साउन २४ ,विभेद बिरुद्ध अभियान - हाम्रो समाजमा दलित र गैरदलितबीचको विवाह आज पनि सहज छैन । तर कैयौं यस्ता जोडी छन् जसले वर्षौंअघि पनि जातीय विभेदको सामाजिक जन्जिरलाई तोड्दै आफ्नो मायाको घर बसाए । यिनै चेतनशील र हिम्मतिला जोडीमध्येका केहीको कथा : सांसद अनीता परियार (महोत्तरी) लाई उति बेला ब्राह्मणहरू भन्ने बित्तिकै घृणा लाग्थ्यो। समाजमा विद्यमान जातीय विभेद यिनै समुदायका व्यक्तिले गर्दा भएको हो भन्ने उनको सोचाइ थियो। बाहुन जति सबै शोषक हुन् भन्ने ठम्याइ थियो उनको। तर, जब उनले निर्मल बराललाई भेटिन त्यसपछि ब्राह्मणप्रतिको उनको सोचै परिवर्तन भयो। करिब ५ वर्ष माओवादी पार्टीमा काम गरेपछि अनीताले निर्मललाई भेटेकी थिइन्, २०५६ सालमा। चितवनमा विद्यार्थीको राष्ट्रिय सम्मेलनमा निर्मल र अनीताबीच पार्टी कार्यकर्ताका रूपमा चिनजान भएको थियो।
उनीहरूको त्यो चिनजान मित्रतामा परिणत भयो र बिस्तारै झांगिँदै गयो। ६ वर्षसम्म बेग्लाबेग्लै कार्यक्षेत्रमा खटिए पनि अनीता र निर्मलको मनको दूरी उत्तिकै नजिक हँुदै थियो। निर्मल ब्राह्मणका छोरा पक्कै थिए तर, अनीताले सोचेजस्तो विभेदकारी थिएनन्। काम गर्ने क्रममा निर्मलले दलित समुदाय, विपन्न र निम्नवर्गीय समुदायमाझ देखाएको आत्मीताले नै अनीताको मन जितेछ। ‘जातले मान्छे खराब हुँदोरहेनछ,’ अनीता भन्छिन्, ‘निर्मलले दलित र गैरदलितप्रति मेरो नकारात्मक सोच नै बदलिदिए।’ २०६५ मा पार्टीले प्रगतिशील विवाह गरिदिएको क्षण अनीता अझै सम्झन्छिन्, जहाँ उनको घर पक्षका कोही पनि सहभागी थिएनन्। हाम्रोजस्तो समाजमा अन्तरजातीय विवाह आफैंमा संघर्ष हो। र, यो संघर्षमा खरो उत्रिएका छन्– अनीता र निर्मल। उनीहरूको विवाह–सम्बन्ध सफल छ। समाजमा भने उनीहरूको संघर्ष अझै जारी छ। पार्टीमा कार्यरत हुँदा एकपटक निर्मलको घर गएकी थिइन् अनीता। तर, विवाह भएपछि भने त्यो साइत अझै जुरेको छैन। ‘चाड पर्वमा फेमिली मिस गर्छाैं,’ अनीता भन्छिन्।
… गुल्मीमा जन्मिएकी सुशीला श्रीपाली भारतमा हुर्की–बढिन्। त्यहीँ पढिन्, अनि राजनीतिक जीवनको सुरुवात पनि त्यतै गरिन्। अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएर राजनीति गरेकी उनी यसै संगठनबाट कार्यक्षेत्र नेपाल बनाएर आइन्। २०५४ यहाँ आएपछि उनले सहकर्मी डम्बरसिंह ठकुरीलाई पहिलोपटक देखेकी थिइन्। पार्टी अविवाहितको समूहजस्तै थियो। अविवाहित मान्छेलाई ‘बिहे गर्ने कि’ भनेर धेरैले सोध्नु, स्वाभाविकै हो। सुशीला र डम्बरको कार्य क्षेत्र फरक थियो। सुशीला गुल्मी खटिएकी थिइन् भने डम्बर अर्घाखाँची। बेलाबेला पार्टीको बैठकमा मात्रै झलुक्क भेट हुन्थ्यो। ‘बिहे गर्ने हो त?’ साथीहरूको जिज्ञासाले मनमा दुविधा ल्याउँथ्यो। ‘गर्ने मन त छ। तर, आफूलाई बुझेको मान्छेसँग मात्रै’ सुशीला यसै भनेर टार्थिन्। उनलाई विवाहपछि राजनीतिलाई निरन्तरता दिन पाउँछु कि पाउँदिनँ भन्ने चिन्ता थियो। इमानदार र विचार मेल खाने भए बिहे गर्ने मनसाय बनाएकी थिइन् उनले। यस्तैमा एक दिन डम्बरले नै सुशीलासँग आफ्नो मन खोले, ‘बिहे गर्नुहुन्छ?’ सुशीला जातीय समस्या नआउनेबारे ढुक्क हुन खोजिन्। ‘जातको समस्या देखाउँदा डम्बरले भनेका थिए, ‘समाजलाई हामीले डोर्याउने हो, समाजले हामीलाई होइन।’ डम्बरको त्यही विचारका कारण सुशीला उनीसँग बिहे गर्न राजी भइन्।
‘समाजमा रुमलिएको अन्धविश्वास हामीले नै हटाउनुपर्छ भन्दै आफ्नो परिवारमा पनि त्यस्तो सोचाइभन्दा निकै माथि उठेको बताउनुभयो,’ सुशीला भन्छिन्, ‘उहाँको यही सोचले गर्दा बिहेका लागि निर्धक्क भएँ।’ पार्टीसँग विवाहको अनुमतिपत्र मागेको एक महिनामा उनीहरूले प्रगतिशील बिहे गरे। परम्परागत संस्कृतिभन्दा फरक बिनासिन्दूर, पोते सुशीला डम्बरको घर भित्रिइन्। जातकै कारण आफूले कहिल्यै समस्या झेल्नु नपरेको सुशीला बताउँछिन्। उनकी १० वर्षकी छोरी छन्। राष्ट्रिय दलित आयोगमा अध्यक्ष भएर काम गर्दा सुशीलाले थुप्रै विभेदका निवेदन अध्ययन गरेकी थिइन्। अन्तरजातीय विवाहकै कारण परिवार, समाज र गाउँबाट बहिष्कृत भएका कैयौं जोडीका गुनासा सुनेकी थिइन्। अनि यही समाजमा उनले चाहिँ किन समस्या झेलिनन् त? ‘त्यही समाजले आफूलाई गरेको सम्मान किन?’ आफ्नै प्रश्नमा सुशीला आफैं अनुमान लगाउँछिन्, ‘चेतनाकै कुरो रहेछ।’ सामान्य छवि भएकी युवती भएको भए मैले पनि त्यस्तै विभेद खेप्नुपथ्र्यो कि?’ आफ्नो हैसियत र अस्तित्व स्थापित गर्न सके कसैबाट अपहेलित हुनु नपर्ने उनको बुझाइ छ। सेना समायोजनपछि पति डम्बर सेनामा गए, अहिले मेजर छन्। ४३ वर्षीया सुशीलाचाहिँ राजनीतिमै सक्रिय छिन्।
… अन्तरजातीय विवाह गरेरै सफल हुनेमध्ये मानबहादुर नेपाली र अम्बिका पुनको जोडी पनि एउटा हो। उनीहरू दुवै एउटै विद्यालयमा पढ्थे। तर, राजनीतिक आस्था भने फरक थियो। एउटाको पूर्व र अर्काको पश्चिम। अम्बिका माओवादीमा संगठित थिइन भने मानबहादुर कांग्रेसमा। विद्यार्थी जीवन, दुवैलाई नसा जत्तिकै थियो राजनीति। उनीहरूबीच वैचारिक बहस पनि चल्थ्यो। तर, यसले उनीहरूको मनको मिलनलाई भने रोक्न सकेन। कति बेला उनीहरू एक अर्काबीच प्रेममा बाँधिए पत्तै भएन। दुवै एकअर्काका लागि अनिवार्य बन्दै गए।
