बेरोजगार युवाका निम्ति उदाहरणीय बने सुशील महरा


सुनसरी, १३ माघ – २४ वर्षअघि १३ सय रुपैयाँको लुगा सिउने मेसिन बोकेर मोरङको दर्वेसाबाट सुनसरीको इटहरी पसेका ४३ वर्षीय सुशील महरा यतिवेला करोडका मालिक भएका छन् । सीप सदुपयोग गरे पैसा कमाउन विदेश जानुुनपर्ने मान्यता राख्ने महरा इटहरीका लागि मात्र नभई मुलुकभरका बेरोजगार युवाका निम्ति उदाहरणीय बनेका छन् ।
इटहरी उपमहानगरपालिकाको मुख्य चोकबाट दक्षिणतर्फ इटहरी–विराटनगर राजमार्गको पूर्वमा रहेको आकर्षण वस्त्रालयअगाडि एउटा लुगा सिउने मेसिन लिएर बसेका महरालाई काम थालेदेखि एक दिन पनि खाली बस्नुपरेको छैन । उनी १७ वर्षको उमेरमै विवाहबन्धनमा बाँधिई ०४७ मा १३ सयमा किनेको लुगा सिउने मेसिन बोकेर इटहरी झरेका थिए ।
गाउँमै ऋण खोजेर महराले छिमेकी गाउँ बिसनपुरबाट सेकेन्डह्यान्ड मेसिन खरिद गरेका थिए । उनी इटहरी आउँदा कपडा पसल कमै मात्र खुलेका थिए । रेडिमेड कपडा पसल भर्खरै खुल्न थालेका थिए । जिन्सका रेडिमेड कपडा बेच्ने पसल धमाधम खुल्न थालेका थिए । इटहरी गएर केही फरक काम गर्ने सोच बनाएरै मेसिन काँधमा बोकेर आएको उनी स्मरण गर्छन् । गाउँबाटै व्यापार गर्न इटहरी आएका शुभकामना र भट्टराई स्टोरका सञ्चालकको सुझाबमा सुरुबाटै जिन्स पेन्ट फिटिङ, फुल फिटिङ, उध्रिएका कपडा सिलाउनेलगायत काम थालेको उनी बताउँछन् ।
जुन स्थानमा उनी पहिले मेसिन राखेर काम गर्थे अहिले पनि त्यहीँ (सडकपेटी) बसेरै व्यवसायलाई निरन्तरता दिइरहेका छन् । महराले ०५२ देखि व्यावसायिक रूपमै जिन्स र कटन पेन्ट तथा सर्टको फिटिङ थालेका थिए । सुरुमा एउटा पेन्ट फुल फिटिङ गरेको ज्यालाबापत ३० रुपैयाँ लिनेको गरेको उनी सम्झिन्छन् । त्यतिवेला लिने ३० रुपैयाँ ज्याला अहिले बढेर ७० पुगेको छ । बजारमा चलेको फेसनअनुसार जिन्स पेन्ट चुज बनाउन र फुल फिटिङ गर्न सबैभन्दा बढी युवती आउने गरेको महरा बताउँछन् । तर, अहिले महराको प्रगतिबाट प्रभावित भएर ३५ भन्दा बढी युवा इटहरी बजार क्षेत्रका कपडा पसलअगाडि सडकपेटीमा बसेर सिलाइ व्यवसाय गर्दै आएका छन् । उनीहरूले पनि व्यवसायबाट राम्रोसँग घरपरिवार पालेका छन् ।
महरा भन्छन्, ‘कपडा फिटिङ गर्नेबाट पहिला ३० रुपैयाँ पाउन पनि मुस्किल हुने गथ्र्याे । लुगा सिलाउने न हो, जति भन्छ त्यति कहाँ दिने भन्ने गर्थे मानिस । कतिसँग ज्याला लिन झगडा नै गर्नुपर्ने अवस्था थियो । तर, अहिले त्यस्तो छैन ।’ उनको फिटिङ टेलर्सले पूर्वको उर्लाबारीदेखि पश्चिमको राजविराजसम्म प्रसिद्धि कमाइसकेको छ । विराटनगर र धरानबाट पनि ग्राहक आउने गरेको महरा बताउँछन् । उनले सिलाइ पेसाबाटै अहिलेसम्म १ करोडभन्दा बढीको सम्पत्ति जोडिसकेका छन् । जेठी छोरीलाई नर्स पढाइरहेका छन् । छोरा पनि १२ पढ्दै छन् । जिन्स तथा कटन पेन्ट फिटिङ गरेबापत मासिक ४५ हजार हाराहारी आम्दानी हुने गरेको उनले जानकारी दिए ।
महराले सिलाइ व्यवसायबाटै इटहरीमा दुईवटा घडेरी जोडिसकेका छन् । इटहरीको सात धुर जग्गामा आफ्नै कमाइबाट अढाईतले पक्की घर निर्माण गरेका छन् । उनले बनाएको घरको मूल्य हाल करिब ४५ लाख रुपैयाँ पर्छ । इटहरीमै इटहरी–धरान राजमार्गले छोएको स्थानमा थप ६ धुर जग्गा किनी उनले अर्को घर बनाउन थालेका छन् । जग्गा मूल्य हालको चलनचल्तीअनुसार ४२ लाख पर्छ । ६ धुर जग्गामा घर निर्माण गर्न ३५ लाख जम्मा गरिसकेको बताउँदै महरा भन्छन्, ‘नयाँ घर बनाएर भाडामा लगाउने योजना छ ।’ त्यति मात्रै नभई महराले दर्बेसामै धान खेती गर्न एक बिघा दुई कट्ठा जग्गा खरिद गरेका छन् ।
१३ सय रुपैयाँको मेसिनले करोडपति भएकोमा महरा गर्व गर्छन् । उनी भन्छन्, ‘स्वेदशमा धैर्यपूवर्क पेसा–व्यवसायलाई निरन्तरता दिन सके विदेशमा कमाउन जानैपर्दैन । अहिलेको युवा पुस्ता एकैपटक धेरै आम्दानी लिने आशमा विदेश भौँतारिन्छ, जुन गलत हो ।’ करोडपति बनाउने मेसिन र कामप्रति गर्व गर्ने महरा सकुन्जेल सिलाइ पेसालाई निरन्तरता दिने बताउँछन् । कुनै पनि पेसाबाट रकम आर्जन गरेर मात्र नहुने र त्यसलाई सदुपयोग गर्न बचत आवश्यक रहेकोमा उनी जोड दिन्छन् ।
सीप, जाँगर र इच्छाशक्ति हुनेका लागि नेपालमा प्रशस्त अवसर रहेको दाबी महराको छ । काम गर्नेलाई कहिल्यै पैसा अभाव नहुने बताउँछन् महरा । नयाँ घर बनाएर १३ सयमा खरिद गरेको मेसिनलाई घरको माथिल्लो तलामा संग्रह गरी राख्ने योजना उनले सुनाए । २४ वर्षसम्म खासै नबिग्रिएको सिलाइ मेसिनबाटै अहिले पनि आम्दानी लिँदै आएको महराले बताए । उनी भन्छन्, ‘मेरो जिन्दगीलाई कायापलट गराउने मेसिन नै यही हो, सोही कारण बिहान–साँझ मेसिनलाई पुज्ने गर्छु ।’

No comments:

Post a Comment