दलित माथि सामाजिक दुर्व्यव्हार हुँदा शिक्षित भनाउँदा तमासे

लेखक : बडका थारु / बेल्जियम
लेख साभार :नेपाल पलस
 
कोदालो र हँसिया हातमा थमाउँदै बाबाले भन्नु भो “ल बडका, यो कामीको आरनमा लिएर जा त  ।” बाबाको आदेश मान्नै पर्‍यो । कोदालो काँधमा बोकेर लुरु लुरु हिँडदै गाउँको एक छेउमा भएको माइला दाइ (कामी ) को आरनमा पुगें । मकै गोड्ने याम भएकोले थुप्रै मानिसहरु आएका रहेछन कुटो,कोदालो लिएर । मनमा लाग्यो – यति धेरै मुन्छे रहेछन । कतिखेर मेरो पालो आउने होला खै ? तै पनि भिडको एउटा कुनामा रहेको ढुङ्गा माथि थ्याच्र्याक्क बसें खुट्टा पसारेर । म पछि पनि मानिसहरु आउँदै रहे। कुना काप्चामा बस्दै गए । माइला दाई आरनको आगोमा पसिना पुछ्दै आफ्नो काममा निकै व्यस्त थिए । कुटो कोदालो रातो बनाएर ड्यामकी ड्याम हान्दै थिए बडेमानको घनले । 

