बुद्धको जन्मस्थल लुम्बिनीमै जातीय भेदभाव गरिएको गुनासो

१५ माघ, भैरहवा । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमै जातीय भेदभाव गरिएको एकजना दलित समुदायका भिक्षुले गुनासो गरेका छन् ।
तत्कालीन राजा महेन्द्र शाहका पालामा निर्माण गरिएको मायादेवी मन्दिरको आडैमा रहेको लुम्बिनीकै पहिलो पुरानो राजकीय बौद्ध बिहारबाट अहिले एकजना भिक्षुलाई दलित भन्दै बिहारबाट निकालिएको भिक्षु मिलिन्द (भीमबहादुर सार्की) ले गुनासो गरे ।
करिब साढे दुई वर्षदेखि बिहारमा पूजाआजा गर्दै आइरहे पनि राजकीय बौद्ध बिहारमा गठित लुम्बिनी धर्मोदय उपसिमितिले आफू दलित जातको हो भन्ने थाहा पाएपछि बिहारबाट निकालेको भिक्षु मिलिन्दले बताए ।
लुम्बिनीमा भिक्षुहरुको वास्तविक नाम र जात धेरैलाई थाहा हुँदैन । उनीहरु नयाँ नामबाट परिचित हुन्छन् । आफू दलित समुदायको रहेको भन्ने उपसमितिले थाहा पाएपछि उपसमितिका म्यानेजर बाबु साहेब भन्ने लखन सिंहले जातीय सूचक शब्दको प्रहार गर्दै बौद्ध बिहारबाट बाहिर जान भनेको भिक्षु मिलिन्दले गुनासो पोखे ।
साढे दुई वर्षअघि बिहारमा बस्न आउँदा भिक्षु मिलिन्दलाई उपसमितिले फूलमालाले स्वागत गरेको थियो । भिक्षु मिलिन्दले  भने-‘तर, अहिले आएर उपसमितिले आफू दलित जातको थाहा पाएपछि बिहारबाट निकाल्ने बहानाका लागि अखिल नेपाल भिक्षु महासंघबाट स्वीकृति लिएर आए मात्रै बिहारमा बस्न पाउने भन्दै बिहारबाट निकाला गर्‍यो ।
‘म दलित जाति को हुँ , त्यही भएर मलाई जातीयताकै आधारमा यहाँबाट अहिले निकालिएको छ, भिक्षु मिलिन्दले अनलाइनखबरसँग भने ‘उपसमितिका अध्यक्षले आफू निकट गुनघोष शाक्यलाई बिहारमा राख्न खोजेका कारण मलाई निकालिएको हो ।’
उपसमितिको खण्डनयता लुम्बिनी धर्मोदय उपसिमितिका अध्यक्ष चकोरमान शाक्यले भिक्षु मिलिन्दलाई जातीयताका आधारमा ननिकालिएको बताएका छन् । उनले भिक्षु मिलिन्दलाई बौद्ध बिहारमा ६ महिनाका लागि बाहिर पठाइए पनि उनी हालसम्म बिहारमै बसेका कारण भिक्षु महासंघले आफै काठमाण्डौँ बोलाएको बताए ।
भिक्षुहरुलाई विभिन्न बिहार खटाउने र तान्ने जिम्मेवारी भिक्षु महासंघको भएको र त्यसमा बिहार प्रशासनको कुनै भूमिका नरहने अध्यक्ष शाक्ले दाबी गरे ।तर, यो घटनापछि उपसमितिका म्यानेजर सिंहलाई कार्यवाहीस्वरुप उपसमितिबाट निस्काशन गरिएको छ ।

…. यसरी भएको थियो भिक्षुलाई विभेद

(विनोद परियार)

