गिटी कुट्दै कलम समाउने कलिला हातहरू


सुर्खेतको गिरीघाटस्थित अस्थायी शिविरमा गिटी कुट्दै बाढीपीडित बालबालिकाहरू क्रमश: चन्द्र विक, शर्मिला विक र करिष्मा रजाली।
प्रकाश अधिकारी-साउन १९ - विभेद बिरुद्ध अभियान  - हरिहरपुर सिस्नेरीकी शर्मिला विक ९ वर्षकी भइन्। उनी कक्षा २ की विद्यार्थी हुन्। होमवर्क गर्नुपर्ने र स्कुल जान तर्खर हुनुपर्ने बिहानको त्यो समयमा उनी हथौडा समाएर गिटी कुटिरहेकी हुन्छिन्।उनको दुई वर्षयता खोला किनारका ढुंगा बटुल्ने, गिटी कुट्ने नित्यकर्म नै बनेको छ। ‘पढ्न मन छ। आमाले गिटी कुट भन्नुहुन्छ,’ शर्मिलाले बाध्यता सुनाइन्, ‘कुनै दिन स्कुल छुट्छ। स्कुलबाट आएर पनि गिटी कुट्छु।’
गिरीघाटको अस्थायी शिविर नजिकै ७ वर्षीया करिष्मा रजालीले पनि हथौडा चलाइरहेकी छन्। उनी ३ कक्षामा पढछिन्। बिहानसाँझ गरी उनले दैनिक एक बोरा गिटी कुट्नुपर्ने बाध्यता छ। करिष्माकी आमा भविसराले गासका लागि गिटी कुट्नुपरेको बताइन्।
दुई वर्षअघि भेरी नदीमा आएको बाढीले हरिहरपुर गाविसका सयौं परिवारलाई बिल्लीबाठ बनायो। त्यहाँका सिस्नेरी, डोप्का र थापाडेराका करिब सय परिवार गिरीघाट जंगलमा आश्रय लिइरहेका छन्।
पुनर्वासको टुंगो नलाग्दा विस्थापितले यसपालिको बर्खामा समेत कष्ट भोग्दै छन्। विस्थापित अगुवा रामबहादुर पुरीले बालबालिकाको भविष्य अन्धकारमा धकेलिएको भन्दै चिन्ता व्यक्त गरे। ‘छाक टार्ने समस्याले केटाकेटीको पढाइ बिग्रियो,’ उनले भने, आफूले त दु:ख पाइयो पाइयो। छोराछोरीले समेत नराम्ररी दु:ख पाउने भए।’ प्राथमिक तहमा पढ्ने ५४ बालबालिकाले घर खर्च जुटाउन ढुंगा संकलन गर्ने, गिटी कुट्ने र बिक्री गर्दै आएका छन्।
गाउँमा हुँदा हुनेखाने परिवारका बालबालिका शिविरमा मगन्ते बन्न थालेका छन्। ‘केटाकेटी पनि गासबासकै चिन्तामा रुमलिनुपरेको छ,’ भविसराले भनिन्, पेटभरि खान पाए पो पढाइ होला। यहाँ सबैलाई के खाने, के लगाउने भन्ने चिन्ता छ।’ शिविर नजिकै अस्थायी स्कुल भए पनि राम्ररी सञ्चालन हुन सकेको छैन। बालबालिकाहरू नियमित स्कुल नजाने समस्या छ। प्राथमिकदेखि माथिल्लो तह पढ्न डुंगा चढेर भेरी तर्नुपर्ने बाध्यता छ। डुंगा चढ्न डर मानेर बालबालिका स्कुल जान नमानेको अभिभावकको भनाइ छ। अभिभावकका अनुसार बालबालिकामा मनोवैज्ञानिक त्रास कायमै छ। उचित वातावरणको अभावले पढाइप्रति रुचि देखाउन छाडेको पाइएको छ। ‘स्कुल भएर के गर्नु।
बालबच्चाको पढ्ने मनस्थिति खल्बलियो,’ रामबहादुरले भने, ‘आफ्नो पालामा पढ्ने जमाना थिएन। अहिले बच्चाको भविष्य बिग्रँदा दु:ख लाग्छ।’ विस्थापित बनेको दुई वर्ष बित्न लाग्दासमेत सरकारले पुनर्वासको टुंगो लगाएको छैन। बाढीले उठिबास बनाएको यही साउन २८ र २९ गते दुई वर्ष पुग्दैछ। पुनर्वासमा भइरहेको ढिलाइले बालबालिकाको भविष्य संकटमा परेको विस्थापितको गुनासो छ।कान्तिपुर दैनिक  बाट

No comments:

Post a Comment