यामबहादुर परियार र उनका बहिनीहरु बनिबुतो गर्दै पढ्दै पढाउँदै

आशिष विश्वकर्मा
विराटनगर, पुस १८ : बाल्यकालमै अभिभावकविहीन भएपछि मोरङ बवियाविर्ता–१ का एक दलित बालबालिकाको अध्ययनमा समस्या भएको छ । बवियाविर्ताका १९ वर्षीय यामबहादुर परियार र तीन बहिनीलाई यतिबेला अध्ययन खर्चमात्रै होइन बिहान–बेलुका कसरी हातमुख जोड्ने भन्ने चिन्ताले पिरोलेको छ । उनीहरुका बाबु बाल्यकालमै बेपत्ता भएपछि आमा दोस्रो विहे गरेर हिंडिन्  । उनीहरुको सुरक्षित घर पनि छैन । आफ्नो नाममा एकटुक्रा जमिन पनि नभएको यामबहादुरले बताए । पढाइ खर्च र दुई छाक खान हप्तामा तीन दिन मजदुरी गर्छन् उनीहरु । गाउँमै बालीघरे सिलाई पेशा गर्दै आएका उनीहरुका बाबु रत्न परियार ८ वर्ष पहिला अचानक बेपत्ता भएका हुन् । किन बेपत्ता भए उनीहरुलाई केही थाहा छैन । बाबु बेपत्ता भएलगत्तै धन कमाउन भनेर विदेश पुगेर फर्केकी आमा बच्चु पयिार अर्कैसँग विवाह गरेर गइन् । गाउँदेखि पर एकान्त बाटो किनारामा बाँस र परालले बनेको छाप्रोमा बस्छन् उनीहरु । हेर्दा लाग्छ सामान्य हावाहुरीले थेग्न मुस्किल । छाप्रोको अवस्था यति नाजुक छ कि त्यो भन्दा बढी यहाँ बस्ने ४ दाजुबहिनीको अवस्था दर्दनाक छ । बाबु आमाले बाल्यकालमै छोडेर गएपछि तीन वर्षअघि गाउँलेहरुले बनाई दिएको परालको छाप्रोमा यामबहादुर र उनका बहिनीहरु १६
वर्षीया खेमकुमारी, १४ वर्षीया मनिषा र १२ वर्षीया अञ्जली परियार छन् ।  बाल्यकालमै बाबुआमाले छोडेर गएका उनीहरु अहिले गाउँमा बनिबुतो गरेर जीवनलाई अगाडि बढाइरहेका छन् । छाप्रोमा खानका लागि सकिन लागेको चामलको बोरा र चुलोमा २–४ वटा भाँडाकुडा मात्र छन् । सुत्नका लागि पर्याप्त ओड्ने ओछ्याउने छैन । घर झनै असुरक्षित छ । दैनिक के खाने भन्ने चिन्ताले सताइरहन्छ । तर उनीहरुले हिम्मत हारेका छैनन् । गाउँमा बनिबुतो गरेर उनीहले आफ्नो पेट मात्र पालेका छैनन् पढाइलाई समेत अगाडि बढाइरहेका छन् । तर उनीहरु सधंंै स्कुल जान भने पाउँदैनन् । उनीहरु हप्तामा तीनदिन मात्र स्कुल जान्छन् । बाँकी दिन उनीहरु  घरगाउँमै खर्च जुटाउन व्यस्त छन् । गाउँमा मजदुरी गरेर भए पनि  यामबहादुर र खेमकुमारी बबियाविर्ता गोइगाडास्थित त्रिभुवन माविमा कक्षा १० मा पढ्दैछन् । त्यस्तै बहिनीहरु मनिषाकुमारी र अञ्जलीकुमारी कक्षा ६ मा पढछन् । “नियमित स्कुल नआए पनि उनीहरुको पढाइ राम्रै छ,” विद्यालयका शिक्षक हरि तिवारीले भन्नुभयो, “मजदुरी गर्नु उनीहरुको बाध्यता छ । नियमित विद्यालय आउने हो भने राम्रै अंक ल्याएर उत्तीर्ण हुने अवस्था छ ।” स्थानीय महिला समाजसेवी हस्तमाया बस्नेतले उनीहरुलाई बाबु आमाले छाडेर हिंडेपछि सकेको सहयोग गर्दै आउनुभएको छ । हस्तमायालाई उनीहरु ठूलो मम्मी भनेर सम्बोधन गर्छन् । यी ४ दाजुबहिनीको मेहनत र हिम्मत देखेर बस्नेतसमेत निकै खुसी हुनुहुन्छ । “घरमा बसेको बेला पढ्नमा मात्रै ध्यान दिन्छन्,” हस्तमायाले भन्नुभयो, “त्यतिकै व्यर्थमा समयसमेत खेर फ्याल्दैनन् ।”

