ससुरा र छोरीको हत्या गरी ज्वाइँ फरार

तनहुँ, पुस २० - व्यास ८ काउरेभट्टीका ७० वर्षीया शंकर विक र १६ वर्षीया मनीषाको हत्या भएको छ । शंकरका ज्वाइँ ४० वर्षीय लक्ष्मणले ससुरा र जेठी सासूकी छोरी मनीषाको बन्चरो र हँसिया प्रयोग गरी घरभित्र नै हत्या गरेको प्रहरीले जनाएको छ । मृतकहरूको टाउकोमा चोट छ ।
स्थानीयले शनिबार करिब साढे १ बजे बीभत्स अवस्थामा हत्या भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मध्य रातमा लक्ष्मणले आक्रमण गरेर दुवै जनाको हत्या गरेको हुन सक्ने प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले बताए । लक्ष्मण फरार रहेकाले खोजीकार्य तीव्र पारिएको उनले जानकारी दिए । शंकरको घर नजिकै अरू घरहरू नभएकाले पनि हत्याबारे तत्कालै जानकारी हुन नसकेको प्रहरीले जनाएको छ ।
लक्ष्मण आपराधिक मनोवृत्तिको भएको र यसअघि पनि ससुरा लगायतलाई पटक-पटक मार्ने धम्की दिने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक आचार्यले बताए । मृतक दुवैजनाको शव पोस्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ । घटनास्थल सदरमुकाम दमौलीबाट करिब ८ किलोमिटर पश्चिममा पर्छ ।

No comments:

Post a Comment