लगभग २ घण्टाको कुराइ पछि मेरो पालो आउनै लाएको थियो । एक जना पछि मेरो पालो थियो । माइला दाईले (कामी ) टिकाराम भट्टराई बाजेको कोदालो समाए । उनले टिकाराम बाजेको कोदालो आगोमा तताए । कोदालो रातो न रातो भयो । गोलभेंडा जस्तो । त्यो कोदालोलाई एक दुई घन के हानेका थिए, यही बेला एउटा मानिस हतारिएर आयो हस्याङ फस्याङ गर्दै । ‘माइला दाई ल तिमी चुरामणी मास्टरको घर जानु पर्यो । छिटो हिँडिहाल्नु पर्यो ।’ त्यो मान्छेले माइलालाई उर्दी जारी गर्यो ।” ल ल आइ हालेँ । बाजेको यो कोदाली सकेर आइहाल्छु ” माइला दाइले बडेमानको घन कोदालीमा हान्दै भने ।
त्यो कोदालीको काम सकेर माइला दाई आरनबाट उठे । ‘मलाई मास्टरको घरमा बोलाका छन । म त्यहाँ हिँडें । तपाईंहरुको काम पछि गरौला ।’ माइला दाइले विनम्रपुर्वक भने । अब भने मेरो पालो भए पनि मैले केही बोल्न सकिन । तर माइला दाइको कुरा सुनेर एक जना टोपी लगाएका बुढा जंगिदै जुरुक्क उठेर कराए । “ए माइला मेरो कोदालोको काम गरेर मात्र हिडन पाउँछस । मेरो घरमा मकै गोडन मान्छे आका छन । कोदालो नभएर त्यसै बसेका छन । मेरो काम सक अनि मात्र जाला ” टोपी लाका बुढाले माइला दाइलाई धम्किको भाषामा थर्कायो । टोपी लाका बुढाले माइला दाइलाई रोक्न प्रयास गरे । तर ति बुढाको प्रयासलाई अरु मानिसहरुले सफल हुन दिएनन । अर्थात अरु मानिसहरुले माइलालाई जान दिनुपर्छ भनेर अड्डी कसे । माइलाकै पक्षमा बोले । माइला दाई हिंडे चुरामणी मास्टरको घर तिर ।
के भाको रहेछ भनेर आरनमा आउने अरु पनि माइलाको पछि पछि हिँडे । म पनि हिँडें उनिहरुकै पछि पछि । चुरामणी सरको घर पुग्दा त्यहाँ ठुलो मेला जस्तो देखियो । सरको फराकिलो आँगन भरी टनाटन मुन्छेहरु रहेछन । कोही पिँढीमा बसेका । कोही आँगनको भुइँमा बसेका । कोही उभिएका । अझ कोही कोही ठिटाहरु र केटाकेटी त बगैचाको कटहर र बेलाउतीका रुखमा समेत चढेका । झुन्डिएका । त्यहाँ चुरामणी सरसँग जम्काभेट भो मेरो । दुई हात जोडेर ‘नमस्कार सर’ भनेर अभिवादन टक्रयाएँ । सरले टाउको हल्लाएर जवाफ दिनु भो । केही बोल्नु भएन । सरकै घरमा त्यति धेरै मानिसको भिड देखेर खुल्दुली लाग्यो । सरसँग सोधीहालौ भनेर सोधें “हैन सर के को भिड हो यो ?”
“कचहरी हो के बडका । कमिनिले बाहुनको गाग्री छोइ के । त्यही बिषयमा छलफल हो ।” सरको छोटो जवाफ आयो । मनमा लाग्यो ‘जसले छुवाछुत हुनुहुँदैन भनेर विद्यार्थीलाई शिक्षा दिन्छ उसैले कमिनिले गाग्री छोइ भन्ने ? म आँगनको चारैतिर छपक्कै घेरिएर बसेका मानिसहरु तिर गएँ । त्यहाँ एक जना महिला सुँक्क सुँक्क गर्दै रोइरहेकी थिइन् । सरले भन्नुभको कमिनी महिला त्यही हो भनेर अडकल काटीरहनु परेन । उसको स्थिती हेर्दा उस माथि हातपात भएको सजिलै अनुमान लगाउन सकिनेथियो । उसको कपाल जिङरिङ्ग परेको थियो । कपडाहरु च्यातिएका थिए । उसका शरीर भरी धुलो टाँसिएको देखिन्थ्यो । त्यहाँ जम्मा भएका कुनै कुनै मानिसका हातमा लौरा पनि देखिन्थ्यो ।
यतिकैमा निधारमा तीन वटा धर्का भएको एक जना बुढाले भने “ल माइला के भन्छस तैले ? तेरी श्रीमतीले हाम्रो गाउँ समाजलाई अछुतो बनाइ । सानो जात भएर हाम्रो गाग्री छोइ यसले । यसलाई हामीले गाउँ निकाला गर्नुपर्छ ।” माइला विचारा एकदमै सोझो थियो । अनपढ पनि । “हजुरहरुले जे गर्नुहुन्छ त्यही मान्छु हजुर” भनेर माइलाले निर्णयको अधिकार त्यहिँकै पंचभलादमिको हातमा सुम्पिदियो । मेरी बुढीले गल्ती गरी हजुर । माफ गरी दिनोस ।” माइलाले दुई हात जोडेर क्षमा याचना गर्यो । तर त्यहाँ उपस्थित सानो र ठुलो जातपात मान्नेहरुले मानेनन । यो कालीलाइ गाउँबाट निकाल्नैपर्छ । हो हो निकाल्नै पर्छ । यसलाई हान ।पिट । लछार । मुन्ट्याउ भनेर कसै कसैले उक्साए । हुल फेरी उल्ट्यो माइला दम्पती माथि । चोखो भनाउँदो हुलको मुक्का र लात्ती माइला कामिको टाउका देखी खुट्टा सम्म बर्षियो । उनिहरुले काली कमिनीलाई लाछारे, पछारे । उसको चुल्ठो समातेर आँगनमा लडाईं दिए । कसैले लातीले हाने । कसैले लठ्ठिले । अनेक गाली गलौज गरे । काली विक भुइमा लडीरहेकी थिइन । सुँक्क सुँक्क रोइरहेकी थिइन । उसको शरीरमा अझै गाउँका चोखो भनाउंँदा मानिसहरुको लात र मुक्का परिरहेको थियो । यी सबै घटना चुरामणी शर्मा भन्ने स्थानिय स्कुलका हेड मास्टरको घरमै भैरहेको थियो । हेड मास्टर घरमै थिए । तर उनी कुनै प्रतिवाद नगरि तमासे बनेका थिए ।

No comments:

Post a Comment