हिन्दुवादी गर्जंदा निरपेक्षवादीको भागदौड: दलितको प्रदर्शन राप्रपा नेपालको चेपुवामा

४ माघ, काठमाडौ । नयाँ बन्ने संविधानमा आफ्नो समुदायको हक अधिकार सुनिश्चित गर्न माग गर्दै आइतवार दलितसम्वद्ध झण्डै एक दर्जन संघ संस्थाहरु नयाँ बानेश्वर भेला भए । हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै आएका राजावादी पार्टी राप्रपा नेपालले पनि बानेश्वरमै धर्ना दिने कार्यक्रम राखेकाले दलित संस्थाहरुको भागमा  सडकको दक्षिणतिर थकाली भान्सा घर छेऊको ठाउँ पर्‍यो ।
RPPN RALLY FINAL
सडकको दक्षिणपट्टिको कुनामा ठाउँ पाएका दलित संस्थाहरुले नयाँ बन्ने संविधानमा आफूहरुको हक अधिकार सुनिश्चित गरिनुपर्ने माग गर्दै नारा लगाएर धर्ना दिन बसे ।
धर्म निरपेक्षता, समानुपातिकको अधिकार, संघीयताभित्र दलित तथा उत्पीडित जातिको विशेषाधिकार, जातीय छुवाछुतलाई सामाजिक अपराध मानिनुपर्नेलगायतका माग उनीहरुका थिए ।
तर, संविधानमा उत्पीडित जातिको अधिकार स्थापित गर्न लागिपरेका उनीहरु आन्दोलनकै क्रममा हिन्दुवादीको चेपुवामा परे । आफूहरुको अधिकार नयाँ बानेश्वरबाट संविधानसभालाई सुनाउँदै गर्दा धर्मनिरपेक्षता खारेज गर्नुपर्ने नारा लगाउँदै अध्यक्ष कमल थापाकै नेतृत्वमा ठूलो जमात बबरमहलबाट नयाँ बानेश्वर आइपुग्यो ।
सभा-सम्मेलन गर्न निषेध गरिएको स्थानमा प्रहरीको घेरा तोड्दै थापा नेतृत्वको जुलुस निषेधित क्षेत्र पस्यो । प्रहरीकै घेरा तोडेर जर्बजस्त निषेधित क्षेत्र प्रवेश गरेपछि प्रहरीले लाठी बर्सायो ।
आफ्नै धर्म निरपेक्षताको अधिकार खोस्न उद्दत पार्टीलाई ठाउँ छाडेर सडकको एउटा कुनामा शान्तिपूर्ण धर्नामा बसेका दलित प्रतिनिधिहरु चाँहि तिनै हिन्दुवादी पार्टीका नेता-कार्यकर्ताको हुलहुज्जतका कारण आतंकित भए, त्यसपछि उनीहरुवीच भाडदौड मच्चियो ।
हुलहुज्जत हामीले गरेका छैनौं भन्दै यथास्थानमै बस्न दलित अगुवाहरुले माइकबाट आग्रह गरेपछि त्रासदीकाबीच उनी छिटो-छिटो धर्ना सकेर हिँड्न बाध्य भए ।
मिडियामा पनि कमल थापाको प्रदर्शनको मात्रै चर्चा भयो, दलितको प्रदर्शनबारे कसैले चर्चा गरेन ।
युवाको घेरामा कमल थापा
निकै ठूलो हुलहुज्जतका साथ आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाका अघिपछि डन जस्तै देखिने युवाहरुको जमात देखिन्थ्यो । राष्ट्रिय युवा मोर्चा लेखिएको रातो जर्सी र राप्रवि संघ लेखिएको पहेंलो जर्सीमा देखिएका युवाहरुको फुर्तिफार्ती निकै थियो ।
आफ्ना युवादस्ताका सामु अध्यक्ष थापाले हुँकार दिँदै भने,-‘हामीलाई रोक्न सक्ने तागत कसैसँग छैन, बलिदान दिन हिँडेको जत्थालाई प्रहरीको लाठी र बन्दुकले पनि रोक्न सक्दैन ।’
सडकका बगैंचा निमोठिए
गएको सार्क शिखर सम्मेलनका लागि रोपिएका सडकका बगैंचाहरु महानगरपालिकाको समन्वयमा सुरक्षा निकायले सुरक्षित राखेका बगैंचाहरु आइतबार निमोठिए ।
जर्बजस्ती सुरक्षा घेरा तोड्ने समूहलाई सडकको बगैंचामा जानबाट प्रहरीले रोक्न सकेन । अहिलेसम्म बचाइराखेको बगैंचा कुल्चिनु हुँदैन भन्ने विवेक पार्टीका कार्यकर्ताहरुले मात्र होइन, नेतृत्वकर्ताहरुले समेत प्रयोग गरेनन् । बगैंचामा काम गर्दै गरेकी एक महिलाले भनिन्,- ‘कस्तो विवेक नभएकाहरु, आजै लगाएका विरुवाहरु समेत कुल्चिएर हिँडे ।’

No comments:

Post a Comment