भगवान गौतमबुद्धले कहिल्यै पनि जातलाई प्राथमिकता दिनुभएन । त्यसैले त बुद्ध धर्मका अनुयायीहरुले थर लेख्दैनन् । विश्वभर कै बुद्धका अनुयायीहरुले पदावधि र नाम मात्रै लेख्छन् बोल्छन् । तर, बुद्ध धर्म र दर्शन विपरित बुद्ध जन्मस्थल लुम्बिनीमा भने एक जना भन्ते(पुजारी)ले जातीय अपमान भोग्नुपरेको छ ।
करिव साँढे २ वर्षअघि राजकिय बौद्ध विहारमा मुख्य भन्तेको रुपमा आएका भिक्षु मिलिन्द हिन्दु धर्ममा जस्तै तल्लो जात भन्दै अपमान सहन बाध्य भएका हुन् । ‘म आज भन्दा ३० वर्षअघि मेरा गुरु भिक्षु अश्वोघोषकै प्रेरेणाबाट भिक्षु भएको थिएँ, तर आज तल्लो जात भन्दै बुद्धकै जन्मस्थलमा अपमानित भएको छु’ भिक्षु मालिन्दले गुनासो गर्नुभयो ।
साँढे २ वर्ष अगाडि भिक्षु मालिन्द लुम्बिनी स्थित लुम्बिनी धर्मोदयमा आउँदा सवैले जयजयकार गर्थे । पुजाआजा पनि राम्रैसँग चलेको थियो । तर, धर्मोदयका म्यानेजर बाबु साहेब भन्ने लखनसिंहले भिक्षु मालिन्द ‘भिम बहादुर सार्की’ भन्ने थाहा पाए, त्यसपछि भने मालिन्दले विस्तारै विभेदको पिडा सहनुप¥यो । vantee
म्यानेजर सिंहले करिव ६ महिना अगाडि भिक्षु मिलिन्दलाई जातीय सूचक ‘चमारलाई हामीले पुज्नुप¥यो, तँ निस्किहाल’ भन्दै गाली गलौज सहित आक्रमण नै गरेका थिए । प्रत्यक्षदर्शी धर्मोदयका एक जना पूराना कर्मचारी झलक बहादुर ओलीले भन्नुभयो –‘चमार तँ यहाँबाट निस्कि’ भनेर भनेको मैलै पनि सुनेको हुँ ।’ झलकलाई चमार भनेको के हो थाहा नभएको बताउनुभयो । तर पटक–पटक भिक्षु र म्यानेजर लखनसिंह विच भने भना भन हुने गरेको उहाँले सुनाउनुभयो ।
६ महिना अघि तल्लो जात भन्दै आक्रमणको प्रयास भएपछि धर्मोदय उपसमितिले घटनालाई बाहिर ल्याउन रोकेको थियो । त्यतिखेर समितिले लखन सिंहलाई कारवाही गर्ने र अबदेखि जातीय सूचक लगाएर गाली गलौज नगर्ने सहमती गरिएको थियो । तर, बाबु साहेब लखन सिंहलाई कुनै कारवाही भएन ।
त्यतिखेर आफुले गुरु र बुद्धको अनुयायी भएकाले विवाद नगरेको भिक्षु मिलिन्दको भनाई छ । तर,आफुलाई त्यहिका स्थानीयहरुलाई उक्साएर पटक–पटक तल्लो जात भन्दै गाली गलौज गर्ने गरेपछि आफुसँग झगडा समेत परेको थियो । त्यसपछि स्थानीयसँग झैझगडा गरेको, समिति गठन गरेको भन्दै भिक्षु मालिन्दलाई समितिले पुस १४ गते माफी मगाई राजकिय बौद्ध विहार छाड्ने लिखित पत्रमा हस्ताक्षर गराएको छ । मिलिन्दले त्यहाँका भिक्षुहरुलाई समेटेर लुम्बिनी मायादेवी भिक्षु संघ नामक संस्था गठन गर्नुभएको थियो । सोही कारण पनि मिलिन्दलाई बुद्ध धर्मको भावना विपरित संगठन खोलेको समितिको भनाइ छ । चितवन भरतपुरका भिक्षु मिलिन्द ३० वर्षअघि दिल्लीमा अध्ययन गर्दै गर्दा बौद्ध धर्मको अनुयायी हुँदै भिक्षु बन्नभएको थियो ।
