हलिया मुक्त भयौं भन्नुको के हर्ष रह्यो र ?

धनगढी, १८ भदौ- फाट्नै लागेका लुगा सुकिला देखिने गरी धोइओरी चिटिक्क परेका २१ वर्षीय राजुराम सार्की बिहानैदेखि फ¥याकफुरुक गर्दैछन् । गाउँमा नौला मान्छेको चहलपहल बढेको छ । छेवैमा बग्ने चौधरा नदीको कलकल मानिसहरूको कल्याङमल्याङले सुस्त भएको छ । धुलो उडाउँदै आएका केही गाडी र मोटरसाइकल दैजी गाविसको वडा नम्बर– ४, बैतडामा पुगेपछि रोकिए ।झन्डै १ वर्षको दौडधुप, गैरसरकारी संस्थाहरूको अनुदान र स्थानीय बैतडा टोलका २१ सार्की परिवारको श्रमदानबाट तयार भएको सुदूरपश्चिम छाला प्रशोधन केन्द्रको उद्घाटन यस्तै रमाइलो वातावरणबीच भयो ।
पश्चिम तराई भू–परिधि आयोजनाको ८ लाख रुपैयाँ नगद र प्राविधिक सहयोगमा ०६७ सालमा छाला प्रशोधन केन्द्र
स्थापना भएपछि यस कामको अगुवाइ गरिरहेका राजुराम सार्कीले त्यसमा मेसिन अपरेटरको जागिर पाए ।घरको कराँसैमा खुलेको छाला प्रशोधन उद्योगमा जागिर पाएपछि राजुराम दत्तचित्त भएर आफ्नो काममा लागे । कक्षा १२ को परीक्षा दिएर नतिजा कुरिरहेका उनले गाउँमै पहिलोपटक एसएलसी पास गरेकी दुलही बिहे गरेर भित्र्याए । पुस्तौंदेखि अर्काको घरमा हलिया बस्दै आएका गरिब परिवारका राजुराम परिवर्तित पुस्तान्तरको कोसेढुंगा बने ।
सरकारले हलियामुक्त घोषणा गरे पनि बैतडाका २१ परिवार सार्कीलाई यसबारेमा खासै जानकारी छैन । “हाम्रो त लगत पनि कसैले लिएका छैनन् । मुक्त भएको पनि कसरी पत्याउने ?” ३८ वर्षका कले भुल भन्छन्, “न नाममा जग्गा छ न त काम गर्न रोजगारी नै, मुक्त भयौं भन्नुको के हर्ष रह्यो र ?”
पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई दक्षिणमा छोडेर समादैजीबाट चौधरा नदीको खोंच पछ्याउँदै उत्तर लागेपछि टाढाबाट हेर्दा रमाइलो देखिने बस्तीमा दुःखको भण्डार छ । ०४४ सालतिर बैतडीको श्रीकोट र गुरुखोला गाविसबाट जमिनदार मालिकहरूसँग तराई झरेका उनीहरूको पहिलो पुस्तामध्येका कोही पनि जीवित छैनन् । पुर्खाको बिँडो थाम्दै उनीहरूले ०६५ सालसम्म जमिनदारकै हलो जोते । सरकारले मुक्त घोषणा गरेपछि कसैकोमा हलो जोत्न जानुपरेको त छैन तर दुःखको पहाड भने घट्नुको सट्टा बढेको छ ।
छाला प्रशोधन कारखाना खुलेपछि टोलका सबै परिवारले काम पाउने र त्यसबाट जीवनस्तरमा सुधार आउने अपेक्षा पाले । उनीहरूले पुख्र्यौली पेसाका रूपमा अंगालेको सो कामबाट आधुनिक प्रविधिको सहयोगले बजारको मागअनुसार उत्पादन बढाए । गाउँ–गाउँमा गएर छाला संकलन गरी कारखानामा ल्याएर उनीहरूले प्रशोधन गर्न थाले । “सबै परिवारले त्यसबाट राम्रो आम्दानी गर्न थालेपछि दुःखका दिन सकिएको अनुभव गर्न थाल्यौं,” मेसिन अपरेटर सार्कीले भने, “जीवन धान्नका लागि चाहिने न्यूनतम खर्च हामीले गाउँमै खुलेको नयाँ उद्योगबाट जुटाउन सक्ने भयौं, गाउँका केटाकेटी स्कुल जान थाले, बिरामीले बेलैमा उपचार पाए र चाडवाड बिखर्ची भएर कसैको बितेन ।”
