दलित समुदाय कृषि, सङ्गीत तथा मनोरञ्जन, सफाइ सेवा र शिल्पकारीजस्ता काममा संलग्न छन् । दलितभित्रको विभिन्न जाति अन्तर्गत कामी, सुनार, टमाटाले क्रमशः फलाम, सुन र तामाको काम, सार्कीले जुत्ता वा छालासम्बन्धी काम र दमाई, ढोली तथा हुड्केले लुगा सिउने र बाजा बजाउने काम गर्दछन् । त्यस्तै गाइनेले गीत गाउने काम, बादीले मादल लगायत बाजा बनाउने र नाच्ने काम, नेवार समुदायभित्रका च्यामे र पोडेले सरसफाइ गर्ने, कसाइले मासु काटी बेच्ने, कुसुलेले कपडा सिउने र बाजा बजाउने काम गर्छन् । यिनै परम्परागत पेसाका आधारमा दलितहरूको पहिचान समाजमा स्थापित छ । सामाजिक सेवामा प्रतिबद्ध दलितलाई जात र पेसाकै आधारमा हेला गर्ने र होच्याउने परम्परा बस्दै गयो । अधिकांश दलितका थर गोत्र उच्च जातकै थर गोत्रसँग मिल्छन् । दलितहरूको थर गोत्र उही भए पनि दलितहरूलाई आˆनै जात -सार्की, कामी, दमै, गाइने, च्यामे, पोडे) भन्नुपर्ने र लेख्नुपर्ने बाध्यता थियो र अझै पनि छ । थर र गोत्रका आधारमा दलितको पहिचानलाई समाजले सजिलै पचाउन सक्ने अवस्था आउन सकेको छैन ।
दलित देखिँदा र भेट हुँदा अशुभ हुन्छ भन्ने विश्वासलाई समाजले अझै बोकेर हिंडिरहेको छ । तथाकथित उच्च जातका व्यक्तिले केही बदमासी र नराम्रो काम गरेको पाइएमा कस्तो 'दमै कामी जस्तो' भनी गाली गर्ने चलन अझै पनि समाजमा कायमै छ । राम्रो रूप, स्वभाव, गुण र चरित्र खाली दलितबाहेक अन्य जातिमा मात्र हुन्छ भन्ने सोच पुरातनवादी परम्परा संस्थागत भइसकेको छ । राम्रो रूप, गुण, शिक्षा र स्वभाव दलितमा पनि हुन्छ भन्ने सोच अवैज्ञानिक मूल्य मान्यतामा हुर्केकाहरूमा पाइँदैन । जातकै कारण अपमानित हुनुपर्ने हुनाले सरकारी तथा गैरसरकारी सेवामा कार्यरत अधिकृत स्तरका थुप्रै दलित कर्मचारी, दलित समुदायका डाक्टर, इन्जिनियर, शिक्षक, विशेषज्ञ सार्वजनिक रूपमा चिनिएका छैनन् । समाज र देश विकासमा दख्खल पुर्याइरहेका थुप्रै दलितले जात ढाँटेका र आˆनो समुदायबाट अलग्गै रहेको स्थिति छ । अझ भन्नुपर्दा दलितभित्र पनि सार्की समुदायमा यस्तो बढी देखिन्छ । यस्तो किन भइरहेको छ भनी बुझ्दा सार्की, कामी, दमै भनी आफूलाई सार्वजनिक गराउँदा उल्टै अपमानित हुनुपर्ने, डेरा नपाउने साथै कुटाइसमेत खानुपर्ने अवस्था आइपर्ने हुनाले रहेछ ।
नेपालमा छुवाछूतविरोधी आन्दोलनको सुरुवात भएपछि दलितलाई छुट्टै पहिचान हुनेगरी चिनाउन पर्यायवाची शब्दको खोजी हुन थाल्यो । पञ्चायतकालमा हीरालाल विश्वकर्माले समाजमा अपमानित रूपमा स्थापित कामीको सट्टामा विश्वकर्मा लेख्न सुरु गरेका थिए । त्यसपछि 'कामी'हरूले 'विश्वकर्मा'लाई आˆनो जातको रूपमा चिनाउन थाले । त्यस्तै 'दमै'हरूले 'परियार' र 'सार्की'हरूले 'मिजार' भनी आˆनो जातको पहिचान दिन थाले । अहिले 'दमै'लाई 'परियार' र 'कामी'लाई 'विश्वकर्मा' भनी सबैले बुझेका छन् । राष्ट्रिय दलित आयोगले पनि 'दमै'लाई 'परियार' र 'कामी'लाई 'विश्वकर्मा' भनी प्रमुख महत्त्वका साथ दलित जातीय अनुसूचीभित्र समेटिसकेको छ । 