विस्थापित शिविरका बालबालिका कष्टकर जीवन बिताउन बाध्य

विभेद बिरुद्ध अभियान -सुर्खेत, भदौ १० । सुर्खेत र बर्दियाका बाढीपीडितलाई सरकारले समयमा व्यवस्थापन गर्न नसक्दा विस्थापित शिविरका बालबालिका कष्टकर जीवन बिताउन बाध्य छन् ।२०७१ साल साउन महिनामा गएको बाढी पहिरो विस्थापितको अझै पुनर्स्थापना हुन नसकेको हो ।
सुर्खेत हरिहरपुर सिस्नेरीकी कुसुम नेपाली ११ वर्षकी भइन् । दुई बर्षअघि बाढीपहिरोले घरखेत बगाएपछि उनको परिवार कर्णाली राजमार्गको छेउ गिरीघाटको अस्थायी शिविरमा बस्दै आएको छ । कुसुम कक्षा ५ की विद्यार्थी हुन् । गृर्हकार्य गर्नुपर्ने र स्कुल जान तर्खर हुनुपर्ने समयमा उनी हथौडा समाएर गिट्टी कुटिरहेकी हुन्छिन् ।
गिरीघाट खोला नजिकै हरिहरपुर ५, ६ र ७ का करिव ७० परिवार बाढीपहिरो विस्थापितहरु बसोबास गर्छन् । विस्थापित शिविरमा महिला र बालबालिकामात्र छन् । बर्षातको समय भएकाले विस्थापित शिविरका बालबालिका र महिलाहरुले कष्टकर जीवन जिउनु परेको छ ।
शिविर नजिकै अस्थायी स्कुल भए पनि राम्ररी सञ्चालन हुन सकेको छैन । बालबालिकाहरू नियमित स्कुल नजाने समस्या छ । सरकारी बेवास्ताका कारण बालबालिकाहरुमा मनोवैज्ञानिक त्रास बढेको छ ।
पढ्ने उमेरमा साँझ–बिहान के खाने र कसरी बाँच्ने भन्ने चिन्ताले पढ्न जान छोडेको अस्थायी शिविर नजिकै हथौडा चलाइरहेकी हरिमाया नेपाली बताउँछिन् ।
सरकारले पुनर्बास तथा पुनस्र्थापनामा चासो नदिएपछि विस्थापित परिवारका अधिकांश बालबालिकाहरुको पढाई बिग्रिएको छ ।

No comments:

Post a Comment