पुरानो इतिहास बोकेको नौबाजा लोपोन्मुख अवस्थामा


भक्तपुर , १ असोज-आधुनिक सङ्गीतको प्रभाव बढ्दै गएपछि काठमाडौँ उपत्यकाको नेवार समुदायमा बजाइने प्रचलित एवम् पाँच सय वर्ष पुरानो इतिहास बोकेको नौबाजा लोपोन्मुख अवस्थामा पुगेको छ । मल्लकालीन समयमा बनेका नौबाजा नेवार समुदायमा प्रत्येक चाडपर्व, दाफा भजन, पूर्णिमा, एकादशी, विभिन्न जात्रा, मेलालगायत पर्वमा नेवारी समुदायभित्र निकै बजाइने नौबाजाको आकर्षण घट्दै गएको छ ।  नौबाजाबाट पाइने फरक साङ्गीतिक धुनबाटै कुन चाडपर्व र मौसम हो भन्ने छुट्याउन सकिने भए पनि जात्रा तथा पर्वमै आधुनिक बाजा भित्रिएपछि साँस्कृतिक पहिचान र इतिहास बोकेको नौबाजाको अस्तित्व खतरामा पुगेको हो । 

एकातिर नौबाजा बजाउने जनशक्तिको अभाव र  आर्थिक समस्या तथा अर्कातिर आधुनिक बाजाले ठाउँ ओगट्दै आएपछि नौ बाजा जोखिममा परेको बाजा खलका पदाधिकारी बताउँछन् । नौबाजा नेवारी समुदायमा महत्वपूर्ण मानिने विशेष बाजा भएको संस्कृतकर्मी शम्भु मुनकर्मी बताउछन् । नौ बाजाअन्तर्गत नगरा, धिमा, लालखिङ, ढाँचा, पश्चिमा, ढोलक, कोत्ता र करखिङ पर्छन् । 

एक पटकको चाडमा सो बाजा बजाउन  तीन हजारदेखि ६० हजारसम्मको खर्च पर्ने नौबाजा खलले जनाएको छ । खलका अनुसार नेवारी समुदायका चाडपर्वमा विशेष भोजको आयोजनामा समेत यो बाजा बजाउने परम्परा  छ । आम्दानीको मुख्य स्रोत मानिने गुठी जग्गाबाट कुत उठाउन नसक्दा बाजा मर्मत गर्न समेत समस्या उत्पन्न भएकाले नौ बाजाअन्तर्गत महत्वपूर्ण बाजा जीर्ण अवस्थमा पुगेको बाजा खलका रघुनाथ कायस्थको गुनासो छ ।  
भक्तपुर नगर क्षेत्रभित्रका छ ठाउँमा यो बाजा बजाउने गरिएको भए पनि अहिले भने याछे, दत्तात्रय र टौमढीमा मात्रै यो बजाउने गरिएको खलले जनाएको छ ।बाजा धार्मिक आस्था र परम्परामा बाँधिएर बजाउनुपर्ने नियम छ । चाडपर्वअनुसार कुसुले (कपाली) जातिले बजाउने विशेष बाजा भएकाले यसलाई कुसुलेबाजा पनि भनिन्छ ।
बाजा बजाउने जनशक्ति नहुँदा एकै जनाले सबै ठाउँ भ्याउनुपर्ने र युवा पुस्ताले चासो नदिएपछि बाजा बजाउने काम बूढापाकामा  मात्र सीमित भएको  छ । युवा पुस्ताले सो बाजा सिक्न छाडेपछि बूढापाका संरक्षण गर्न निकै गाह्रो भएको बताउँछन् । हाल बाजा बजाउन नौजना मान्छेको उपस्थिति हुन समेत गाह्रो हुने गरेको छ ।

जति जना मान्छे जम्मा भए त्यतिले मात्र बाजा बजाउने गरिएको खलका कायस्थले बताए । परम्परागतरुपमा बाजा बजाउन अर्थअभाव हुँदा नौबाजा जोगाउन निकै कठिनाइ भएको गुनासो उनिहरुको छ । संस्कृतकर्मी मुनकर्मीका अनुसार नगरका धेरै ठाउँमा बजाइने नौबाजाका गुरुको अभाव र नयाँ पुस्तामा बाजा सिक्ने चाहनाको कमीले गर्दा बाजा जोगाउन गाह्रो भइरहेको छ ।

विशेष समयमा बजाइने बाजाको छुट्टै महत्व रहने गरेको बताउँदै उनले बाजा लोप हुन नदिन नयाँ पुस्तालाई सिकाउनुपर्नेमा जोड दिए । रासस

No comments:

Post a Comment