सोनम र सञ्जीवबीचको अन्तर्जातीय विवाहले दुःखद परिणति निम्तियो

विभेद बिरुद्ध अभियान-भदौ २, पोखरा: एकछिनको बोलीचाली र सुन्दर देख्दैमा विवाह गरिहाल्ने प्रवृत्ति गलत हुँदोरहेछ भन्ने शुक्रबार अपराह्न पोखराको चालिसेचोकमा भएको वीभत्स हत्याले पुष्टि गरेको छ।पाँच वर्षअघि छिनभरको भेटघाटमै स्याङ्जाको किचनाश गाविस–३ का २२ वर्षीय सञ्जीवबहादुर नेपाली र स्याङ्जाकै पौवेगौडे गाविस–२ की सोनम रेग्मीबीच अन्तर्जातीय विवाह भएको थियो।
तल्लो जातिसँग विवाह गरेको भन्दै केटी पक्षका अभिभावक असन्तुष्ट बने। उनीहरुले छोरीलाई समेत वास्ता गर्न छोडे। आफ्ना माइती पक्षबाट टाढिँदै गएपछि सोनम र सञ्जीवबीचको सम्बन्धमा पनि खटपट सुरु भएको उनीहरुलाई चिन्ने नजिककाले बताउँछन्। सोनम सम्बन्धविच्छेद गर्न चाहन्थिन् भने सञ्जीव त्यसको विरोधमा थिए।सोनमको बलजोडले अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेपछि दुवै छुट्टाछुट्टै बस्दै आएका थिए। उनीहरुको मुद्दा विचाराधीन छ। केही महिनाअघि वैदेशिक रोजगारीमा विदेश गएका सञ्जीव दुई महिना नपुग्दै घर फर्केका थिए।
सोनम चालिसे चोकको एक घरमा डेरा लिएर बसेको पत्ता लगाई सञ्जीव धारिलो चक्कुसहित ढोका बाहिर पुगेका थिए। उनले कोठाबाट आँगनमा निस्केकी सोनमलाई चक्कुले पेट र घाँटीमा प्रहार गरे।धारिलो हतियारको प्रहारबाट सोनमको घटनास्थलमै मृत्यु भएको थियो। उनले पनि गोजीबाट विष निकालेर सेवन गरेको र सख्त घाइते भएपछि गण्डकी मेडिकल कलेजमा उपचारार्थ लगिएकामा उपचार गर्दागर्दै उनको पनि मृत्यु भएको थियो।

विष सेवन गरी आत्महत्या गरेका सञ्जीवको गोजीमा एउटा चिठ्ठी पनि फेला पर्यो। चिठीमा ‘तँलाई पनि बाँच्न दिन्न, म पनि बाँच्दिनँ’ लेखिएको प्रहरीले जनाएको छ।अहिले मृतकका आफन्तलाई पोखरा बोलाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिए। दुवैको शव परीक्षणका लागि अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ।

No comments:

Post a Comment