नेपालमा राणाकालीन युगमा दलितलाई मान्छेका रूपमा स्वीकारिँदैनथ्यो
Monday, September 16, 2013
टीआर विश्वकर्मा
दीर्घराज
कोइराला र पं.छवीलाल पोख्रेलका पहलमा हीरालाल तथा टीआर विश्वकर्माले
स्कुलमा गएर पढ्न पाएका थिए । तर उनीहरुले कक्षामा अरु कुनै विद्यार्थीलाई
छुन पाउँदैन थिए । उनीहरुले अलग्गै बसेर पढ्नु पथ्र्यो । उनीहरुले पानी
खाएको भाँडो माटोले माज्नु पथ्र्यो र त्यो भाँडो ओभाएपछि पनि चल्दैन थियो ।
अनि त्यो भाँडो राम्ररी सुकेपछि गैर दलितले त्यसलाई फेरी पखाल्नु पथ्र्यो र
मात्र त्यो चोखो मानिन्थ्यो ।
राणाकालीन
समयमा दलितले सामाजिक रुपमा कठोर यातना भोगेका थिए । कतिसम्म भने उनीहरुले
कसैको घर पस्ता कुटाइ खान्थे । किनभने त्यसपछि त्यो घर अछुत मानिन्थ्यो ।
दलितले परैबाट क्षेत्रीबाहुनलाई जदौ मुखिया भन्नु पथ्र्यो । यो रीत टीआर
विश्वकर्माले पनि भोगेका थिए ।
दलितले
त्यस बेला पढ्न पाउँदैन थिए । तर हीरालाल तथा टीआर विश्वकर्मा दाजुभाइले
कोइराला र पोख्रेलका संरक्षणमा पढ्न पाए । त्यति बेला दलितलाई अरु जातले
हीन गर्थे । अनि हीनबाट ग्रसित भएरै पनि टीआर विश्वकर्माले आफ्नो अध्ययनलाई
जारी राखे । उनले अनेक कष्ट खेपेर पनि कासीबाट साहित्यरत्न उत्तीर्ण गरे,
सोभियत रुसबाट पत्रकारितामा स्नातक गरे र उत्तर कोरियाबाट जुचे विचारधारा
पनि पढे । त्यसैले पनि उनी प्रायः बामपन्थी विचारमा लागिरहे । तर उनी आफ्नो
जीवनको पछिल्लो चरणमा प्रजातान्त्रिक परिवेशमा जागरुक भएका थिए ।
तुलाराम
विश्वकर्मा अर्थात् टीआर विश्वकर्माको जन्म १९९० सालको वैशाख पूणिर्मामा
सुनसरीको धरानमा भएको थियो । उनका बुबा मकरध्वज र आमा पदमकुमारीका चार जना
छोरामध्ये साहिँला हीरालाल विश्वकर्मा र कान्छा टीआर विश्वकर्मा राजनीतिमा
लागे । यी दुईभाइले राजनीतिमा नाउँ कमाए तापनि टीआर विश्वकर्माको
प्रारम्भिक जीवन अत्यन्तै कठ्याङ्ग्रिएर बामे सरेको थियो ।
टीआरकी
आमा दाउरा खोज्न जाँदा टीआर विश्वकर्मा जङ्गलमा नै जन्मेका थिए । उनी सात
महिनामा जन्मेकाले सबैले उनलाई तुहिएको भनेर बाल्यकालदेखि नै हेला गरे ।
बाल्यकालमा उनले आमाबुबाका अगाडि पनि अनाथतुल्य जीवन भुक्तान गरिरहे । टीआर
बाँच्ता यिनको ग्रहले अरू मर्छन् भनेर घर परिबारबाटै यिनलाई सास्ती दिने
काम मात्रै भइरहृयो । वास्तवमा यी परिवारबृत्तमा नै घाँडो थिए । त्यसैले
यिनलाई आवश्यकीय भोजन पनि गराउँदैनथ्यो । आफ्ना आमा बुबाबाट यिनलाई सकेसम्म
जाँडरक्सी खुवाउने, जाडोमा नाङ्गै राख्ने, गर्मीमा बाक्ला लुगा लगाई दिने
गरिन्थ्यो । घरपरिवारैले यिनलाई जति नै निचोर्दा पनि यी बाँचे तर ख्याउँटे,
दुब्लो र पिलनधरेका रूपमा उनले बाल्यकाल काटे ।
टीआरको
शरीर दुब्लो, पातलो र चाउरे भए तापनि उनी मनभित्र फलामझैँ बलिया भइसकेका
थिए । त्यसैले उनी किशोरावस्थामा नै राजनीतिमा लागे । शोषक र सामन्तिको गला
समात्ने काममा पनि उनी अग्रसर हुन थाले । साथसाथै उनी समाजसेवामा पनि लागे
। धरानको पिण्डेश्वर पुस्तकालय निर्माणका लागि ढुङ्गा बोक्ने काममा होस या
विवारिसे लासहरूको सतगत गर्ने काममा होस् अनि गरीब र दलित विद्यार्थी
पढाउने काममा होस उनी एकनासले सेवामा अग्रसर थिए ।
टीआरले
झन्नै तीस वर्षभइन्जेलसम्म पारिवारिक र सामाजिक दुक्ख पाइरहे । उनी
मिर्ठाईदेवीसँगको प्रेममा बाँधिएपछि उनको मन केही सङ्लो भएको थियो ।
त्यसपछि चाहिं उनले आफ्नी प्रेमिकालाई आफ्नो जीन्दगानी खुटैखुट भन्ने अवसर
पाएका थिए । २०२० सालमा टीआर र मीठाइदेवी कपालीको प्रेम विवाह पनि भयो ।
उनीहरूबाट प्रेरणा, कसमस र विम्झना जन्मे । दुबै जना राजनीतिक प्राणी
भएकाले उनीहरुको साँठगाँठ पनि अति राम्रो थियो ।
नेपालमा