नेपालमा संघ संस्था खोल्न पाउने प्रत्येक नेपालीको अधिकार रहेपनि तल्लो जातको भिक्षु भएकै कारण त्यहाँबाट निकाल्न विभिन्न आरोप लगाईएका उनका भक्त उपासक भिक्षु शिलभद्रले बताउनुभयो । जवरजस्ती लेखाईएका भनिएकोे पत्रमा संघ नायक ‘अश्वघोष’को आज्ञानुसार अस्थायी रुपमा बसेको र हाल उहाँकै आज्ञाले उक्त बिहार छोडेको उल्लेख छ ।
भिक्षु मालिन्दले आफु तल्लो जात भएकै कारण समितिले कुटनिति चालेर हटाएको आरोप लगाएका छन् । अहिले मालिन्द मायादेवी मन्दिर अगाडि रहेको राजकीय बौद्ध विहार स्थित पिपलको रुखमुनी अनसनमा बसेका छन् ।
आफुलाई जातीय सूचक लगाएर गाली गलौज र आक्रमण गर्ने लखनसिंहलाई सहमती अनुसार कारवाही नभएको र बुद्धको दर्शन र भावना विपरित जातीय विभेद गरि बुद्ध धर्ममै असर पर्ने काम भएकाले यसलाई रोक्न माग गर्दै आमरण अनशनमा बसेका छन् ।
समितिले अहिले पनि अखिल नेपाल भिक्षु महासंघले स्विकृती दिएमा भिक्षु मालिन्दलाई बस्न दिने बताएको छ । तर महासंघले पनि दलित भएकै कारण स्विकृति नदिदा चित्त दुखेको गुनासो गर्नुभयो ।
लुम्बिनी धर्मोदय समितिका सहसचिव सुवर्णमान शाक्यले कर्मचारी लखन सिंहले जातीय रुपमा अपमान गरेको साँचो भएको स्विकार गर्दै मिलिन्दलाई जातीयताकै कारण नहटाएको स्पष्ट पार्नुभयो । ‘जसले भिक्षु बनाएको हो, उहाँले नै त्यहाँ नबस्नु भनेर बोलाएको छ, तर भिक्षु मिलिन्दले त्यसलाई अस्विकार गर्दा समस्या आएको हो’ सहसचिव शाक्यले भन्नुभयो ।
६ महिनाको लागी मात्र पठाईएकोमा भिक्षु साढे २ बर्ष देखि जवरजस्ती बसिरहेको शाक्यको भनाई छ भिक्षुहरुलाई बिभिन्न बिहारमा खटाउने र तान्ने काम भिक्षु महासंघको भएको र त्यसमा बिहार प्रशासनको कुनै भुमिका नरहने लुम्बिनी धर्मोदय समितिले जनाएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङ्गले यो घटनाले लुम्बिनी र बुद्ध धर्ममा असर पारेको बताउँदै यो घटनालाई साम्य पार्नुपर्ने बताउनुभयो । उहाँले बुद्ध धर्ममा छुवाछुत भन्ने हुँदै नहुने बताउँदै भिक्षु मिलिन्लाई पनि कुनै विभेद नभएको दावी गर्नुभयो । यता दलित अधिकारकर्मी पदम बहादुर विकले बुद्ध धर्ममा विभेद भएको घटनाले आफुहरु स्तम्भ भएको बताउनुभयो ।
उनले जातीयताको आधारमा विभेद भयो भनेर घटना आउनु अत्यन्त दुःखद भएको भन्दै दोषीलाई कारवाही गरि बुद्धको जन्मथलोलाई विभेदको थलो नबनाउन आग्रह गर्नुभयो ।
अर्का अधिकारकर्मी किस्मत विश्वकर्माले भिक्षु मिलिन्दले पहिलै पनि आफुमाथि छुवाछुत हुने गरेको आफुहरुसँग गुनासो गर्ने गरेको बताउँदै अति नै भएर घटना सार्वजनिक गरेको बताउनुभयो । ‘अब यो घटना बढाउनुभन्दा धर्मोदय समिति र प्रशासनले समेत निकासन निकाल्नेतर्फ ध्यान दिनुपर्छ’ उहाँले भन्नुभयो ।

No comments:

Post a Comment