प्रहरीले दर्ता गर्न नमानेपछि न्याय माग्न राजधानी पुगे धादिङ पीडाकी दलित महिला

विभेद बिरुद्ध अभियान, भाद्र १२ - धादिङ – धादिङको पीडा गाँउ विकास समिति वडा नं ६ भदौरेमा दलित महिलामाथि बलात्कार प्रयासपछि मरणसन्न हुने गरी कुटपिट गरिएको छ ।भदौरेकी २७ वर्षिया सीता विकलाई स्थानीय ३१ वर्षिय ज्ञानबहादुर थापा मगरले साउन १८ गते राती ९ बजे सुतेकै ठाउँमा आएर सीतालाई बलात्कार गर्न खोजेपछि सिताले हारगुहार गरेपछि उनीमाथि कुटपिट गरिएको हो ।
आफ्ना स–साना दुई सन्तानका साथमा सुतेकी सीताले हारगुहार गरेपछि मगर भागेका थिए । तर त्यसको केही समयपछि मगरले उल्टै आफ्नी श्रीमती मैया मगर सहित आएर आफूलाई निर्घात कुटपिट गरेकोे सीताले बताइन् ।
पिडितले दोषीलाई कार्वाहीको माग गर्दै दिएको जाहेरी धादिङ प्रहरीले दर्ता गर्न नमानेपछि न्यायका लागि उनी राजधानी काठमाडौँ गएकी छिन् । उनले राष्ट्रिय मानव अधिकार आयोग, दलित सेवा समाज लगायतका ठाँउहरुमा निवेदन हालेकी छिन् ।
उनका पति वैदेशिक रोजगारीका लागि मलेशियामा छन् । पीडित सीताले आयोगहरुमा दिइएको निवेदनमा आफूमाथि भएको जबर्जस्ती करणी प्रयासको किटानी जाहेरी दिन जाँदा धादिङ जिल्ला प्रहरी कार्यालयले पीडक पक्षधर स्थानीय राजनीतिक दलको प्रभावमा परी जाहेरी दर्ता गर्न इन्कार गरी पीडककै संरक्षणमा लागेको आरोप लगाएकी छन् ।
आयोगहरुमा दर्ता गराइएको निवेदनमा पीडित सीता विकको मौलिक हक हनन् गर्ने प्रहरी र राजनीतिक दललाई समेत कार्वाही गर्न पीडित पक्षले माग गरिएको छ । यता जिल्ला प्रहरी कार्यालय धादिङले भने सार्वजनिक मुद्धामा उजुरी दर्ता गरी सोही अनुसार प्रक्रिया अगाडी बढेको तर जर्वजस्ती करणीको निवेदन नआएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जीयारले यदि पिडित पक्ष त्यस्तो खालको निवेदन दिन आएमा आफुहरुले सोही प्रक्रिया अनुसारकै उजुरी दर्ता गर्ने बताए । पिडितले दिएको निवेदनका आधारमा आफुहरुले त्यहाँको प्रहरी कार्यालयमा सम्पर्क गरी बुझ्ने काम भइरहेको राष्ट्रिय मानव अधिकार आयोगकी सुचना अधिकृत गीता श्रेष्ठले बताइन् । उनले के गर्ने भन्ने विषयमा आजै भन्न नसकिने प्रतिक्रिया दिइन् ।

No comments:

Post a Comment