'सार्की' समुदायले आफूलाई चिनाउँदै आएको 'मिजार'लाई प्रमुख महत्त्व नदिई पर्यायवाचीका रूपमा मात्र यसलाई कोष्ठभित्र राखिएको छ । पर्यायवाची शब्दले एउटै अर्थ दिए तापनि कुन शब्दले परिचय गराउँदा आफूलाई गर्वको अनुभूति हुन्छ भन्ने विषय प्रमुख हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको "मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन" भन्ने भनाइलाई हामीले आत्मसात् गर्नैपर्छ । तापनि, दलितलाई अझै सयौं वर्ष अपमानित बनाइराख्ने छाप सामन्ती वर्ण व्यवस्थाले समाजमा छोडिदिएकाले शिक्षित, महान दलित हुँदाहुँदै र नेतृत्व तहमा समेत उनीहरू पुग्दा पनि अपमानित हुनु परिरहेको छ । जसका कारण पुरानो समाजले तुच्छ बनाएर पहिराइदिएको पहिचान 'कामी, दमै र सार्की'को सट्टा 'विश्वकर्मा, परियार र मिजार' भनी दलितले आˆनो जातीय पहिचान दिन थालेका हुन् ।
'विश्वकर्मा' र 'परियार' दलित जातिको रूपमा स्थापित भइसकेपछि 'कामी, दमैजस्तो' भनी हेप्ने चलन कम हुँदै गएको छ भनी सो समुदायका व्यक्तिहरूले भन्दै आएका छन् । 'कामी, दमैजस्तो' भन्ने ठाउँमा 'विश्वकर्मा परियारजस्तो' भनी सार्वजनिक अपमान गर्ने गरिएको पाइँदैन । यसलाई केही हदसम्म भए पनि सकारात्मक नै मान्नुपर्छ । सामन्तहरूले दलितलाई दबाउन, हेप्न, रगत पसिना चुसेर मोज गर्न, पशुभन्दा तल राख्न, मानव अधिकारको धज्जी उडाउन प्रदान गरिएका यस्ता जातीय नामकरणलाई स्वीकार्नु दलित मुक्तिको सवालमा सान्दर्भिक छैन । सामन्तवादी अवशेषलाई निमिट्यान्न पार्न तुरुन्त सम्भव नभएकाले दलित मुक्तिका खातिर पैरवी गर्ने क्रममा कुशासकहरूले रचेका अन्याय, अत्याचारका करतुतलाई प्रमाणका रूपमा पेस गर्नका लागि विश्वकर्मा, परियारलाई प्रमुख महत्व दिएर कामी र दमैलाई पर्यायवाची शब्दको रूपमा अगाडि ल्याइएको हो भन्नु तर्कसङ्गत हुनआउँछ । कामी र दमैलाई क्रमशः विश्वकर्मा र परियारको रूपमा जसरी परिचय र प्रचार प्रसार गराइएको छ, त्यसरी सार्कीलाई मिजारको रूपमा कमै मात्रामा प्रचार गराइएको पाइन्छ ।
राष्ट्रिय दलित आयोगले प्रकाशित गरेको सूचीमा मिजारको सट्टा सार्कीलाई नै प्रमुखता दिइएको छ । सार्कीलाई थप अर्थले बुझाउन कोष्ठभित्र मिजार, चर्मकार र भुल भनी प्रष्ट्याइएको छ । जसरी कामी र दमै भनी परिचय दिँदा हीनताबोध र अपमानको अनुभूति हुन्छ त्यस्तै सार्की भन्दा पनि त्यस समुदायले आफूलाई अपमान भएको महसुस गर्छन् भनी बुझ्नु गलत नहोला । सार्की समुदायका बहुसङ्ख्यक सदस्यले आफूलाई सार्कीको सट्टा मिजार नै भन्न रुचाउँछन् । दलित समुदायभित्रका विभिन्न जातिका सङ्गठनलाई नजिकबाट हेर्दा सार्कीहरू साङ्गठनिक हिसाबले धेरै पछाडि परेका छन् । कुनै कुनै ठाउँमा बाहेक धेरै ठाउँमा सार्कीको मजबुत सङ्गठन देख्न सकिदैन । बितिसकेका गोल्चे सार्कीले देशभरिका सार्कीलाई संगठित पार्ने प्रयासको थालनी गरेका थिए । हाल आएर नेतृत्वको अभावमा त्यसबेला निर्माण गरिएको सङ्गठन त्यति सक्रिय हुन सकेको छैन । गोल्छे सार्कीले सुरुवात गरेको सङ्गठनको बेलामा 'सार्की'को सट्टा 'मिजार'लाई सशक्त रूपमा स्थापित र परिचित गराउनुपर्छ भन्ने बहस चलेको थियो । त्यसपछि यस विषयमा घनीभूत छलफल र बहस चलाउने दिशातर्फ सार्कीहरूको सङ्गठन समयसापेक्ष अघि बढ्न सकेन ।