यामबहादुरलाई सहयोगको ओइरो

------------------------------------------------
मोरङ, पुस २७ : मोरंङ बबियाबिर्ता- १ का यामबहादुर परियार र उनका बहिनीहरुका लागि भनेर दाताहरुले मकालु मिडिया प्रा. लि.को आर्थिक सहायता खातामा पठाएको रकम आज हस्तान्तरण गरिएको छ । मकालु टेलिभिजनको सभाहलमा एक कार्यक्रमको आयोजना गरि दाताहरुले मकालु मिडिया प्रा. लि.को आर्थिक सहायता खातामा पठाएको रकम सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण गरिएको हो । आर्थिक सहायता खातामा यामबहादुर र उनका बहिनीहरुको पढाइका लागि भनेर पठाएको इजरायलबाट सुभाष खरेल (रोमान्टीक ग्रुप) ले ८१ हजार ८ सय ८७, अमेरीकाबाट संतोष खत्रीले २० हजार २९, अष्ट्रेलिया सिड्नीबाट रामकुमार प्रसाइले १० हजार र अमेरीकाबाट कुल थापाले ९ हजार ९ सय ७२ गरि १ लाख २१ हजार ६ सय ८८ रुपयाँ जम्मा भएको थियो ।  उक्त रकम मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लईँटेल र मकालु मिडिया प्रालिका अध्यक्ष दिनेश सुवेदीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।  बाल्यकालमै बाबुआमाले छोडेर वेसाहारा बनेका यामहादुरले दाताहरुले दिइएको सहयोगलाई खेर जान नदिने बताए । उनले सहयोगीहरुलाई धन्यवाद दिदै सहयोगलाई सदुपयोग गरेर आफुसँगै आफ्ना ३ बहिनीहरुलाई समेत राम्रोसँग पढाउने बताए ।  मकालु टेलिभिजनले उनीहरुका विषयमा समाचार प्रसारण गरेसँगै सहयोग गर्ने क्रम जारी छ । इटहरी–४ का एकराज आलेमगरले १० हजार र धरान १ का कृष्णप्रसाद श्रेष्ठले ५ हजार रुपया यस अघि नै प्रदान गर्नुभएको छ । यस्तै काठमाडांैबाट संघीय समाजले २५ हजार, भगवती श्रेष्ठले १८ हजार, सिटि एक्प्रेसले १३ हजार १ सय ३७, नाम नखुलाइएका व्यक्तिले ६ हजार ६ सय ६५, आइएमइले ४ हजार, मनोज श्रेष्ठले १० हजार, रमेश नाम गरेका व्यक्तिले ५ हजार, सविता महर्जनले ३ हजार र नारायणघाटबाट गीता रानाले १६ हजार एक सय ७० रुपयाँ सहयोग रकम पठाउनु भएको छ । यस्तै अमेरीकाबाट सन्तोष खत्रीले २० हजार २९, कुल थापाले ९ हजार ९ सय ७२, चन्द्र उप्रेतीले १९ हजार ८ सय ८७, तारा सेन्चेउरीले ८ हजार ९ सय ४९, तिलक राईले १३ हजार ८ सय ९२, कुसुम तामाङले २० हजार र यूकेबाट तेज राईले १३ हजार रुपयाँ सहयोग पठाउनु भएको छ । सहयोग रकम पढाइमै खर्च गर्ने र सम्भव भएसम्म सुकुम्बासी अवस्थामा रहेका उनीहरुलाई बसोबासको समेत व्यस्ता गरिदिने उनीहरुको बाल्यकालदेखि नै हेरचाह गर्दै आउनु भएकी समाजसेवी हस्तीमाया बस्नेतले बताउनु भयो । ८ बर्षदेखि बाबु बेपत्ता भएको र आमा समेत दोस्रो विवाह गरेर गएपछि उनीहरु बेसाहारा बनेका हुन । थप सहयोग गर्न चाहाने व्यक्ति वा संघ सस्थाले मकालु मिडिया प्रालिको लुम्बीनी बैक लिमिटेड विराटनगर शाखामा रहेको आर्थिक सहायता खाता नम्बर १११००६४८ रकम जम्मा गर्न सक्नु हुने छ । 

No comments:

Post a Comment