पुस्तौदेखि नागरिकता विहीन -प्रतिमा परियार

गुमि–१ सुर्खेतकी ७० बर्षिय लालसरी मिजार नेपाली नागरिकता बनाउनका लागि बर्षौदेखि गाबिस कार्यालय धाइरहेकी छिन् ।भौगोलिक विकटका बाबजुद दिनानुदिन गाबिस कार्यालय धाईरहेपनि मिजारले नेपाली नागरिकको प्रमाण पत्र पाउन सकेकी छैनिन् । कारण, उनको परिवार पुस्तौदेखि नागरिकता विहीन हुनु । ‘न श्रीमानको नागरिकता छ, न त घरपरिवार कसैको,’ उनले भनिन्, ‘गाबिस सचिवले आफन्तको नागरिकता लिएर आउनुस भन्छन्, मैले कहा बाट ल्याउने ?’ आफुलाई यो उमेरमा नागरिकता बनाउनुपर्छ भन्ने महशुस भएपनि अघिल्लो पुस्ताले महशुस नगरिदिदा नागरिकता पाउन बाट बञ्चित भएको मिजारको भनाई छ । नागरिकता नहुँदा नै सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सबै सेवा सुबिधाहरु पाउन बाट बञ्चित छिन् उनी ।तीन पुस्ता सम्मको पनि
नागरिकता नहुँदा मिजारलाई नागरिकता दिलाउन समस्या भएको गाबिस कार्यालयले जनाएको छ । साथै कार्यालयले मिजारको परिवार अन्यत्र बाट बसाईसराई गरेर गुमि गाबिसमा आएको भएपनि बसाईसराई कागज नहुँदा सिफारिस गर्न कठिनाई रहेको जानकारी दिएको छ । मिजारको परिवार जाजरकोट बाट मैनतडामा बसाईसराई गरी हाल गुमि गाबिसमा बस्दै आएको छ ।
मिजार मात्र होइन् पुस्तौदेखि नागरिक नहुना, बसाइसराई कागज पत्र र जग्गा धनी प्रमाण पत्र नहुदा सुर्खेत स्थित सिमान्तकृत समुदायका अधिकांश नागरिकहरु नागरिकता विहीन छन् । लामो समय देखि सिमान्तकृत समुदायमा रहि नागरिकताका सवालमा काम गर्दै आएको नेपाल पीडित समुदाय संरक्षण केन्द्र सुर्खेतले जिल्लाका १५ गाबिसका गरी ६ हजार ७५ जना नागरिक नागरिकता विहीन रहेको जानकारी दिएको छ । संस्थाले जिल्लाका २० गाबिसहरुमा नागरिकता विहीन व्यक्तिहरुका लागि सहयोग परियोजना सञ्चालन गरिरहेको छ ।
श्रीमानले नागरिकता बनाउन सहयोग नगर्ने, माइती पक्षको नागरिकता नहुनु, सनाखत गर्ने आफन्त नहुँदा, आमाको नामको पृष्ठा बाबुको नाम नहुनु, नेपालमा जन्मिएपनि बाबु पत्ता नलाग्नु जस्ता थुप्रै कारणले नागरिकहरु नागरिकता पाउनबाट बञ्चित रहेको परियोजनाका संयोजक नारायण विकले जानकारी दिए । उनले सुर्खेत जिल्लाको हकमा ६० प्रतिशत सिमान्तकृत समुदायका महिलाहरुले श्रीमानको असहयोगका कारण नागरिकता बनाउन नसकिरहेको पाईएको बताए ।नागरिकता नपाउनेहरुको संख्या ६ हजार ७५ जना नागरिकता रहेकोमा ४ हजार ९ सय ८९ जनालाई केन्द्रले नागरिकता उपलब्ध गराएको छ । नागरिकता नपाएकालाई नागरिकता उपलब्ध गराउन, समुदायमा हेल्पडेष्क स्थापना र संचालन र समुदाय स्तरको बैठक, परामर्श जस्ता काम गर्ने गरेको परियोजनाका संयोजक विकले जानकारी दिए । वीरेन्द्रनगरमा सम्पन्न सिमान्तकृत समुदायका नागरिकता विहीन व्यक्तिहरुको सवाल बिषयक अन्तरक्रियामा सरोकारवालाहरुले नागरिकताका बिषयमा नीतिगत व्यवस्ता सहज भएतापनि व्यावहारिक रुपमा कठिनाई रहेको बताएका छन् । सिमान्तकृतहरुको नागरिकताको सवालमा राज्यले ध्यान नदिए समस्या ज्यूँका त्यूँ रहने उनीहरुको भनाई छ ।कार्यक्रममा एकिकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज सिता नेपालीले नागरिकताका सवालमा सबैभन्दा पहिला राजनीतिक दलहरु नै गम्भीर बन्नुपर्नेमा जोड दिइन् । चेतना अभाव र भौगोलिक विकटताका कारण पनि धेरै समुदायहरु नागरिकता विहीन रहेको भन्दै उनले यसतर्फ राजनीतिक दल लगायत सबैको ध्यान पुग्न जरुरी रहेको बताईन् ।साभार : जागरण मिडिया

No comments:

Post a Comment