जुत्ता सिलाउनेलाई २ दिने चेतावनी

 हेटौंडा
करिब अढाइ दशकअघि हालको जस्तो व्यवस्थित बनिनसकेको हेटौंडा मुख्य बजार क्षेत्रमा प्लास्टिक ओच्छ्याएर त्यसमाथि केही सामान राखी जुत्ता मर्मतको काम गर्दै आएकाहरूलाई नगरपालिकाका प्रहरीले खेदेको खेदै छ। त्यही बेलादेखि आफ्नो पेसा सञ्चालनका लागि स्वस्थ्य र उपयोगी स्थानको खोजीमा रहेका उनीहरूलाई पछिल्लोपटक नगरप्रहरीले शुक्रबार हाल बसिरहेको स्थान छाड्न अन्तिमपटकका लागि भन्दै २ दिने चेतावनी दियो।
मुख्य बजार क्षेत्र भौतिकरूपमा व्यवस्थित बन्न थालेपछि त्यहाँबाट खेदिएका उनीहरूले करिब ३ वर्षअघि हेटौंडा–१ स्थित भिन्तुना पथमा रहेको सिस्नुघारी र मानव मलमूत्र पन्छाई कच्ची बाटोको छेउमा कुचुक्क परेर आफ्नो पेसा सञ्चालन गरे। शहरीकरण बढ्दै गएपछि सोही पथहुँदै सवारी आवतजावत गर्न पिच बन्यो, मकवानपुर सहकारी अस्पताल र हेटौंडा अर्थोपेडिक अस्पताल खुले। त्यसपछि ती दुई अस्पतालमा ‘एम्बुलेन्स लैजान अप्ठ्यारो परेको भन्दै उनीहरूलाई नगरप्रहरीले त्यहाँबाट हट्न उर्दी जारी गर्यो।
‘हामी आफैंले घारी फाँडेर र दिसापिसाब सोहोरेर सफा गरी अरूलाई असर नपर्ने गरी जुत्ता मर्मत गर्न थाल्यौं’ –दुई दशकदेखि उक्त पेसा अँगाल्दै आएका हर्नामाडीका ४० वर्षीय बद्री बिसंखेले नगरप्रहरीको यस्तो गतिविधिले आफूहरूको रोजीरोटीमा नै असर पर्ने गुनासो गरे। मुख्य बुद्धचोकमा बस्न नदिएर खेदिएका मध्ये ११ जना राप्तीरोडबाट भिन्तुनापथ प्रवेश मार्गमा बसेर पेसा सञ्चालन गर्दै आएका छन्।
२१ वर्षअघि ६ जनाको परिवारसहित जुत्ता मर्मत पेसा अँगाल्न सप्तरीबाट हेटौंडा आइपुगेका लक्ष्मण रामले निकै पछाडि खुलेको अस्पतालका लागि आफूहरूलाई विस्थापित गर्ने हो भने उचित स्थान उपलब्ध गराउनुपर्ने माग गरे। बुद्धचोकको सीमित स्थान आफूहरूलाई उपलब्ध गराए त्यहीं सरेर पेसा सञ्चालन गर्ने उनीहरूले बताएका छन्।
बाटो कब्जा गर्ने हाम्रो उद्देश्य होइन, अर्का पेसाकर्मी हेटौंडा–११, गोल्फिनटारका प्रेमबहादुर मिजारले आफूहरूलाई टोल विकास संस्थाले पेसा गरेर खान रोकतोक नगरे पनि पछिल्लो समय आएका अस्पतालहरूको दबाबमा नगरपालिकाले हटाउन खोजेकोमा दुखेसो पोखे। ‘आफ्नो पार्किङ क्षेत्रसमेत नराखेर अस्पताल सञ्चालन गर्नेहरूले हामी जस्तो साना पेसाकर्मीलाई खेद्न खोज्नु कत्तिको सान्दर्भिक छ?’ –आक्रोशित अर्का पेसाकर्मी कृष्ण थापामगरले प्रश्न गरे। उनीहरूले विकल्पबिना आफूहरूलाई हटाउन खोजे विद्रोह गर्ने चेतावनी दिए।
जरुवा युथ क्लब हेटौंडा–१ का अध्यक्ष अनिल काफ्लेले उनीहरूको समस्याको विषयमा नगरपालिका गम्भीर हुनुपर्ने बताए। उनीहरूको उचित व्यवस्थापन नगरिए परिवारको अर्थोपार्जन र सामाजिक सुरक्षामा खल पुग्ने भन्दै उनले हाल उनीहरू बस्दै आएको क्षेत्रभन्दा करिब १ सय मिटर पूर्व बुद्धचोकमा उचित व्यवस्थापन गर्न सकिने सुझाव दिए।

No comments:

Post a Comment