अन्तरजातीय विवाह गर्दा प्रहरीको खोरमा

चिरञ्जिीवी घिमिरे- विभेद बिरुद्ध अभियान, १ भदौ - समाजमा विद्यमान छुवाछुत प्रथा अझै अन्त्य हुन सकेको छैन । कानुनमा नेपाललाई छुवाछुत मुक्त देश घोषणा भयो ,तर अझै व्यवहारमा लागू हुन सकेको छैन । कानुनका पालक नै छुवाछुत गरिरहेका छन् । अन्तरजातिय विवाहलाई सरकारले प्रोत्साहन गरेको छ । तर अझै पनि अन्तरजातिय विवाहले समाजमा स्थान पाउन सकेको छैन । अन्तरजातिय विवाह गरेका कतिपय जोडीहरु छुटेका छन् भने कतिपय समाजबाट वहिस्कृत भएर बसेका छन् । यस्तै घटना घटेको छ झापामा पनि । अन्तरजातिय विवाह गरेका कारण यहाँका एक जोडी प्रहरीको हिरासतमा पुगेका छन् । झापाको गौरादह ७ का १८ भुपेश परियार र गौरादह ६ की अनिशा थापाले गत जेठ २६ गते प्रेम विवाह गरे । उनीहरु त्यही दिन विहान भागे र साँझ घरमा फर्काइयो । त्यस पछि उमेर नपुगेको भन्दै परिवारले दुवै जनालाई आ–आफ्नो जिम्मा लिए । उनीहरुलाई परिवारले जिम्मा लिएर दुई जनालाई भेट समेत गर्न दिएनन् । 
अनिशाले यो वर्ष एसएलसी पास गरेकी हुन् भने भुपेश अहिले कक्षा १०मा पढ्छन् । फेरी उनीहरु असार १२ गते घरबाट भागे । उनीहरु घरबाट भागेर इलाम र भारतको दार्जिलिङमा करिब १ महिना १५ दिन बसे पछि साउन २८ गते घर फर्केर आए । त्यस पछि अनिशा पक्षको परिवारबाट प्रहरीमा उजुरी दिइयो । त्यस पछि प्रहरी चौकी महारानिझोडाले उनीहरुलाई पक्राउ गर्यो र इलाका प्रहरी कार्यालय दमकमा ल्याइयो । आफुहरुलाई प्रहरीले थुने पनि एक अर्का बिना आफुहरु छट्टीएर बस्न नसक्ने बताउँछन् उनीहरु । पहिलो पटक भागे पश्चात छुटाएर घर लादा समेत अनिशालाई परिवारले ज्यादती गरेको उनी बताउँछिन् । आफु भन्दा तल्लो जातसंग गएको भनेर परिवारले कुटेको समेत उनी बताउँछिन् ।
 आफुहरुको सच्चा प्रेम भएकाले छुटिनै नसकेको बताउँदै उनले भनिन्–‘ म भुपेश संग छुटिनै सकिन, त्यसैले असार १२ गते राती १२ बजे उसको घरमा गएँ अनि हामी भाग्यौँ’ । दलितसंग विवाह गरेको भन्दै आफुहरुलाई छुटाउन अनिशा पक्षका समाजले परिवारमा दवाव समेत दिएको अनिशाले ठोकुवा गरिन् । भुपेश पनि अनिशाको मायाँमा यसरी नै परेका छन् । आफुहरु प्राण त्याग्न तयार भएको तर कुनै पनि हालतमा अलग भएर बस्न नसक्ने उनले बताए । अनिशालाई पहिलोपटक भगाए पछि अनिशाको परिवारबाट आफुलाई धेरै धम्की आएको बताए । उनलाई पटक पटक फोन गरेर ज्यान मार्ने धम्की समेत दिएको उनी बताउँछन् । भुपेश बोल्दै अनिशाले भक्कानिदै भनिन् –‘हिजो बिहान मैले आमालाई हामीलाई नछुटाउनु भनेर फोन गरेको, आमाले त्यो दलित संग गएपछि तँ हाम्रो लागि मरिस्, भाई बहिनीको छेउ समेत नपर्नु भन्नुभयो’ । अनिशाकी आमाले समेत दलित अनलाईनकर्मीसंग केही बोल्न चाहिनन् । हामीले उनको नाम सोध्न खोज्दा उनले हामी माथि नै आक्रोश पोखिन् । उनको छोरीको बारेमा हामीले सोध्न खोज्दा हाम्रो नाक काटेर गएकी त्यसको के कुरा गर्नु उनले भनिन् । भुपेशका बुबा कविराज परियारले दलितसंग छोरी आएको भन्दै अनिशाका परिवारले १८ वर्ष नपुगेको बहाना बनाएर उनीहरुलाई छुटाउन खोजेको बताएका छन् । उनीहरुले पटक पटक दलित भएका कारण मात्र छुटाउन खोेजेको बताए पनि प्रहरीमा भने उमेर नपुगेको भनेको उनले बताए । छोरा अनिशा संग भागे पछि कयौँ पटक आफुहरुलाई धम्की समेत आएको उनले बताए ।
 यो घटनामा प्रहरीले समेत आफुहरुलाई दुव्र्यवहार गरेको उनी बताउँछन् । उनीहरुको मन्जुरी विना कागज गरिएको र एक पटक केटाकेटीलाई सोध्नु पर्छ भन्दा प्रहरी चौकी महारानिझोडाले नमानेको उनले बताए । आफुले उनीहरुले आत्महत्या गर्न सक्छन् त्यसैले एकपटक उनीहरुलाई सोध्नु पर्छ भन्दा चौकीका हवल्दार बाबुराम कार्कीले मरे मुझुल्का उठाएर पोष्टमार्टम गरौला भन्दै आफुहरुलाई दुव्र्यवहार गरेको उनले बताए । उनीहरुको उमेर नपुगेको भए उनीहरुलाई नै सम्झाएर प्रहरीले आफ्नो आफ्नो परिवारको जिम्मा लगाउनु पर्ने उनी बताउँछन् । यता प्रहरीले भने उमेर नपुगेको आधारमा मात्र उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका डीएसपी राजन लिम्बुले जातिय आधारमा भन्दा पनि उमेर नपुगी विवाह गरेकाले पक्राउ गरिएको बताए । 
उनीहरुलाई प्रहरीले आ–आफ्नो परिवारको जिम्मा लगाएको छ । प्रहरीले त उनीहरुलाई परिवारको जिम्मा लगाएको छ तर भोलि फेरी नराम्रो र ठुलो दुर्घटना नहोला भन्न सकिदैन । त्यसैले उनीहरु दुवै जनाको कुरा सुनेर परिवार पनि अघि बढ्न आवश्यक देखिन्छ । यदि जातिय छुवाछुतको आधारमा उनीहरुलाई अलग गर्न खोजिएको हो भने केटी पक्षका परिवारलाई आवश्यक कारवाही गर्न जरुरी छ । केटी पक्षका परिवारहरुले दलित अनलाईनकर्मी संग समेत जातिय कुरा उठाएका थिए । - दलित अनलाइन बाट

No comments:

Post a Comment