'मिजार' शब्दले दलितभित्रको 'सार्की' समुदायलाई जनाउँछ भन्ने विषयमा ठूलो विवाद र विमति नभएकाले पनि धेरै बहस नचलेको हुनसक्छ । किनकि दलित आयोगले तयार पारेको सूचीभित्र मिजारलाई सार्की जाति बुझाउने पर्यायवाची शब्दका रूपमा उल्लेख गरिएको छ । त्यस्तै नेपालका सार्की समुदायले आफूलाई 'मिजार' भनी लेख्न थालेको र परिचय दिन थालेको धेरै वर्ष भइसक्यो । विगतमा सार्की समुदायका कतिपय शिक्षित व्यक्तिहरूले बाध्यतावश नागरिकता र थर खुलाउनुपर्ने अन्य प्रमाणपत्रमा सार्की नै लेखेको पाइन्छ, केहीले चर्मकार भनी लेखेका छन् । प्रायजसोले मिजार भनी लेखेको भेटिन्छ । 'कामी'को सट्टामा 'विश्वकर्मा' र 'दमै'को सट्टा 'परियार' लेखेजस्तै 'सार्की'को सट्टा 'मिजार' लेख्ने चलन विगतमा बढी नै थियो । अहिले सार्कीमा कम हँुदै गएको छ । युवापिंढीले सार्की वा मिजार नलेखी आफ्नै थर लेख्न थालिसकेका छन् ।
विश्वकर्मा र परियार जस्तै मिजार शब्दको सबैले बुझ्ने गरी प्रचारप्रसार भने कमै भएको छ— मिजारलाई पनि त्यही रूपमा स्थापित र परिचित गराउन आवश्यक छ । शाब्दिक रूपमा 'मिजार' शब्दको उत्पत्ति 'मिजास' बाट भएको बुझिन्छ । नेपालमा शाहवंशको उदय हुनुभन्दा अगाडिका शासकहरूका जुत्ता तयार गरिदिने, इमानदार र कर्तव्यनिष्ठ भई काम गर्ने, 'मिजास'का साथ बोल्ने र व्यवहार गर्ने, शिष्ट, नम्र र भद्र, कुनै लपनछपन र छलकपट नभएको, अरूको सम्मान नगरी आफ्नो सम्मान हुन सक्दैन भन्ने आदर्शबाट अघिबढेको जाति वा समुदाय नै 'सार्की' जाति थियो र छ । पृथ्वीनारायण शाहलाई धार्ने सार्कीले लडाइँका लागि जुत्ता, पेटी बनाइदिएर नेपालको एकीकरणमा योगदान पुर्याएका थिए । यसको थप अध्ययन गर्न बाँकी छ । कर्तव्यनिष्ठ भई काम गर्दै जाने क्रममा शासकहरूको हेपाहा प्रवृत्ति र व्यवहार बढ्दै गएपछि आफूमाथि शोषण र विभेद गर्ने, दमन गर्नेविरुद्ध बुलन्द आवाज उठाउने, आफूमाथिको शोषण र दमनबाट सधैंं मुक्ति खोज्ने, आइलाग्नेमाथि जाइलाग्ने स्वभाव सार्कीमा भएकाले उनीहरूलाई वास्तवमा 'मिजास' बाट 'मिजार' भन्ने गरिएको हो ।
परापूर्वकालमा कुनै मतवाली वा वैश्य जातिको घरमा छोरीको विवाह हुँदा ब्राहृमण र सार्की/मिजारबीच श्लोक भन्ने प्रतिस्पर्धामा ब्राहृमण जातिलाई जितेको भन्ने किंवदन्ती पनि भएकाले 'मिजार' शब्दलाई केही हिन्दू शास्त्रमा सम्मानित ढङ्गले उल्लेख गरिएको कुरा सुन्नमा आएको छ । त्यस्तै 'मिजार' शब्दको शाब्दिक अर्थ राणा शासनसँग पनि जोडिएर आउने गरेको छ । राणा शासनको पालामा पनि सार्की जातिले जुत्ता राम्ररी सिलाएको, इमानदार र नम्र तथा शिष्ट व्यवहार गरेको कारणले सो जातिलाई 'मिजार' को रूपमा नै सम्मानित वा प्रशंसा गरेको वा उपाधि दिएको भन्ने दावी छ । शाब्दिक अर्थमा 'मिजार' भन्नाले विशुद्ध छालाको काम गर्ने, इमानदार र कर्तव्यनिष्ठ भई, मिहिनेत गरी राम्रो र बलियो जुत्ता सिलाउने श्रमजीवी सार्की समुदाय भन्ने बुझ्नुपर्दछ । तसर्थ सार्की समुदायलाई आत्मसम्मान र गौरवबोध गराउन र हीनताबोधबाट मुक्त गराउन मिजारको रूपमा नै परिचित र स्थापित गराउन अति आवश्यक छ । यस बारेमा नेपाल सरकार र राष्ट्रिय दलित आयोगको ध्यानाकर्षण होस् । दलित जातीको सूचिमा 'सार्की'को सट्टा 'मिजार' राखियोस् जसले गर्दा भावी सन्ततिले आधुनिक सभ्य समाजमा सम्मानपूर्वक बाँच्न पाउन् ।
No comments:
Post a Comment