । मुक्तिपछि उनीहरूको अवस्था दर्दनाक बन्दै गएको छ । राष्ट्रिय मुक्त हलिया समाज महासंघले हलियाको अधिकारभन्दा पनि राजनीति गरिरहेको हलियाको आरोप छ ।
Source : नयाँ पत्रिका

No comments:

Post a Comment