'राम्री छ्यौ, दलितजस्तो देखिन्नौ त!' - सविता विश्वकर्मा


रेडियो नेपालका ति कार्यक्रम प्रस्तोताले सहकर्मीलाई सोधे, ‘तिमीसँग हिजो क्यान्टीनमा चिया खाने केटी को हो?’
 
‘किन चाहियो फेरि?’ 
 
‘राम्री लाग्यो के, त्यै भएर।’ 
 
‘चिनेको बैनी हो, रेडियोमै काम गर्छिन्, सविता विश्वकर्मा।’
 
अनि तर्सिएर उनले भने, ‘ओ माइ गड, त्यो केटी कमीनी पो हो?’
 
रेडियो नेपाल पहिलो पटक छिरेको भोलिपल्ट रेडियोकै कर्मचारीले त्यसो भनेको एकहप्ता पछि थाहा पाएँ। 
 
संविधान निर्माणका विषयमा आधा घन्टाको रेडियो कुराकानी सकेर रेकर्डर अफ भएपछि  राष्ट्रपतिका कानुनी सल्लाहकार सूर्य ढुङ्गेलले सोधे ‘नानीको नाम के भन्यौ रे?’
 
‘सविता विश्वकर्मा।’
 
‘ओ हो, विश्वकर्मा पो है तर, त्यस्तो लाग्दै नलाग्ने।’
 
उनले थपे ‘मैले त अरु नै जात भनेर अनुमान ला’को, एनी वे नलेज पनि राम्रौ रैछ, प्रश्न सोध्न पनि तगडा जानेको, ल राम्रो गर।’
 
सभासद गणेशमान गुरुङसँग आमने–सामने भएर अन्तरवार्ता लिन बसेँ, रेकर्डर अन हुँदैथियो उनले सोधे ‘पैले तिम्रो नाउ बताऊ त नानी।’
 
‘म सविता विश्वकर्मा।’
 
उनी त एक्कासी जिल खाएजस्तो गरे अनि भने, ‘आम्मै विश्वकर्मा नै हो र?’
 
भेट्ने अधिकांस व्यक्ति दलित भन्ने थाहा पाएपछि वा थाहा भइसकेपछि बेस्सरी चासो राख्छन्, केहीबेर सोधपुछ चल्छ अनि बल्ल अरु कुरामा मोडिन्छौँ। 
 
धेरै पटकको अन्र्तवार्ता वा रिपोर्टिङका लागि आवाज रेकर्ड भएपछिको अनौपचारिक गफमा ‘म विश्वकर्मा नै हँु, दलितै हँु, कस्तो नपत्ताउनु भा’को’ भनेर खर्चिएको छु । तर, ति कुराकानी उत्साहित पार्नेभन्दा निरास पार्ने धेरै थिए र छन्। 
 
किनभने त्यस्ता अनौपचारिक र व्यक्तिगत गफको निचोड प्रायः उस्तै हुने गथ्र्यो, ‘विश्वकर्माजस्तो लाग्दै नलाग्ने..., दलितै हैन... जस्तो।’
 
रेडियो रिपोर्टिङका क्रममा  विषय विज्ञ, राजनीतिक दल तथा नागरिकसँग कुरा भइरहन्छन्। परिचयका क्रममा नै कतिको प्रतिक्रियाले चित्त दुखाउँथ्यो। अझ कतिले त भेटपछि ‘भनिहाल्थे माइण्ड नगर्नु है, तपाइँ त दलितजस्तो देखिदँै देखिनहुन्न।’ 
 
‘दलित भनेको अलि अर्कौ हुन्छन् के सविता जी!’ 
 
‘अलि अर्कै’ भनेको कस्तो हो? यही कुरा नबुझेर हैरान छु म। मेरो थर, अनुहार र कामको प्रकृतिले बेला बेला नमज्जासँग विरक्ताइदिन्छ। 
 
रेडियो अन्र्तवार्ता लिइसकेपछि वा रिपोर्टिङ सकेपछि प्रायले भने तपाइँले ‘यसरी अन्र्तवार्ता लिनुहन्छजस्तो सोचेकै थिइँन, खास महिलाहरु धेरै अन्र्तवार्ता लिनै आउँदैनन्, तपाई त झन् दलित यसरी प्रश्न गर्नुहन्छ भनेर पत्याएकै थिइनँ... आदि–इत्यादि। 
 
उनीहरु त यस्तो अनुमान पनि लगाउँथे, ‘त्यसो भए बाआमाले अन्र्तजातीय विहे गरेका होलान नि त?’
 
