जातीय विभेद गरेको आरोपमा प्रधानाध्यापकविरुद्ध उजुरी

दार्चुला । ०७३ जेठ २७ गते, विभेद बिरुद अभियान - सरस्वती उमावि उकुका विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष मदनराम लुहारले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको बेलादेखि नै आफूमाथि जातीय विभेद गरेको आरोप लगाउँदै प्रधानाध्यापकविरुद्ध जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएका छन् ।दलित भएकै कारण आफूलाई विद्यालयको काममा सहभागी नगराई विभेद गराएको भन्दै उनले जेठ २६ गते प्रधानाध्यापक प्रेमसिह खत्रीविरुद्ध जिल्ला शिक्षा अधिकारी डा. बाबुराम ढुङ्गाना समक्ष उजुरी दिएका हुन् ।

विद्यालयको वार्षिक उर्त्सव समारोहको प्रमाणपत्रमा नाम राखेपनि दस्तखत नगराएर विद्यालयले आफूमाथि जातीय विभेद गरेको लुहारले आरोप लगाए । उनले भने-'दलित भएकै कारण मलाई बाइपास गरेर काम गरियो ।'उनले गुनासो गरे-'विद्यालयको प्रधानाध्यापकले नै दलितको दस्तखत गैरदलितको घरमा पुग्ने भन्दै दस्तखत गर्न दिएनन् ।'

अहिले नयाँ विद्यालय व्यवस्थापन समितिमा दलित अध्यक्ष हुने अवस्था आएपछि पटकपटक व्यवस्थापन समिति गठन प्रक्रियालाई सारिएको दलितहरूले आरोप लगाएका छन् ।जेठ ५ गते हुने भनिएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनलाई जेठ १२ गते सारिएको थियो । तर, समिति गठन सहयोग समितिका संयोजक स्रोत व्यक्ति हिरा चन्द, प्रधानाध्यापक प्रेमसिंह खाती र गाविस सचिव प्रेमसिंह खत्रीले जेठ ९ गते नै प्राविधिक कारण देखाउँदै निर्वाचन स्थगन गरेको अध्यक्षका उम्मेदवार रमेश लुहारले बताए ।

१ सय ३७ जना अभिभावकको दस्तखतलाई लत्याउँदै दलित भएकै कारण निर्वाचन स्थगन गराएको उनको आरोप छ । 'अहिले पनि दलित समुदायकै अध्यक्ष, सदस्य सबै जित्ने सम्भावना देखिएपछि निर्वाचन स्थगत गरिएको छ ।'-उनले भने ।माओवादी केन्द्र दार्चुलाकी सदस्य लक्ष्मी विकले विद्यालयमा पढ्ने धेरै दलितका छोराछोरी भएकाले गैरदलित अल्पसङ्ख्यकमा परेपछि व्यवस्थापन समिति गठन गर्न आनाकानी गरेको आरोप लगाइन् ।

जिल्ला शिक्षा अधिकारी डा. बाबुराम ढुङ्गानाले विद्यालयले विभेद गरे नगरेको बारेमा बुझेर कारबाही प्रक्रिया अगाडि बढाउने बताए । उनले भने-'यो भावनासँग गाँसिएको विषय हो । भावनामा चोट पुर्‍याएका कारण विभेद देखिएको छ । जानी बुझिकन प्रमाणपत्रमा दस्तखत गर्नबाट रोकिएको हो भने त्यो गलत गरिएको छ ।'

No comments:

Post a Comment