०७३ जेठ २७ , विभेद बिरुद अभियान - - डेढ वर्षे छोरीले दुध पिउन छोडेकी छैनन् । फेरि गर्भमा सात महिनाका तिम्ल्याहा सन्तान । ओत लाग्न खरले छाएको सानो कटेरो । आकाशमा बादल लाग्यो की सुतेको ओच्छ्याननै भिज्ने पिर । त्यसमाथि साँझ खाए विहान के खाउँ भन्ने चिन्ता । दिनभरी हात पाखुरी नचलाए बेलुकी चूलोमा आगो नबल्ने समस्या ।सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीकी हिरा भूलको नियति हो यो । निर्धो, त्यसैमा पनि गरिव मुक्त हलिया श्रीमानकी श्रीमती हुन् हिरा । डेढ वर्षे छोरीले काख नछोड्दै पेटमा फेरि गर्भ रहँदा चिन्ता, भोकमरी, कुपोषण मात्रै होइन, अनेक तनावहरूको वर्षा नै लाग्यो उनको जीवनमा । गर्भावस्थामा समस्याले घाँटी नै च्याप्यो भने मात्रै स्वास्थ्य चौकी पुग्ने ग्रामिण वस्तीका महिलाहरूको बानी । ‘हेराए दोष, कन्याए छारो’ अर्थात ज्योतिष वा धामीलाई देखाउँदा कुनै न कुनै देवी देवताको दोष देखिन्छ, शरिर कन्याउने हो भने छारो त निस्किन्छ नै भन्ने परम्परागत मान्यताले जरो गाढेको ग्रामिण समाज । त्यसैले पनि हिरा जस्ता अनपढ महिलाहरू गर्भावस्था होस् या अन्य अवस्थामा ठूलो समस्या नदेखिएसम्म अस्पताल जाँदैनन् । अस्पताल गए त डाक्टरले कुनै न कुनै रोग देखाइहाल्छन्, औषधी किन्नै पर्छ । अनि किन त्यसै अस्पताल जानु भन्ने गलत बुझाई । यस्तै मान्यताको शिकार भइन् दलित महिला हिरा भूल ।
गर्भावस्था, सामान्य अवस्था भन्दा अलि बढीनै रेखदेख, माया ममता, खानपान, आराम, सरसफाई चाहिने समय । यी सबै कुरा त कहाँ पो पाउनु र ? तरपनि शरिरमा पोषण तत्वको कमी र प्रशस्त आराम नपाउँदा हिराका हात खुट्टा सुन्निएर हिड्डुल समेत गर्न नसक्ने अवस्थामा उनलाई जिल्ला अस्पताल पुर्याइयो । हिराको गर्भमा तिम्ल्याहा सन्तान रहेको र एउटाको अवस्था असामान्य रहेकाकारण जिल्ला अस्पतालमा उपचार सम्भव नभएको भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. गुणराज अवस्थीले उनलाई सेती अञ्चल अस्पताल धनगढी रेफर गरे । तर पैसा तिरेर सिटामोल समेत किन्न नसक्ने अवस्थाकी हिरा उपचार गर्न अस्पतालले रेफर गरेको कागज साथमा बोकेर घर फर्किन् । आफुसहित गर्भका सन्तानको ज्यान भगवान दाहिने भए जोगिएला, नत्र जीवन यति नै रहेछ भन्दै ईश्वर पुकार्दै बसिन् । आँखिर यो बाहेक उनीसँग अरु कुनै विकल्प पनि त थिएन ।
महिलाहरू जुर्मुराए
