जातिय विभेद र छुवाछुत :मिस्टर प्रदिप

विभेद बिरुद अभियान - भदौ ११ -जातिय विभेद,  छुत अछुत तथा दलित,उंचो निचको भावना र व्यवहार आज पनि हाम्रो समाजमा विध्यमानरुपले आफ्नै आंखा अगाडि घटिरहेको देख्दा , महशुश गरिरहदा  कतै हामी अझै दासयुग र सामन्तियुगमा त बांचिरहेका छैनौ भन्ने पनि लाग्छ । तर यो एक्काइसौ शताब्दिको युगमा पनि नेपाली समाज लगायत दक्षिण एसियाका अधिकांश मुलुक यो समस्या कहालि लाग्दो रुपमा जकडिएर रहेको पाइन्छ । विशेष गरेर नेपाल र भारतमा यसले जरो गाडेर बसेको छ । दलित र छुत अछुतको सम्वन्ध विशेष गरेर हिन्दु धर्म संस्कृति र परम्परा संग जोडिएर आएको देखिन्छ । भलै हिन्दु धर्म ग्रन्थमा के कस्तो व्यवस्था छ र त्यसको अनुशरण गर्ने पण्डित विद्वान र कर्मकाण्ड वेत्ताहरुले के कसरी तिनिहरुलाइ अनुसरण गरे । आफ्नो स्वार्थ अनुकुल बनाउनको लागि कसरी गलत व्याख्या गरे भन्ने कुरा अर्को बहसको विषय बन्न सक्ला । तर यो सत्यतालाइ स्विकार गर्नै पर्ने हुन्छ कि नेपालमा जातिय भेदभाव आजको दिनसम्म पनि भयावह रुपमा सामाजिक व्यवहारमा रहेको छ । कानुनमा वा कागजमा जातिय भेदभाव र छुवाछुत अन्त्य भइसकेको घोषणा गरिए पनि कानुनि व्यवस्थाहरु भएपनि सामाजिक व्यवहारले कानुनलाइ र राज्यलाइ चुनौति दिइरहेको छ ।
हिन्दु धर्मले दलित समुदायलाइ धार्मिक शाष्त्र र ज्ञान बाट वञ्चित मात्र गरेन जनवारलाइ भन्दा तल्लो व्यवहार गरेर मन्दिर प्रवेशमा निषेध तथा सार्वजनिक धारामा छुन सम्म पनि रोकावट गरि नै रहेको पाइन्छ । यो कस्तो विडम्वना मानिस भएर मानिस जस्तो व्यवहार नपाउनु मानवअधिकारको उल्लङ्न भएन र ? मन्दिर र धारामा निषेध गरिएको छ भने दलितसंग तथाकथित उपल्लो जातिहरुसंग हुने वैवाहिक सम्वन्ध त झन् ठुलो समस्या बन्ने गरेको छ ।
   एकातिर शिक्षा आर्जनका लागि अभिभावक आफ्ना छोराछोरि स्कुल कलेज पठाउने गर्छन् तर स्कुल कलेजमा पढाइने ज्ञान शिक्षा केवल परिक्षामा अङ्क ल्याएर जागिर खाने कामका लागि मात्र हो कि जस्तो व्यवहारमा देखाउछन् । त्यसैले आज पनि नेपालका लाखौ दलित आंशु र आक्रोश लिएर राज्यसंग आफ्नो सामान्य मानवअधिकारको भिख मागिरहेछन् , वेदना सुनाइरहेछन्। अधिकार समानता र न्यायको माग गरिरहेछन् । जातिय छुवाछुत आजको समयको सबैभन्दा निकृष्ट क्रुर र मानवतालाइ हिनताग्रस्त बनाउने विकृत कुप्रथा नै हो । यसले दलितहरुमाथि सामाजिक सांस्कृतिक आर्थिक र मनोवैज्ञानिक रुपमा नराम्रो असर गरिरहेको छ । यसरी जातिय उत्पिडनमा परेका दलित समुदायको पिडा कतिपय पढे लेखेका शिक्षित वर्गलाइ पत्यार नलाग्न सक्छ अथवा यो समस्या खासै समस्या नै हो भन्ने नलाग्न पनि सक्छ । जातिय भेदभाव कम गर्नका लागि युवा पुस्ताको भुमिका अहम भुमिका हुन पर्ने देखिन्छ । युवा पुस्ताले नै विस्तारै यो कुप्रथालाइ अन्त्य गर्नुपर्ने जिम्मेवारी आफ्नो कांधमा बोक्न जरुरी देखिन्छ । हिन्दु धर्म संग प्रत्यक्ष परोक्ष सम्वन्ध राख्ने छुवाछुत र दलित समस्याको अन्त्यका लागि हिन्दु धर्मको व्यवहारमा पनि परिवर्तन ल्याउन अत्यन्त जरुरी छ। धर्म भनेको मानवता प्रेम सम्मान श्रद्दा मानव कल्याण सद्भाव र समानताको प्रतिक हुने गर्छन् । धर्मको मुल मन्त्रलाइ बुझ्नु र अनुशरण गर्नु नै आजको आवश्यकता हो । धर्म आफैमा खराब हुदैन । धर्मका ठेकेदारहरुको स्वार्थले यसलाइ विकृत गराइरहेको हुन्छ। यस तर्फ सबै सजग हुन जरुरी छ ।
  देशमा संघियताको मुद्दा जोडतोडले उठिरहेको विरोधका स्वर सुनिन थालेको छ जनताहरु आफ्नो रगत बगाइरहेका छन् । दलित तथा छुवाछुत प्रथा दलित लाइ कुनै प्रदेश दिएर समाधान हुने पक्कै होइन । यदि कोहि दलित प्रदेश चाहिन्छ भन्दै हिड्छ भने त्यो उसको निकृष्ट मानसिकता हो ।दलित कल्याण र जातिय छुवाछुतको अन्त्य चर्का  भाषण तारे होटलका सेमिनार र कानुनले मात्र हुदैन यसका लागि सामाजिक चेतना, शिक्षा र आर्थिक विकास लगायत कानुनको प्रभावकारी कार्यान्व्ययन अत्यन्त महत्वपुर्ण पक्ष हुन्। र अन्त्यमा दलित, जातिय छुवाछुत र विभेदका बारे बोल्ने, आवाज उठाउने सबै दलित नै हुन्छन् या हुनुपर्छ भन्ने सोचबाट मुक्त हुन जरुरी छ ।दलित हक हितका लागि बोल्न लेख्न , जातिय छुवाछुतका विरुद्द आवाज उठाउन दलिल समुदायकै हुनुपर्छ या यस्तो विभेदको विरोध गर्न गैर दलितले दलितसंगै वैवाहिक सम्वन्ध गास्नुपर्छ भन्ने मानसिकता फेर्न जरुरी हुन्छ । जातिय छुवाछुत तथा विभेद अमानविय र समाजको कलङ्क हो यसलाइ मानवतापुर्ण र कलङ्करहित बनाउनु समाजका हरेक व्यक्तिको कर्तव्य र दायित्व पनि हो ।

No comments:

Post a Comment