अजित मिजारको घटनामा प्रधानमन्त्रीले गृहमन्त्री, गृहसचिव र आईजिपीलाई बोलाएर जानकारी लिने

विभेद विरुद्ध अभियान,काठमाडौं भदौ ८ । अन्तरजातीय बिवाहमा दलित युवाको हत्या भएको भन्ने घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री, गृहसचिव र आईजिपीलाई बोलाएर जानकारी लिने भएका छन् ।
बुधबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले पेश गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले काभ्रे घटना गम्भीर प्रकृतिको प्रतिनिधिमूलक घटना भएको भन्दै तुरुन्तै गृहमन्त्री, गृहसचिव र आईजीपीलाई बोलाएर घटनाको यथार्थ बुझ्ने बताए । ‘तपाईहरुले घटनाको जानकारी गराउनुभयो, त्यसका लागि धन्यवाद । यो गम्भीर प्रकृतिको प्रतिनिधिमूलक घटना हो । म तुरुन्तै गृहमन्त्री, गृहसचिव र आईजिपीलाई बोलाएर यसबारे जानकारी लिन्छु र आवश्यक प्रक्रिया अघि बढाउँछु ।’
संघर्ष समितिका प्रतिनिधिहरुले काभ्रे जिल्ला पाँचखाल–६ का अजित (ढकाल) मिजारको अन्तरजातीय बिवाहका कारण हत्या भएको भन्दै त्यसको निष्पक्ष छानविन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको एभरेस्ट दैनिकमा खवर छ । अगुवाहरुले हत्यामा केटी पक्षका आफन्त र स्थानीय प्रशासनको समेत मिलेमतो रहेको भन्दै प्रधानमन्त्रीसँग केन्द्रीय तहमा छानविन समिति बनाउन, पीडकलाई कार्वाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका थिए ।
उक्त अवसरमा प्रधानमन्त्रीले गरीबका लागि सरकार, मन्त्रीपरिषद्मा दलितहरुको प्रतिनिधित्व र देशभरीका दलितका बच्चाहरुको जन्मदर्तामा प्रोत्साहन भत्ता दिने जस्ता निर्णय दलित र अन्य उत्पीडित वर्गतिर फर्कने सोंचसहित आएको बताएका थिए ।

No comments:

Post a Comment