झलमल्ल घाम लागेको चहकिलो असारको मध्याह्नमा बस्तीको पूर्वतर्फ बगिरहेको चौधरा नदी रौद्र रूप लिएर उर्लिंदै आयो । चुरे क्षेत्रमा बिहानैदेखि परेको मुसलधारे पानीले सहायक नदीहरूमा भेल बढेपछि आफ्नो सीमा, बगर र बाटो विस्तार गर्दै कयौं बिघा जमिन छिनभरमै डुबाएर चौधरा नदी अघि बढ्यो । केही महिनाअघि मात्र बैतडामा स्थापित सार्कीहरूको पुख्र्याैली पेसामा आधारित छाला प्रशोधन केन्द्रलाई पनि सो बाढीले आफूसँगै बगाएर लग्यो ।
“झलमल्ल घाम लागेको बेलामा बाढी आयो, उद्धार गरिदिनोस् भनेर हामीले रेडक्रसलाई फोन ग¥यौं,” ३ वर्षअघिको त्यो दिन सम्झदै राजुराम सार्की भन्छन्, “यस्तो सफा अकास भएको बेलामा पनि कसरी बाढी आउँछ भन्दै कसैले विश्वास गरेनन्, हेर्दाहेर्दै कारखाना बग्यो, छेउका ३ वटा घर पनि बगे, कयौं बिघा जमिन बगरमा परिणत भयो ।”
त्यस वर्षको बाढीले कैले भुल, धर्मे भुल र दानी भुलका ३ वटा घर बगायो । यस वर्ष सोही नदीमा आएको बाढीले मुक्तहलियाका थप ५ वटा घर बगाएको छ । “आम्दानीको स्थायी स्रोत तथा पुख्र्याैली पेसामा आधारित उद्योग नदीले बगाएपछि आर्थिक उपार्जनको बाटो बन्द भएको छ,” स्थानीय रनुवा भुलले भने, “त्यसपछि गाउँका सबै किशोर र युवा कामको खोजीमा भारत पलायन भएका छन् ।” गाउँमा एसएलसी पासको संख्या ३ मात्र छ भने ५ र ६ कक्षा पढ्दापढ्दै भारत जानेको संख्या २५ भन्दा बढी छ ।
केही महिनाअघि मात्र बिहे गरेर भित्र्याएकी श्रीमती र डाँडामाथिका जून भइसकेका बा–आमालाई छोडेर एकबिहानै राजुराम सार्की पनि भारतीय महानगर दिल्लीतर्फ हान्निए । स्नातक तह भर्ना भए पनि शुल्क तिर्न रकम नपुगेपछि उनी साँझ–बिहान के खाने भन्ने अवस्थामा परिवारलाई छोडेर पैसा कमाउन दिल्लीतर्फ लागेका थिए । तर, सबैको जीवनमा सोचेजस्तो कहाँ हुन्छ र ? १० ठाउँमा हन्डर खाएर उनी घरबाटै लगाएर लगेको लुगामा केही महिनापछि नेपाल फिरे ।
“स्नातक तेस्रो वर्षमा पुगेको छु,” उनले भने, “हलियाको छोराले यो तहमा पुग्नु गर्वकै कुरा हो तर मसँग साँझ–बिहान केले छाक टार्ने भन्ने समस्या यथावतै छ ।” बाढीले बगाएको छाला प्रशोधन केन्द्र पुनःस्थापना गर्नसके गाउँलेहरूसँगै आफ्नो जीविका पनि राम्रोसँग चल्ने थियो भन्ने उनलाई लागेको छ । “जसरी पनि हाम्रो गाउँमा छाला प्रशोधन केन्द्र स्थापना गर्न पहल गरिदिनुप¥यो,” गाउँमा पुग्ने हरेक नौलो मानिससँग उनी यस्तै आग्रह गर्छन् ।
साभार : -karobardaily

No comments:

Post a Comment