दलित महिला लाई अन्तरास्ट्रिय स्वर्णिम पुरुस्कार


फायल तस्बिर

बुटवल, आश्विन ११ - कुनै बेला 'बोक्सी' आरोपमा सामाजिक बहिष्कारमा परेकी बुटवलकी एक दलित महिलाले उत्कृष्ट पुरस्कार पाएकी छन् । पशु तथा कृषि पालन गरेर आर्थिक परिवर्तनमा उत्कृष्टता कायम गरेको भन्दै बुटवल १५ जवई टोलकी पार्वती सुनारलाई उत्कृष्ट महिला स्वर्णिम पुरस्कार प्रदान गरिएको हो ।बुधबार 'हेफर' इन्टरनेसनलले आफ्नो १६ औं वाषिर्कोत्सवको अवसर पारेर उनलाई ७० हजारको उत्कृष्ट स्वर्णिम पुरस्कार र सम्मानपत्र प्रदान गर्‍यो । विभिन्न देशमा अगुवा १३ महिलालाई प्रदान गर्ने उक्त पुरस्कार सुनारले पाएकी हुन् । सुनार अहिले बाख्रा, बंगुर, कुखुरा पालन र तरकारी खेतीमा संलग्न छिन् । सुधारिएको चुलो बनाएर पनि दैनिक आम्दानी गर्छिन् । यसबाट वाषिर्क २ लाख बढी बचत गर्छिन् ।
आर्थिक अभावका कारण तिनाउ नदीमा गिट्टी फोरेर साँझबिहानको छाक जुटाउने पार्वतीको ५ वर्षअघि गौतम बुद्ध महिला समूहमा आबद्ध भएपछि सफलताका दिन सुरु भएका थिए । आर्थिक उपार्जनका लागि सहयोग गर्ने थाहा पाएपछि उनी हेफरद्वारा सञ्चालित सिद्वार्थ सामुदायिक विकास परियोजनाअन्तर्गत जवई स्वालम्बन समूहको सदस्य पनि बनिन् । यसपछि उसले दिएको दुई वटा बाख्राबाट व्यवसाय सुरु गरेकी उनले यसपछि विस्तारै कुखुरा र बंगुर पालनमा समेत हात हालिन् ।

समूहमार्फत कृषि तथा तरकारी तालिम पाएपछि उनले ४ कठ्ठामा व्यावसायिक तरकारी खेतीसमेत सुरु गरिन् । समूहबाट पाउने प्राविधिक सेवा र आफ्नो मेहनतको फल उनको कृषि र पशुपालनबाट फाइदा हुँदै जान थाल्यो । आफ्नै पौरखले पार्वतीले अहिले चिटिक्कको घर बनाएकी छन् । पतिलाई आफ्नै लगानीमा वैदेशिक रोजगारमा पठाएकी छन् । छोराछोरीलाई क्याम्पस पठाएकी छन् । महिला समूहमा आबद्ध उनको अगुवाइमा अहिले सामूहिक बेसार खेतीसमेत थालिएको छ । बचत रकमबाट बिनाधितो २५ हजार रुपैयाँ ऋण उपलब्ध गराएर गाउँका धेरै महिलालाई पनि व्यावसायिक कृषि तथा पशुपालनमा लाग्न सहयोग गरेकी छन् ।
विभिन्न कृषि तालिममा सहभागी भएकी पार्वती भन्छिन्, 'पल्लो गाउँका दिदीबहिनी, दाजुभाइ पनि कसरी कृषि व्यवसाय गरौं भनेर सोध्न आउनुहुन्छ ।'स्याङ्जाको शीर्षकोटमा विपन्न परिवारमा जन्मिएकी पार्वतीको विवाह बुटवलको सुकुम्बासी टोलका रामबहादुर विकसँग भएको थियो ।
- साभार -ekantipur

No comments:

Post a Comment