बाबुराम विकले गरे पत्नीसँगै दोस्रोपल्ट बिहे

सल्यान, आश्विन ६ - चार महिनासम्म घर नफर्किएपछि परिवारले मृत्युको शंकामा काजकिरिया गरे । पत्नीको चुरा फुटाइयो । सिउँदो पखालियो । र, उनले सेता लुगा लगाइन् । तर, मृत्यु भएको ठानिएका उनै व्यक्ति शुक्रबार टुप्लुक्क घर आइपुग्दा सबै चकित भए ।

अब के गर्ने ? तत्काल छिमेकी र आफन्तले बाजागाजासहित स्वागत गरे । र, भोलिपल्ट शनिबार पत्नीसँगै दोस्रोपल्ट बिहे गराइदिए । भारत उत्तराखण्डको गौरीकुण्डमा मजदुरी गर्न गएका भल्चौर-१ फारुलाका २७ वर्षे बाबुराम विक त्यहाँको बाढीपहिरोपछि बेपत्ता थिए । लामो समयपछि उनी घर र्फकंदा आफन्तमा खुसीको फरक माहोल थियो ।
बाजागाजाका साथ घर भित्र्याइएका उनलाई काजकिरिया गरिसकेका कारण आफन्तले स्थानीय शिव मन्दिरमा लगेर पत्नी नोखीसँगै पुनः विवाह गराइदिएका हुन् । पतिको 'बरखी बारेकी' नोखीले असारदेखि रातो कपडा, सिन्दूर, चुरा, पोते लाउन छाडेकी थिइन् । गौरीकुण्डको बाढीमा बेपत्ता उनलाई आफन्तले लामो समय खोजी गरेका थिए । 'नभेटिँदा माया मारिसकेका थियांै । एक्कासि घर फर्केपछि खुसीसँगै चकित परेका छौं,' पत्नी नोखीले भनिन् । गाविसमा उनको मृत्यु दर्तासमेत भइसकेको छ । बाढीमा परेर घाइते बाबुरामलाई बेहोस अवस्थामा सेनाको हेलिकप्टरले उद्धार गरेको थियो । 'त्यति बेला केही थाहा भएन, होसमा आउँदा कर्णपारक अस्पतालमा थिएँ,' उनले भने, 'पुनर्जन्म पाएको महसुस गरेको छु ।' धेरैजसो साथी मरेको देखेर आफूले बाँच्छु भनेर कल्पनासमेत नगरेको उनले बताए । 'उपचार क्रममा लामो समय अस्पतालमा बस्दा घरमा खबर गर्न सकिनँ,' उनले भने, 'ठीक भएपछि घर र्फकन अस्पतालले गाडी भाडाबापत २ हजार ५ सय रुपैयाँ पनि दियो ।' उनको शरीरका विभिन्न ठाउँमा चोट लागेका खत छन् । शारीरिक अवस्था अझै कमजोर रहेको उनले बताए । गौरीकुण्डमा घाइते भएका धेरै नेपालीले उक्त अस्पतालमा उपचार गराइरहेको उनको भनाइ छ । यहाँबाट मजदुरी गर्न गएकामध्ये ३१ जनाको मृत्यु र ४१ बेपत्ता भएका थिए । तीमध्ये भल्चौरका मात्र ८ जनाको मृत्यु भएको थियो । दर्जन बेपत्ता छन् ।
साभार कान्तिपुर

No comments:

Post a Comment