२२ वर्ष टेकेपछि मानबहादुर र अम्बिकाले बिहे गर्ने सोच बनाए। बीचमा जात ठिंग उभियो, मानबहादुर दलितको छोरो र अम्बिका मगरकी छोरी। तर राजनीतिमा लागेको यो चेतनशीले जोडीले त्यसको कुनै प्रवाह गरेन। ‘विवाहका लागि कुन जातको भन्दा पनि विश्वास र भावनाले महत्त्व राख्दो रहेछ,’ मानबहादुर भन्छन्, ‘जीवन जिउन विश्वास चाहिन्छ।’ प्रगतिशील विवाह गरेर मानबहादुरले अम्बिकालाई घर त भित्र्याए। तर, आफूचाहिँ ससुराली तुरुन्तै जान पाएनन्। करिब ७ महिना जति उनीहरूले परिवार र समाजबाट मानसिक तनाव खेपे। ‘जातै फालेर विवाह गरिस् भनेर’ अम्बिकालाई कानमा फुक्नेहरू थुप्रै थिए। त्यस्तो कुरालाई उनले एउटा कानले सुनिन् र अर्को कानले उडाइदिइन्। अनि मानबहादुरसँगको सम्बन्ध बलियो बनाइन्। धैर्यको अगाडि समयले पनि घुँडा टेक्छ। बिस्तारै अम्बिका र मानबहादुरको दुई परिवारबीच आवत्जावत् हुन थाल्यो। २०५४ मा विवाह बन्धनमा बाँधिएका अम्बिका र मानबहादुरका दुई छोरा र एक छोरी छन्। जेठो छोरो १७ वर्षका भइसके। ‘छोराछोरीले मावलै मन पराउँछन्,’ मानबहादुर भन्छन्, ‘ससुराली जाँदा निकै सम्मान पाउँछु।’ मानबहादुर कांग्रेस पार्टीमा सक्रिय छन्, अम्बिकाचाहिँ शिक्षिका बनेकी छन्। राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्षसमेत रहेका मानबहादुर अन्तरजातीय विवाहमा मात्र होइन वैवाहिक सम्बन्ध बलियो बनाउन शैक्षिक, आर्थिक र सामाजिक यी तीनै पक्ष मजबुद हुनुपर्ने उनको धारणा छ।
…. दाङकी अनीता दुलाल (सुनार) सँग ६ वर्षपहिले विवाह बन्धनमा बाँधिएका अधिकारकर्मी अनुभव अजित आफ्नो जोडीलाई भाग्यमानी सम्झन्छन्। उनीहरूले जातकै कारण परिवारमा कुनै झमेला झेल्नु परेन। दुवै परिवारको सहमतिमा प्रेमलाई वैधानिकता दिएका हुन् उनीहरूले। अन्तरजातीय विवाह सफल हुनुको मूल कारण समझदारी नै रहेको अनुभवको अनुभव छ।एक वर्ष ‘लिभिङ रिलेसनसिप’ मा रहँदैदेखि उनीहरूले आ–आफ्नो परिवारलाई अन्तरजातीय विवाह गर्ने भन्दै सम्झाएका थिए। ‘कन्भिन्स गर्न सक्नुपर्दोरहेछ,’ अनुभव सुनाउँछन्, ‘चेतनशील परिवार भए खासै समस्या आउँदैन।’ साथीभाइ र परिवारमाझ ‘हामी पतिपत्नी भयौं’ भनेर विवाहको औपचारिक जानकारी दिएका थिएउनीहरूले । संस्कार समयसापेक्ष परिवर्तन हुनुपर्छ भन्ने मान्यता अनीता र अनुभवको छ। त्यसो त अनुभवको ठूलोबुबाका छोराले दुई दशकपहिले अन्तरजातीय विवाह गरेका थिए। त्यति बेला भने घरमा केही असझदारी पैदा भएको थियो। पछि सहज बन्दै गएको थियो। यसले गर्दा पनि आफूमा हिम्मत आएको अनुभव बताउँछन्। ५ वर्षको छोराका बाबुसमेत रहेका उनी आफ्नो आगामी पुस्ताले भने अन्तरजातीय सम्बन्धमा कुनै समस्या खेप्नु नपर्नेमा ढुक्क छन्। कांग्रेस नेता तथा सांसद मीन विश्वकर्मा अध्ययनका लागि भोजपुरबाट दमक झरे। त्यहाँ उनीसँग एउटै कक्षामा पढ्थिन्, निरु पौडेल। तर उनीहरूबीच खासै चिनजान थिएन। एसएलसीपछि मीन उच्चशिक्षाका लागि धरान पुगे। संयोग मान्नुपर्छ, एक वर्षपछि निरु पनि अध्ययनका लागि उतै गइन्। दुवैजना राजनीतिमा सक्रिय थिए, जसले उनीहरूलाई बिस्तारै नजिक बनायो। त्यही निकटता बढ्दै गयो र विवाहसम्म पुग्यो।
२०४६ सालको परिवर्तन आउँदा मीन र निरुको तीन वर्षको प्रेम सम्बन्ध छिप्पिँदै थियो। साथीजस्तै मान्दै आएकी मीनलाई निरुले मनमनै मन पराउन थालेकी थिइन्। मीनलाई चाहिँ यसको पत्तो थिएन। एक दिन निरुलाई घरमा इन्जिनियर केटाको बिहे–प्रस्ताव आएछ। त्यसपछि भने निरुले आफ्नो गुपचुप प्रेमलाई खुलेर प्रस्तुत गर्ने हिम्मत जुटाइन्। मीनलाई भेटेर ‘तपाईंलाई मन पराउँछु’ भनिन्। मीनले ‘थ्यांक यु’ भनेर त्यत्तिकै टार्न खोजे। तर, निरुले फेरि मुख खोलिन्, ‘बिहे नै गर्न चाहन्छु।’
ब्राह्मणकी छोरीले बिहे गर्छु भन्दा मीन अलमलमा परे। उनका आँखाभरि पछि आइपर्ने चुनौती नाचे। अनि निरुलाई सम्झाउन थाले। मन मिलेपछि सबै दु:ख टाढा भाग्छन्। निरुले मीनको मनोभाव सकारात्मक बनाइन्। आफ्नी आमाको अनुमति लिएर मीनले निरुसँग भागी विवाह गरे। समाज अहिलेजस्तो खुलेको थिएन। भागेर सिक्किम पुगेकी निरुलाई बुबा फिर्ता लिन गएका थिए। तर, प्रेममा दृढ थिइन्निरु । उनीहरूको प्रगाढ सम्बन्धको अगाडि निरुको बुबाले हार खाए । तीन महिनापछि मीन र निरुले दुवै परिवारको सहमतिमा परम्परागत बिहे गरे। मीन विभेद हटाउन अन्तरजातीय बिहे नै गर्नुपर्छ भन्ने मान्यता राख्दैनन्। तर यसो भन्दैमा प्रेम भएपछि जातकै कारण छोड्ने संकुचित धारणा पनि राख्न नहुने उनी बताउँछन्। ‘प्रेममा जात हुँदैन,’ उनी भन्छन्, ‘तर, हाम्रोजस्तो विभेदकारी समाजमा अन्तरजातीय जोडी सचेत हुनुपर्छ।’ मीनका छोरी र छोरा छन्। छोरी स्नातकोत्तर अध्ययन गर्दै छिन् भने छोरा सीए। वृद्ध अभिभावकको मन जितिसकेका मीनले आफ्नै दाजुभाइलाई भने अझै चित्त बुझाउन सकेका छैनन्। ‘कुसंस्कृति हटाउन चेतना चाहिन्छ, शिक्षा या पुस्ता परिवर्तन भएर मात्र हुँदैन,’ उनी भन्छन्।कान्तिपुर बाट
No comments:
Post a Comment