हिराको अवस्था नाजुक बन्दै जान थालेपछि मुक्त हलिया बस्तीका अरु महिलाहरूले समुह बनाई अस्पतालसँग एम्बुलेन्स सहयोग माग्न जाने निधो गरे । उपचारका लागि रेफर गरेको दुई हप्ता पुग्न लागिसक्यो । पैसाको अभावमा एम्बुलेन्स नपाउँदा उनको ज्यान जान सक्ने खतरा बढेपछि सरकारी अस्पतालको एम्बुलेन्स निशुल्क माग्न जाने निधो गर्दै महिलाहरू जिल्ला जनस्वास्थ्य प्रमूख एवम् जिल्ला अस्पतालका मेसु डा. गुणराज अवस्थीको कार्य कक्षमा पुगे । महिलाहरूका अनुसार डा. अवस्थीले कार्य कक्षमै मदिरा सेवन गरेका थिए । उनले निशुल्क एम्बुलेन्स माग्नलाई तिमीहरूले मलाई भोट दिएका थियौ र ? भन्दै ‘डुम’ शब्द प्रयोग गरेर अपमान गरे । सत्य के हो ? उनीहरूबीच के कुराकानी भयो ? डा. अवस्थीले ‘डुम’ शब्द प्रयोग गरे या गरेनन् त्यसको जानकारी यी दुई पक्षलाई मात्रै छ । घटनास्थलको सीसी टिभी फुटेज हुन्थ्यो भने यति धेरै बहस र विवाद हुँदैनथ्यो । तर आफुहरूलाई भोट दिएको हो र भन्दै ‘डुम’ शब्द प्रयोग गरेर डा. जस्तो शिक्षित र उच्च ओहोदाको व्यक्तिले समग्र दलित समुदायको आत्म सम्मानमाथि प्रहार गरेको दाबी महिलाहरूको छ ।
निशुल्क एम्बुलेन्स माग्नलाई तिमीहरूले मलाई भोट दिएका थियौ र ? भन्दै ‘डुम’ शब्द प्रयोग गरेर अपमान गरे । सत्य के हो ? उनीहरूबीच के कुराकानी भयो ? डा. अवस्थीले ‘डुम’ शब्द प्रयोग गरे या गरेनन् त्यसको जानकारी यी दुई पक्षलाई मात्रै छ । घटनास्थलको सीसी टिभी फुटेज हुन्थ्यो भने यति धेरै बहस र विवाद हुँदैनथ्यो । तर आफुहरूलाई भोट दिएको हो र भन्दै ‘डुम’ शब्द प्रयोग गरेर डा. जस्तो शिक्षित र उच्च ओहोदाको व्यक्तिले समग्र दलित समुदायको आत्म सम्मानमाथि प्रहार गरेको दाबी महिलाहरूको छ ।
यदी डाक्टरले यसोे भनेका हुन् भने उनलाई कानुनको कठघरामा उभिनबाट कसैले छेकबार गर्नुहुँदैन । नेपालको कानुनमा कथित जातकै आधारमा कसैले कसैलाई गाली बेइजती, अपमान, हेलोहोचो गर्न पाउने छुट छैन । नेपाल जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा भइसकेको पनि एक दशकनै पुरा भइसकेको छ । डाक्टर जस्तो समाजको रोल मोडल मान्छेलाई कुनै अरु मान्छेमाथि यस्तो छुद्र व्यवहार गर्ने अधिकार छैन र हुनुहुँदैन पनि । यसको हेक्का डा. अवस्थीले राख्नै पर्छ ।
कालोमोसो, मानवीय सभ्यता विरुद्ध
डाक्टरले आफुहरूलाई डुम भनेकाकारण उनलाई कालोमोसो दलिएको भन्ने महिलाहरूको भनाई कुनै ढुङ्गे युगमा मान्य थियो होला । बिरोध गर्न पाइने संवैधानिक अधिकार सबैलाई छ । तर त्यसको स्वरुप लोकतान्त्रिक मूल्य र मान्यता बिपरित हुनुहुँदैन । आजको सभ्यताको युगमा पनि कुनै एउटा व्यक्तिले कानुनको बिरुद्धमा बोल्यो भन्दैमा उसबिरुद्ध मानवीय सभ्यता नै भूलेर यदी कसैले व्यवहार गर्छ भने उसले पनि उन्मूक्ति पाउनु हुँदैन ।
