छोराछोरीको भोक मेटाउन लगेको बिस्कुटको १५ रुपैयाँ तिर्न नसक्दा दलित दम्पतीको हत्या

विभेद बिरुद्ध अभियान, भाद्र १२ - नयाँदिल्ली -भारतको उत्तर प्रदेशमा १५ रुपैयाँको विवादलाई लिएर दलित समुदायका  दम्पतीको हत्या भएको छ । उधारोमा किनेर ल्याएको बिस्कुटको पैसासम्बन्धी विवादलाई लिएर कथित उपल्लो जातका किराना व्यापारीले बिहीबार उनीहरूको हत्या गरेका हुन् । व्यापारीले बारम्बार बिस्कुटको पैसा माग्दा ती दम्पतीले केही दिनको समय मागेका थिए । उत्तर प्रदेशको मेनपुरी जिल्लामा बिहीबार बिहान सो बीभत्स घटना भएको भारतको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । एकाबिहानै काम गर्न जाने क्रममा बाटोमै दम्पतीको हत्या भएको हो । उनीहरूलाई गाउँकै किराना व्यापारी अशोक मिश्रले हत्या गरेका हुन् । मिश्रले सुरुमा दम्पतीले केही दिनअगाडि उधारोमा लगेका तीन प्याकेट बिस्कुटको मूल्य तिर्न कर गरेका थिए ।
 उनीहरूले आफ्ना तीन छोराछोरीका भोक मेटाउन तीन प्याकेट बिस्कुट लगेका थिए । दिउँसो कामबाट पाएको कमाइले साँझसम्म बिस्कुटको पैसा तिर्ने बाचा दम्पतीले गरेका थिए । तर, मिश्रको जिद्दीका अगाडि उनीहरूको याचनाले कुनै काम गरेन । ‘मिश्रले पैसा देऊ भनी कराउँदै गर्दा दम्पती कामका लागि खेतबारीतिर हिँड्दै थिए । मिश्र तत्कालै आफ्नो घर गए बन्चरो लिएर फर्किए र भरतको घाँटीमा हिर्काए । भरत भुइँमा लड्दा पतिलाई जोगाउन गएकी मम्ता पनि बन्चरो लागेर ढलिसकेकी थिइन् । दम्पतीको घटनास्थलमै मृत्यु भयो,’ स्थानीय गाउँले नदिमले दी इन्डियन एक्सप्रेसलाई भने । आक्रमण गर्ने किराना व्यापारी पक्राउ परेका छन् । सोही घटनालाई लिएर गाउँका दलित समुदायले विरोध प्रदर्शन गरेका छन् । ढुंगा र मुढा तेस्र्याएर ठाँउ–ठाँउमा बाटो अवरोध गरेका छन् । 
दुई साताअगाडि मात्र कथित गौ संरक्षक भिजिलान्तेले मरेको गाईको छाला बोकेर हिँडेका दलित समुदायलाई निर्घात कुटपिट गरेका थिए । हिन्दू धर्मावलम्बीले गाईलाई पवित्र माताका रूपमा हेर्छन् । भारतका धेरै राज्यमा गाई काट्न निषेध छ । तर, कथित उपल्लो जातिले मरेको छाला लिएर हिँड्दा पनि गाई खाएको दोष लगाउने गरेको प्रहरीले जनाएको छ । 
गत मार्चमा मात्र भारतको दक्षिणी राज्य तमिल नाडुमा उपल्लो जातकी महिला विवाह गरेको आरोपमा दलित पुरुषको हत्या भएको थियो । छोरीलाई भगाएर लगेको भन्दै बेहुलीका बाबुले दिउँसै व्यस्त सडकमा दलित ज्वाइँको हत्या गरेका थिए । हत्यापछि प्रहरी चौकीमा गएर आत्मर्सपण गरेका थिए ।

No comments:

Post a Comment