विशेषाधिकारले मात्र दलितलाई अधिकार सम्पन्न गराउँछ’

विभेद बिरुद्ध अभियान- काठमाडौ, २९  साउन । विशेष अधिकारको ग्यारेण्टी भएमात्र दलितलगायत उत्पीडित समुदाय अधिकार सम्पन्न हुँने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।दलित मुक्ति मोर्चा नेपालले शुक्रबार संवाद डबलीमा विशेष अधिकार सम्बन्धि गरेको अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन् ।
नेकपा माओवादी निकट दलित मुक्ति मोर्चाले दलित अधिकार सम्बन्धि आफ्नो धारणा सार्वजनिक गरेका थिए ।
नेकपा माओवादीका पोलिट्व्यूरो सदस्य सन्तोष बुढामगरले दलित समुदायलाई समाजमा सम्मानजनक सहभागी गराउन विशेष अधिकार आवश्यक भएको बताए । उनले आरक्षण शासकले चाहनामा हुने भएकाले विशेष अधिकारको व्यवस्था हुनुपर्ने बताए ।‘आरक्षण शासक वर्गको खल्तिमा हुन्छ, सकारात्मक भएको बेला दिन्छ र अलि उसलाई असहज जस्तो भएमा खोस्छ । विशेष अधिकार उत्पीडित समुदायको हातमा हुन्छ, उसले प्रयोग गर्न पाउँछ’ बुढामगरले भने ।
उत्पीडित समुदायलाई सामाजिक बहिस्करणबाट मुक्त गर्न विशेष अधिकारको ग्यारेण्टी हुनु पर्ने उनको धारणा थियो । जातिय, क्षेत्रिय, वर्गीय र लिङ्गीय उत्पीडनबाट मुक्त गर्न जनवादी क्रान्ति आवश्यक भएको बुढामगरले बताए ।
कार्यक्रममा आयोजक संगठन दलित मुक्ति मोर्चा नेपालका महासचिव रामलाल विश्वकर्माले विशेषाधिकार सम्बन्धी अवधारणापत्र प्रस्तुत गरका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै दलित आन्दोलनका अगुवा प्राध्यापक पदमलाल विश्वकर्माले तत्कालिन नेकपा माओवादीले जनयुद्धका बेलामा मुक्तिको लागि विशेष धिकारको अवधारणा अगाडि सारको बताए ।
विशेषाधिकार राजनीतिकसँग र आरक्षण सामाजिसँग जोडिएको बताउँदै आरक्षण संसारबाट असफल भइसकेकोले अव विशेष अधिकारमा जानुपर्ने बताए ।आदिवासी जनजाति आन्दोलनका अगुवा तथा प्राध्यायपक कृष्ण भट््टचनले शासक वर्गले दलित तथा आदिबासी जनजातिलाई अधिकार दिन तयार नभएको बताए । उनले दलित र आदिवासी जनजातिले भोगेको अनुभव समान भएको बताए ।
विशेष अधिकार भन्ने वित्तिकै शासक वर्गले गलत अर्थ लगाउँने गरेको बताए । भट्टचनले आफ्ना मागहरु सफल पार्न आन्दोलन गर्नु नपर्ने भन्दै एकतावद्ध भएर अगाडि बढिरहे आफै सफल हुँने बताए ।
आयोजक संगठन दलित मुक्ति मोर्चा नेपालको अध्यक्ष डम्बर नेपालीले विशेष अधिकारले मात्र दलितलगायत उत्पीडित समुदायलाई अधिकार सम्पन्न गराउने बताए । न खोसेसम्म अधिकार नपाइने भएकाले संगठित रुपमा संघर्ष गर्नुको विकल्प नभएको नेपालीले बताए ।
नेपाली काँग्रेस निकट नेपाल दलित संघका कावा अध्यक्ष शम्भु हजराले दलितको अधिकारमा नेपालका नेताहरुले प्रयोग गरेकाले दलित समुदायले अधिकार पाउन नसकेको बताए । ‘शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले विशेष अधिकारको प्रयोग गरेकाले दलितले पूर्ण रुपमा अधिकार सम्पन्न भएका छैनन’ हजाराले भने ।
उनले नयाँ संविधानमा पनि दलितको अधिकार सुनिश्चित नगरेको भन्दै देउवा, ओली र प्रचण्डविरुद्ध आन्दोलन गर्नुपर्ने बताए । दलित नागरिक समाजका अध्यक्ष मोतिलाल नेपालले राजनीतिक पार्टीका नेताहरुले सत्तामा पुग्न दलित मुक्तिका नारा लगाउने तर सत्तामा पुगेपछि आफैले लगाएका नारा नै भुल्ने गरेको बताए । उनले विशेष अधिकारले दलित समुदायलाई अधिकार सम्पन्न गराउने भएपनि त्यो प्राप्त गर्न सजिलो नभएको बताए ।
नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष डा.बुद्धि नेपालीले सबै समस्या राज्य सत्ताको चरित्रसँग जोडिएको हुने भएकाले उत्पीडनबाट मुक्त हुँन राज्य सत्ताको चरित्रमा परिवर्तन गर्नुपर्ने धारणा राखे ।
नेपालीली राज्यसत्तामा सर्वहारा वर्गको अधिनायकत्व भएमात्र दलित, महिला, जनजातिको अधिकार पाउने उनले बताए । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्दु चन्दले विशेषाधिकारको मुद्धा दलित र महिलाले मात्र उठाउने र उनीहरुले मात्र सुन्ने भएकोले अधिकार नपाएको बताइन् । 
उत्पीडित समुदायको आवाजलाई शाषकहरुले नसुन्न बताउँदै सत्ता संचालनमा दलित र महिला पुग्नुपर्ने बताइन् ।
नेपालमा केन्द्रीय र बिकेन्द्रीत रुपमा दलित बस्ती भएको बताउँदै विकेन्द्रीय बस्तीको राज्यमा समान सहभागिता कसरी गराउने भन्नेमा बहस गर्नु धारणा चन्दले राखिन् । उनले दलित शब्द हटाउने आन्दोलन आवश्यक भएको बताइन् ।
दलित महिला संघकी अध्यक्ष कला स्वर्णकारले माओवादी आन्दोलनप्रति दलित समुदाय आशावादी भएपनि अहिले निरास बनाएको बताइन् । आन्दोलनमा दलितलाई अगाडि लगाइएपनि सत्तामा पुगेपछि पहिलेका शासकहरुले गर्ने व्यवहार गरेको बताइन् ।
नेपाल दलित मुक्ति मोर्चाका महासचिव रामलाल विश्वकर्माले विशेषाधिकार सम्बन्धि अवधारणा प्रस्तुत गर्दै कोटा प्रणालीले दलित मुक्ति नहुँने बताए । 
उनले दलितको मुक्तिको लागि विशेषाधिकारको ग्यारेण्टी हुँनुपर्ने बताए । दलित मुक्ति वर्गीय मुक्तिसँग जोडिएको बताउँदै विश्वकर्माले राजनीतिक रुपमा समाधान खोजिनु पर्ने बताए ।
विश्वकर्माले राजनीतिक रुपमा समाधान खोजिनु पर्ने बताए । शोषक वर्गको हित गर्ने सत्ताले दलितलाई अधिकार नदिने बताउँदै आमूल परिवर्तनको लागि संघर्ष गर्नुपर्ने विश्वकर्माले बताए ।

No comments:

Post a Comment