कालोमोसो दल्ने तीन दलित महिलाहरु धरौटीमा रीहा

असार ४, बैतडी । गएको जेठ २३ गते जिल्ला अस्पताल बैतडीका प्रमुख डा. गुणराज अवस्थीलाई कार्यालय परिसरमै कालोमोसो दल्ने तिन जना दलित महिलाहरु १३ दिनपछि असार ३ गते धरौटीमा रीहा भएका छन् ।१३ दिन प्रहरीको हिरासतमा रहेका ति महिलाहरु जिल्ला प्रशासनमा लिईएको बयानपछि सरकारी वकीलको रहोबरमा प्रति व्यक्ति १० हजार धरौटी तिरेर रीहा भएका हुन ।
जिल्ला स्वास्थ्य कार्यालयले एम्बुलेन्स उपलब्ध नगराएको भन्दै डा.लाई कालोमोसो दल्ने जिल्लाको दशरथचन्द नगरपालीका १ बाडीलेकका पार्वती भुल, गंगा भुल र राधा भुल विरुद्ध मुद्धा परेपछि उनि विगत १३ दिन देखि प्रहरी हिरासतमा थिए ।उक्त घटनामा संलग्न भनिएका मध्येका दलित अगुवा रमेस कोली अझै प्रहरीको सम्पर्कमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए ।
किन डा. अवस्थीलाइ कालोमोसो दले ?
पेटमा सात महिनाका तीन बच्चा हुँदा हातखुट्टा सुन्निएर हिँडडुल गर्न नसक्ने भएपछि स्थानीय हिरा भुललाई जिल्ला अस्पतालले थप उपचारका लागि दुई साता अघि सेती अञ्चल अस्पताल धनगढी रेफर गरेको थियो । तर आर्थिक रुपमा बिपन्न हिरालाई श्रीमानले समेत उपचारका लागि वास्ता नगर्दा उनको उपचार हुन नसकेको बताइएको छ ।
उपचारका लागि अञ्चल अस्पताल रेफर गरेको दुई साता बितिसक्दा समेत पैसाको अभावमा घरमै बसेकी हिराको अवस्था गम्भीर भएपछि छिमेकीले शनिबार बिहान अस्पताल पुर्याएका थिए ।
डेढ वर्षकी दुधे नानीकी आमाको पेटमा सात महिनाका तिम्ल्याहा सन्तान रहेको र त्यसमा पनि एउटाको अवस्था सामान्य नरहेको भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गुणराज अवस्थीले नै उनलाई धनगढी रेफर गरे ।“हिरालाई धनगढी पुर्याउँन मेडिकल सुपरिटेन्डेन्ट डा. गुणराज अवस्थीसँग अस्पतालको एम्बुलेन्स माग्यौं” हिराको उपचारका लागि चन्दा संकलनमा लागेकी सुन्नरी भुलले भनिन्,–“डाक्टर साव्ले तिमीहरूले निशुल्क एम्बुलेन्स माग्न मलाई भोट दिएका थियौं र ? जसलाई भोट दियौं, उसैसँग एम्बुलेन्स माग भने ।”
एम्बुलेन्समा आफुहरूको पनि त अधिकार छ भन्दै सुन्नरीले एम्बुलेन्स त्यत्तिकै रहेको अवस्थामा समेत मेडिकल सुपरिटेन्डेन्टलेनै गैर जिम्मेवार तरिकाले प्रस्तुत हुँदा उनलाई सबक सिकाउन कालोमोसो दलेको बताइन् ।
मान्छेको ज्यान जोगाउनु चिकित्सकीय धर्म भएपनि डा. अवस्थी त्यसमा चुकेको महिलाहरूको आरोप छ । उनीहरूले आर्थिक रुपमा बिपन्न दलित महिलाहरूलाई भोट दिएकासँग एम्बुलेन्स माग भन्दै थर्काएपछि बाध्य भएर कालोमोसो दलेको बताए ।
सबक सिकाउनका लागि कालोमोसो त दल्न पाइन्न नी ! भन्ने जिज्ञासामा आफुहरूले स्थानीय प्रशासन लगायतलाई हिराको उपचारका लागि एम्बुलेन्सको व्यवस्था गर्न माग गर्दागर्दै सुनुवाई नभएपछि अन्तिममा कालोमोसो दलेको महिलाहरूले बताए ।प्रहरीले दुब्र्यवहारमा संलग्न भएको आरोपमा दशरथचन्द नगरपालिका–१ की पार्वती भुल, गंगा भुल र राधा भुललाई नियन्त्रणमा लिएको थियो ।

No comments:

Post a Comment