मैले फेरि ‘दोहो¥याउनुपथ्र्याे, आफ्नै जात हो।’ 
 
‘सहरमा हर्किनुभो होला उसोभए?’
 
मैले फेरि ‘हैन भन्दै’ मकवानपुरको आफू हुर्किएको सानो गाउँ, ‘हटिया’को नाम भनेको छु। 
 
अनि फेरि प्रश्न आउँथ्यो ‘मिडियामा दलित समुदायका त एकदमै कम छन् नि! तपाइँलाई कति गाह्रो छ, होला है? इत्यादि । 
 
नाम भनुञ्जेल सामान्य अवस्थाको अनुहार ‘विश्वकर्मा’ भनेपछि कोही त यसरी चकित हुन्छन् कि, त्यसको अन्ुमानै गर्न सकिन्न। 
 
कोही त यसरी तर्सन्छन् कि, मानौँ मैले नामका पछाडि ‘विश्वकर्मा’ राखेर अपराध गरिरहेकी छु। 
 
२०४३ सालको कुरा हो, धपक्क बलेझैँ अनुहार भएकी बेहुली  भित्राउँदा, विहे घर हेर्न आउने छरछिमेकको घुइँचो थियो हाम्रो गाउँमा । 
 
तिनैमध्ये एक छिमेकी महिलाले भिड अलि काम भएको बेलामा नयाँ बेहुलीलाई कुनामा लगेर भन्न भ्याइहालिन् ‘हेर, नानी जात भनेको जात हो, तिम्रो अहिलेसम्म पनि क्यै बिग्¥याछैन, कसैले नचिन्या ठाउँ गए जति नि बाहुन पाइन्छ किन बुद्धि बिगारेर सानो जातसँग आ’को? तिमी हुन्छ मात्रै भन बाहुनसँग अन्तै भगाई दिन्छु।’ 
 
बेहुलीले हाँस्दै भनिन् ‘बाआमाले बिहा गरेर दिँदा पनि अर्को जातलाई देलान् त आमा?’
 
यत्ति सुनेपछि उनको मुख अँधयारो भयो, अनि बेचैन हँुदै भनिन् ‘म त तिम्रो नाकैले बाहुन भनेको, यस्ती गोरी, सलक्की छौ, बाहुनीलाई फसाएर ल्यायो कि पो भनेको त।’ 
ती नयाँ बेहुली, मेरी आमा हुनुहुन्थ्यो।
 
हामी आमाछोरी गफिँदा आमाले भनेको याद आउँछ, ‘हामी त राम्रो नि हुन नपाउने, हैन होला, ढाँटेको हो? भनेर सोधीखोजी धेरै गर्छन्।’ 
 
त्यही कुरा आमाले गाउँमा झेल्नुभयो, म राजधानीमा झेल्दैछु।  
 
रेडियोमा आवाज मात्रै सुन्नेले भेटेपछि भन्छन् ‘तपाइँको नाम रेडियोबाट सुन्दा आवाज मात्रै राम्रो होला भनेको त हैन रै’छ।’ 
 
‘लौ किन नि?’ भनेपछि फेरि उही जवाफ आउँछ ‘हैन खास तपाइँहरुको समदायमा  राम्रा केटीहरु कम देखेको छु।’ 
 
‘अनि म काँ राम्री छु त?’ 
 
‘राम्री लागेर त भनेको, माइन्ड नगर्नु है।’ 
 
यस्ता उदाहरण दिएर, म र मेरी आमा राम्रा छाँै भन्न खोजेको कदापि होइन, राम्रो, नराम्रो, सुन्दर, कुरुप कसलाई भन्ने? 
 
त्यो छुट्टै बहसको विषय हुनसक्ला। तर, दलित समुदायको भएकै कारण घरि घरि थर, रुप र क्षमतामाथि किन प्रश्न उठाइन्छ?
मुख्य प्रश्न यही हो।
 
आमाले चेतना नभएकाहरूबाट त्यस्तो भोग्नु भो, हजुरआमाको कथा पनि त्यो भन्दा फरक थिएन, म राजधानीमा ‘शिक्षित’हरू माझ त्यो भोग्दै छु।
 
म पछिका नानी बाबुका अनुभवमा पनि खासै भिन्नता छैन, सन्दर्भ र पात्र मात्रै फरक छन् तर, भोगाइ एकै हुन्। 
 
(लेखक सामुदायिक सूचना नेटवर्क(सिआइन)मा कार्यरत छिन्।)
source:-http://setopati.com/blog/22404/

No comments:

Post a Comment