२३ गन्धर्व परिवारका लागि पक्की घर बन्दै

अर्घाखाँचीको अर्घामा निर्माण हुँदै गरेका घर । तस्बिर : वीरेन्द्र/कान्तिपुर

अर्घाखाँची, माघ १२ - 
अर्घामा रहेका २३ गन्धर्व परिवारका लागि यति बेला धमाधम पक्की घर बन्दै छन् । गरिबी निवारण कोष र जनता आवास कार्यक्रमअन्तर्गत एउटै मोडलमा घर निर्माण भएपछि उक्त समुदायमा खुसी छाएको छ । सरकारको होमस्टे सञ्चालन कार्यक्रमअन्तर्गत गरिबी निवारण कोषको ४० लाख र भवन निर्माण विभाग जनता आवास कार्यक्रमबाट निर्माण थालिएको हो । ती घर फागुनसम्म पूरा गरी हस्तान्तरण गरिने जनाइएको छ ।

वर्षा हुँदा घर र ओडारमा बस्नु एउटै हुन्थ्यो । पानी नछेकिने भएकाले अन्नपात र ओछ्यान चुर्लुम्मै भिजाउँथ्यो । 'सारंगी रेटेर जुटाएको दुईचार पाथी अन्न पनि भिज्थ्यो,' स्थानीय ममता गन्धर्वले भनिन्, 'सरकारले हामी गरिबलाई सहयोग गर्दा खुसी लागेको छ ।' आम्दानीको स्रोत नभएका उनीहरू गाउँघर डुलेर सारंगी रेटदै गीत गाएर जीवन निर्वाह गर्दै आएका छन् । गन्धर्वका घर स्याउला र खरले छाएको झुपडी थिए । नयाँ घरमा बरन्डासहित ४ कोठा छन् ।

'घर निर्माणले विस्थापित हुनबाट जोगाइदियो,' कमल गन्धर्वले भने, 'झुपडीमा बसेको बानी पक्की घरमा बस्दा जीवनै परिवर्तन हुने महसुस गरेका छौं ।' पुख्र्यौली पेसाले जीवन निर्वाहमा पनि समस्या आएको भन्दै स्थानीय केही वैदेशिक रोजगारमा जान थालेका छन् । परिवार पाल्न र छोराछोरी पढाउन क्षमता नभएपछि बिदेसिनु परेको उनले बताए । झुपडीमा परिवारका सबैजना सुत्ने, खाना पकाउने र अन्नपातलगायत सामान त्यहीं राख्नुपर्ने बाध्यता अहिले हटेको उनी बताउँछन् । गन्धर्व जातिलाई संरक्षण गरिराख्न क्षेत्री, ब्राह्मण पनि लागेकामा उनीहरू खुसी छन् । 'घरमा बस्न, खान र सुत्न दु:खको सीमा नै थिएन,' गन्धर्वका अगुवा एवं एमाले जिल्ला प्रचार विभाग प्रमुख भोजबहादुर गन्धर्वले भने, 'अहिले घर बनेको छ सबै खुसी छन् ।'

No comments:

Post a Comment