छोराले दलित युवतीसँग विवाह गरेपछि वृद्धवृद्धा सामाजिक विभेदको सिकार भए

विभेद विरुद्ध अभियान ,जेष्ठ २४ नुवाकाेट / छोराले दलित युवतीसँग विवाह गरेपछि तुप्चेमा एकजोडी वृद्धवृद्धा सामाजिक विभेदको सिकार भएका छन् । तुप्चे– ३ बाहुनडाँडाका ७१ वर्षीय कुलबहादुर लामिछाने र उनकी श्रीमती ६७ वर्षीया धनकुमारी लामिछानेको परिवारलाई स्थानीयले सामाजिक विभेद गरेका हुन् । स्थानीयले सामाजिक विभेद गरी लामिछाने परिवारमा परेको श्राद्धमा पुरेत आउनसमेत अवरोध गरेका छन् ।
गत वर्ष माघदेखि लामिछाने परिवार विभेदको सिकार हुन थालेको हो । कुलबहादुरका छोरा कृष्णकुमार लामिछानेले ०६३ मा गाउँकै पार्वती विकसँग विवाह गरेका थिए । दलित युवतीसँग विवाह गरेर राजधानीतिर बस्दै आएका छोरालाई कुलबहादुरले गत वर्ष चैतमा अंशसमेत दिएका थिए । दलितसँग विवाह गरेपछि एकपटक पनि आफ्नो घरमा नबसेका र गाउँ आउँदा कृष्णकुमार ससुरालीमै बस्दै आएका छन् ।
तर, स्थानीयले पनि कुलबहादुर र उनकी श्रीमती धनकुमारीलाई स्थानीय सामाजिक पर्वहरूमा बहिष्कार गर्दै आएका छन् । पहिले त गाउँमा हुने विवाह, ब्रतबन्धजस्ता कार्यमा विभेद गर्दै आएकोमा अहिले आफ्नै घरमा पिताको श्राद्धमा आउन ठीक परेका पुरेतसमेतलाई रोकेपछि घटनालाई सार्वजनिक गर्न बाध्य भएको कुलबहादुरले बताए ।
कुलबहादुरको घरमा जेठ १० गते परेको श्राद्धमा स्थानीयले फोन गरेर धम्की दिएर पुरेत शान्तप्रसाद अधिकारीलाई आउन रोकेका थिए । सामाजिक विभेदको सिकार भएका कुलबहादुरले मंगलबार तुप्चे गाविसमा सामाजिक विभेद भएको र सामाजिक रूपमा सहज तरिकाले बस्ने व्यवस्था मिलाइपाऊँ भनेर निवेदनसमेत दिएका छन् ।
निवेदनमा छोरा अर्जुनप्रसाद लामिछाने, भाइ टोपप्रसाद लामिछाने, छिमेकी रामप्रसाद अधिकारी र चेतनाथ न्यौपानेले दलितको छोरीसँग विवाह गरेको मातापितालाई घरमा राखेकाले सामाजिक बहिष्कार गर्न धम्की दिँदै छिमेकमा हुने सामाजिक कार्यमा समेत सहभागी हुन नदिएको र घरमा परेको कार्यमा समेत रोकेको उल्लेख गरिएको छ ।
भूकम्पले घर भत्केपछि टहरामा बस्दै आएका वृद्धवृद्धा लामिछानेदम्पतीले जेठ १० गतेको श्राद्धमा ब्राह्मणलाई रोकेपछि सामाजिक रूपमा बहिष्कृत भएको अनुभव गर्दैै न्यायका लागि सहयोग गर्न अनुरोध गरेका छन् । पीडित कुलबहादुरका आफन्त एलिना तिमिल्सेनाले कमजोर परिवार भएकाले छोराले दलित विवाह गरेको नाममा स्थानीयले विभेद गरेको बताइन् ।
आफ्नो सामाजिक र सांस्कृतिक कामसमेत गराउन रोक्नेहरूलाई कारबाही हुनुपर्ने तिमिल्सेनाको भनाइ छ । गत चैतमा छोरालाई अंश दिएपछि स्थानीय अलि बढी आक्रोशित भएको पीडित कुलबहादुरको बुझाइ छ । छोराले विवाह गरेको नौ वर्ष बिते पनि सामाजिक रूपमा विभेदको सिकार हुनु नपरेकोमा गत चैतमा छोरालाई अंश दिएपछि ‘दलित विवाह गर्ने छोरालाई अंश दिनेलाई बहिष्कार गर्नुपर्छ’ भन्ने गरेको पीडितको भनाइ छ ।
‘आफ्नो छोरा जो विवाह गरे पनि अंश पाउने उसको हक भएकाले मालपोत कार्यालयमा आएर अंश दिएको हुँ,’ कुलबहादुरले भने, ‘यसमा अरूले किन टाउको दुखाउनु ?’ नुवाकाेट एक्सप्रेस

No comments:

Post a Comment