रक्षाराम चमार ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ बाट सम्मानित

विभेद बिरुद्ध अभियान , ३२ श्रावण -  सामाजिक न्यायका क्षेत्रमा योगदान पुर्‍याएबापत सामाजिक अभियन्ता रक्षाराम चमार ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ बाट सम्मानित भएका छन् । दलित अधिकार र विभेदरहित समाज स्थापनाका निम्ति लडेका सुभाष दर्नालको स्मृतिमा स्थापना गरिएको पुरस्कारको राशि ५ लाख रुपैयाँ रहेको छ । दर्नालको मृत्यु पाँच वर्षअघि अमेरिकामा सडक दुर्घटनामा परी भएको थियो ।
कपिलवस्तुका चमार समतामूलक समाज स्थापनाका निम्ति सक्रिय अभियन्ता हुन् । दलित समुदायको बाहुल्य रहेको बासखोर गाउँमा स्कुल खोलेर चार वर्षसम्म नि:शुल्क सेवा गरेका चमार पछिल्ला वर्ष भने कानुनी लडाइँ मार्फत दलित अधिकारको क्षेत्रमा सक्रिय छन् । तराई मानवअधिकार रक्षक सञ्जालमा आबद्ध चमारले गृह जिल्लाबाट केही वर्ष पत्रकारिता पनि गरेका थिए । २०६५ सालमा उनकै अगुवाइमा दलितहरूमाथि ज्यालादारीमा भएको शोषणविरुद्ध जमिनदारविरुद्ध आन्दोलन चलेको थियो । चमारले कान्तिपुरसँग कुरा गर्दै भने, ‘परम्परागत तरिकाले भन्दा कानुनी लडाइँ मार्फत आन्दोलनलाई जारी राख्नेछु ।’
कार्यक्रममा इन्डियन काउन्सिल अफ सोसल साइन्स रिसर्चका अध्यक्ष सुकदेव थोराटले कानुनमा समान अधिकार लेखिँदैमा विभेदको अन्त्य नहुने बताए । उनले भने, ‘समाजको कथित उच्च जातिले आफ्नो वर्चस्व गुमाउन चाहँदैन । त्यसैले सामाजिक व्यवहार, प्रथा र परम्परा नबदलिएसम्म विभेद अन्त्य हुँदैन ।’
स्ट्यान्डफोर्ड युनिभर्सिटीका प्रोफेसर ल्यारी डाइमन्डले लोकतन्त्र र सामाजिक न्यायबीचको सम्बन्धलाई प्रस्ट्याउँदै सामाजिक न्यायबिना प्रजातन्त्र टिक्न नसक्ने बताए । उनले भने, ‘असमानता हुन्जेल दिगो आर्थिक विकास हुँदैन ।’ नेसनल इन्डोमेन्ट फर डेमाक्रेसीका संस्थापक अध्यक्ष कार्ल ग्रेसम्यानले भाषा र जातजातिले नेपाल विश्वकै बहुल राष्ट्र भएकाले यहाँ सामाजिक न्यायको अवधारणाको अभ्यास सफल भयो भने विश्वकै निम्ति उदाहरणीय हुने बताए । उनले भने, ‘प्रजातन्त्र भनेको चुनाव मात्रै होइन । सामाजिक न्याय भयो भने मात्रै त्यहाँ प्रजातन्त्रको सही अभ्यास हुन्छ ।’
सरिता परियार ट्रस्ट फन्ड र जागरण मिडिया सेन्टरको सहकार्यमा प्रदान गरिएको यो पहिलो अवार्ड हो । कार्यक्रममा माओवादी सांसद दुलारी हरिजनले सामाजिक न्यायको कुरा भए पनि दलितहरूले अहिलेसम्म त्यसको महसुस नगरेको बताइन् । उनले भनिन्, ‘चुनावका बेला सबैले दलितको मुद्दा उचाल्छन् र जितेपछि बिर्सन्छन् ।’

No comments:

Post a Comment