धारा छोएको भन्दै मिना बिकलाई चप्पलैचप्पले भकुरियाे

साउन ३१,विभेद बिरुद अभियान - धारो छोएको विषयमा पोखरा बगरकी मीना विक कुटिएकी छन् । धारो छोएकैले आफूलाई एउटै घरमा डेरा गरी बस्ने मेनुका थापा, पूजा गुरुङ र रिया गुरुङले कुटपिट गरेको भनी मीनाले प्रहरीलाई जाहेरी दिएकी छन् । मीनाका अनुसार घरभित्रै रहेको उक्त धारो डेरावालले प्रयोग गर्दै आएका छन् ।साउन २४ गते बिहान ८ बजे छोरालाई नुहाइदिदै गरेको अवस्थामा आफूमाथि होच्याउने शब्द प्रयोग गर्दै कुटपिट भएको मीनाले बताइन् । ‘पहिलेदेखि धारो नछोइदे भन्दा टेरिनस् भन्दै चप्पलले हानियो,’ उनले भनिन् । मीनाले आफूमाथि कुटपिट हुन थालेपछि आत्मरक्षाका लागि कोठामा गएर बसेको र सोही दिन बिहान ११ बजे पुन आक्रमण भएको बताइन् ।मेनुका, पूजा र रियाले घरमै बस्न दिननहुने भन्दै लछारपछार गरेकोपनि मीनाले सुनाएकी छन् । उक्त समयमामीनाकी साथी कृष्णमाया गुरुङले छुट्याउन जाँदा दुवै पक्षबीच कुटाकुट भएको थियो । मीनाले गतवर्षको पुसमा पनि आफूमाथि धारो छोएको निहुँमा कुटपिट भएको बताइन् ।
उनले त्यतिबेला वडा प्रहरी कार्यालय बगरमा उजुरी गरेपछि प्रहरीले मिलापत्र गरेर छोडेको थियो । ३ वर्षदेखि उक्त घरमा बस्दै आएकी दाङसिङ सावेदकी २८ वर्षीय मीनाले आफूमाथि उनीहरुले पटक पटक मानसिक दबाब सिर्जना गर्ने गरेको बताइन् ।उनले आफूलाई जातीय विभेद भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा मेनुका, पूजा र रियाविरुद्ध आइतबार जाहेरी बुझाएकी छन् । विभिन्न दलित अधिकारकर्मीको टोलीले शुक्रबार नै जाहेरी दर्ता गराउन खोजेपनि प्रहरीले नमानेको अधिकारकर्मी प्रेमदेवी परियारले जानकारी दिइन् ।
मीनालाई न्याय दिलाउन भन्दै कास्कीका अधिकारकर्मीहरु एकजुट भएका छन् । जिल्ला प्रहरी कार्यालयमा जोहेरी बुझाउन आइतबार नेपाल दलित संघ, उत्पीडित जातीय समाज, दलित मुक्ति मोर्चा, शिल्पी महासंघ, दलित एकता सञ्जाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि पुगेका थिए ।मेनका, पूजा र रियाले भने जातीय विभेद नगरेको बताएका छन् । उनीहरुले छुवाछूत नभई अरु कारणले झगडा भएको बताएको समाधान न्युजमा खबर छ । दुवै पक्षबीच कुटाकुट भएपनि उनीहरुले ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध सम्बन्धी केसमा मीना र कृष्णमाया विरुद्ध जाहेरी बुझाएका छन् ।उनीहरुले पूजा गुरुङ घाइते भएको पनि उल्लेख गरेका छन् । यद्यपि दुवै पक्षको जाहेरी आइतबार दर्ता नभएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका इन्स्पेक्टर गणेश बमले जानकारी दिए । उनले त्यसबार सोमबार छलफल हुने बताए ।अधिवक्ता शिव सुनारले प्रहरीले जाहेरी दर्ता नगरे कारण खुलाई लेखेर दिनुपर्ने व्यवस्था रहेको बताए ।सार्वजनिक मात्र नभई निजी ठाउँमा पनि जातीय आधारमा विभेद गर्न नपाइने नेपालको संविधानमै उल्लेख छ।
जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ऐन) २०६८ ले जातीय विभेद गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद, १ हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवानासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ।

No comments:

Post a Comment