दलितलार्इ काठमाण्डौ कोठा पाउन गाह्रो !



६ असोज, काठमाण्डौ । विभिन्न पेसा व्यवसाय तथा रोजगारीको सिलसिलामा राजधानीमा बस्नुपरेका दलित समुदायले दलित भएकै कारण आफूहरुले कोठा नपाउँदा समस्या भएको गुनासो गरेका छन् । विगत एक वर्षदेखि कोठा खोज्दा अहिलेसम्म पनि पाउन नसकेको हाल बालाजु बस्दै आएका पाल्पा, छहराका राजन परियार बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मैले बालाजु क्षेत्रमा कोठा खोज्न थालेको एक वर्ष भयो, जहाँ गएर सोधे पनि पहिला कुन जातका हौ भनेर सोधिहाल्छन्, परियार हो भन्यो भने भएको कोठा पनि छैन भनेर भन्छन् ।” उपत्यका वरिपरि कोठा लिएर बस्ने अधिकांश दलितले आफ्नो जात ढाँटेर बस्ने र पछि घरबेटीले दलित भन्ने थाहा पाएपछि कोठा छोड्न दबाब दिने गरेको पाइन्छ । अनामनगरमा विगत तीन वर्षदेखि जात ढाँटेर बसेका शिशिष विश्वकर्मा भन्नुहुन्छ, “जात
बतायो भने त कोठा नै पाइँदैन, त्यसैले म अहिले बसिरहेको घरमा क्षेत्री हुँ, भनी जात ढाँटेर बसेको छु, मेरो जात थाहा पायो भने त घरबेटीले आजै कोठाबाट निकालिदिन्छन् ।” यसैगरी गुल्मी रिडी घर भई हाल बुद्धनगर बस्ने सन्दिप मिजार पनि दलित भएकै कारण विगत दुई वर्षदेखि कोठा नपाएर अहिले आफन्तको एउटै कोठामा गुजारा चलाएर बस्नुभएको छ । उहाँ, पहिलो कुरा त दलितभित्रको मिजार जातिको हुँ भन्नेवित्तिकै कोठा नै नपाउने र यदि पाइयो भने पनि धारा छोइयो, पानी छोइयो भन्ने र यतिसम्म कि गैरदलित घरबेटीहरु त मान्छे पनि छोइन्छ कि भनेर तर्केर हिँड्ने गरेको बताउनुहुन्छ । मेरो गाउँमा त छुवाछूत पहिलेदेखि नै थियो र अहिले पनि छ उहाँले भन्नुभयो, “पहिलेपहिले पानी छोइयो वा पानीका भाँडा छोइयो भने सुनपानी छर्केर राख्ने गर्थे, अहिले पानी वा चुल्हो छोइएको निहँुमा दलितहरुको ज्यानसमेत गएको छ, दलित बस्ती विस्थापित भएका छन् यसका बारेमा राज्यलाई कुनै चासो छैन ।” जागरण मिडिया सेन्टरका महासचिव दीपक परियारले आजको २१ औँ शताब्दिमा समेत मान्छेले मान्छेलाई जातीय आधारमा विभेद गरी बस्नका लागि कोठा भाडामा समेत नदिनु दुःखको कुरा भएको बताउँदै यो समस्या राज्यसँग पनि जोडिएको हुँदा राज्यले नै जिम्मेवारीका साथ समाधान गर्नुपर्नेमा जोड दिनुभयो । समता फाउण्डेसनका अध्यक्ष पद्म सुन्दासले जातीय भेदभाव तथा छुवाछूत गर्ने जो कोहीलाई पनि राज्यले जातीय भेदभाव तथा छुवाछूत (सुर र सजाय) ऐन, २०६८ अनुसार कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो । साभार-रासस

No comments:

Post a Comment