राणाकालीन युगमा दलित (कामी, दमाई, सार्की, पोडे, कसाइँ आदि)लाई मान्छेका
रूपमा स्वीकारिँदैनथ्यो । यिनीहरूले देवीदेउता पनि मान्न पाउँदैन थिए,
राम्रो घर पनि बनाउँन पाउँदै थिए र बाहुला भएका लुगा पनि लाउन पाउँदैन थिए ।
साथै सुनचाँदीका गरगहना लगाउन पनि यिनीहरूलाई निषेध गरिएको थियो । कतिसम्म
भने दलितले त्यस बखत आफ्नो लुगामा स्त्री लगाउन पाइँदैन थिए । त्यो रीत
टीआरका पर्ूखाहरूले पनि भोगेका थिए । सात सालपछि समेत वीर अस्पतालमा
दलितलाई औषधोपचारका लागि भर्ना गरिँदा पनि भरेङमुनि राखिन्थ्यो । त्यसैले
टीआर यो अन्यायको कालो जालोलाई डडाउने काममा लागे । अनि उनी भारतका
अम्बेडकरको मानवतावादी नीतिको अनुयायी भएर लागे ।
२००९
सालदेखि टीआर नेपाल कम्युनिष्ट पाटीमा लागे । त्यति बेला उनी सुनसरीका
सचिव पनि भए । उनी २०२१ सालसम्म वामपन्थी विचारधाराको प्रचारप्रसारमा नै
समर्पित थिए । राजा महेन्द्रद्वारा मुलुकी ऐन जारी गरेपछि उनी क्रमशः
राजसंस्थाको वकालतमा पनि लागे । किनभने त्यस मुलुकी ऐनले दलितहरूलाई समान
नागरिकको कानुनी मान्यता प्रदान गरेको थियो । टीआर विश्वकर्मालाई आफ्नो
निष्ठाका कारण राजाबाट राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत गरिएको थियो ।
टीआर
साहित्यकारको रूपमा पनि परिचित भए । उनका तीनवटा कवितासङ्ग्रह प्रकाशित
भएः बाँच्ने ठूलो, माटो र मुटु र युगीन संचेतनाका स्वरहरू । उनी समकालीन
पुस्ताका प्रतिनिधि कविका रूपमा स्थापित मानिए । उनले निबन्ध, प्रबन्ध, कथा
र समालोचना लेखे । उनले धेरै वर्षपत्रिका पनि चलाए । उनले नेपाल
कम्युनिष्ट पार्टी नवयुगदेखि राजावादीबाट परिचित प्रेरणासम्मका पत्रिकामा
आफूलाई पत्रकार भनेर चिनाए । उनले शिक्षण सेवा पनि गरे ।
मानवअधिकारवादी, अन्तर्ट्रिय दलित नेता विश्वकर्मा राष्ट्रिय र
अन्तराष्ट्रिय पुरस्कारहरुबाट पुरस्कृत भए ।
टीआर
विश्वकर्माको नेपाल दलित जनविकास परिषद्को स्थापना, सञ्चालन र नेतृत्वमा
महत्वपूर्ण योगदान थियो । उनी सदैव दलितकै हीतका लागि जागरुक भैरहे । उनी
एउटा हिम्मती, निर्भीक र स्वाभिमानले भरिएका योद्धा थिए । उनी खुलस्त
विचारका लखपति थिए र इमान्दार पनि त्यस्तै थिए ।
विश्वकर्मा
राजनीति, साजसेवा र पत्रकारितामा सक्रिय हुँदाहुँदै थला परे । ब्लडप्रेर,
अल्सर, सुगरले सताइएका विश्वकर्माको उपचारकै क्रममा हृदयगति बन्द भयो ।
२०४७ भदौ ४ गते भारतको नयाँ दिल्लीस्थित जयप्रसाद नारायण अस्पतालमा टीआर
विश्वकर्माको स्वर्गारोहण भयो ।
एक दशक अघि सिक्ने क्रममा सुरु भएको थियो मेरो ब्लग यात्रा ।एकोहोरो शैलीमा देश, समाज र व्यक्तिहरूबारे मन लाग्दो लेख्दै टास्दै आए ।सुरुवाती दिनमा त्यति साह्रो गम्भीरता र जिम्मेवारी बोध गरेर लेखिएन फेरी पनि बुद्धिले जति भ्यायो, जे मन लाग्यो उही लेख्दै आइयो । लेखाइमा उन्मुक्त र निर्धक्क उडियो । तर जब आफ्नै दाजुभाई दिदीबहिनी जातका कारण यत्रतत्र पिडित भएको देखे सुने पढे अनि त्यहि पीडाको, पिडितको लहरमा एकाकार भएर जाने बुझेको लेख्न थाले।
दलित समुदायको पिडा ,खुसि देखि आन्दोलन सँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली दलित समुदायको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। दलित समुदायले भोग्नु परेका सामाजिक समस्या, उत्पीडन , ज्यादतीको बिरुद्दमा , विभेदको बिरुद्दमा आफुलाई मिसाउने सानो प्रयास हो ।दशक देखि मेरो ब्लगिङमा प्रत्यक्ष-परोक्ष साथ दिने अनि आलोचना र विरोधको स्वर उरालेर कुतकुत्याउने सबैलाई आभार !
गोपाल परियार शिवा
RECENTS-POSTS
1/random/post-list
NEWSLETTER
Get All The Latest Updates Delivered Straight Into Your Inbox For Free!
No comments:
Post a Comment