कमजोरी राज्यबाटै
हो समस्याहरू थुप्रै छन् । देश जातिय छुवाछुत मुक्त घोषणा भएको दशक बितिसक्दा पनि दलित जातिले त्यसको अनुभूति व्यवहारमा गर्न नपाएको सत्य हो । हिजो भन्दा आज धेरै परिवर्तन भइसक्यो । छुवाछुत कहाँ छ र ? भन्दै मुखौटे कुरा गर्नेहरूलाई के थाहा कि, हाम्रा गाउँ बस्तीहरूमा अहिले पनि छोइछिटो गर्ने चलन हटेकोे छैन । दलितलाई छोए पश्चात आफ्नो घर वा मन्दिर जाँदा आमा, छोरी वा दिदी बहिनीबाट सुन पानी छर्किने चलन यथावत छ । दलित समुदायका मान्छेहरूले सरकारी सेवा सुविधा प्रयोग गर्न खोज्दा अहिले पनि डुमहरूलाई सेवा सुविधा चाहियो रे भन्दै उछिट्टो काटिन्छ भनेर । हो यसकै उपज हो यो घटना । यदी राज्यले छुवाछुत बिरुद्ध मान्छेमा चेतना फैलाउन सकेको भए, मान्छेलाई मान्छेको व्यवहार गर्न प्रेरित गर्ने कार्यक्रम गर्न सकेको भए किन हुन्थे र हरेक दिन यस्ता अमानवीय घटनाहरू ?
राजनीतिको अपराधिकरण
कुखुरा लडेको विषयदेखि केटाकेटीबीचको विवादलाई समेत राजनीतिको रङ दिइहाल्ने परिपाटीले नेपालमा संस्थागत रुप लिदै आएको छ । राम्रो, नराम्रो जस्तोसुकै विषयमा पनि यो पाटी वा त्यो पाटी भइदिने गलत संस्कृतिको अन्त्य हुन नसक्दा अन्ततः आर्थिक, राजनीतिक, सामाजिक एवम् शारिरीक रुपले अशक्त हिरा जस्ता सोझा महिलाहरूनै पर्ने गरेका छन् ।
यो घटनामा पनि त्यस्तै भएको छ । दलित महिलाहरूलाई मदिरा सेवन गरि डुम भन्ने डाक्टरलाई कार्वाही गरेरै छाड्ने पक्षमा नेपाली कांग्रेस छ । सत्तासिन एमालेको जिल्लादेखि केन्द्रसम्मको शक्ति कुनै पनि हालतमा डाक्टरलाई बचाउने र महिलाहरूलाई ३५ दिनसम्म हिरासतमै राख्ने खेलमा छ । त्यो कुरालाई जिल्ला प्रहरी कार्यालय बैतडीले महिलाहरूले दिएको डाक्टर बिरुद्धको जातिय विभेदको जाहेरी दर्ता नगरि डाक्टर गुणराज अवस्थीले दिएको महिला बिरुद्धको सार्वजनिक अपराध अन्तरगतको मुद्धा दर्ता गरेबाट नै प्रष्ट हुन्छ ।
र अब यो घटनालाई आफु इतर बनाउन खोज्नेहरुलाई पनि प्रश्न, हिराले समयमा उपचार नपाएपछि दुई सन्तान गुमाउदाको क्षतिपुर्ती कसले भरिदिन्छ ? यसको जिम्मेवार को हुन्छ ?
न्याय कहाँ छ ?
नेपालको सविधानले सबै नागरिकको स्वास्थ्यको अधिकारलाई सुरक्षित गरेको छ । तर हिरा जस्ता ग्रामिण, गरिव, असहाय, बिपन्न महिलाहरू उपचार नपाएरै जीवनको भिख मागिरहेका छन् । कतिपय अस्पतालै देख्न नपाई मृत्यूको मुखमा पुग्छन् त कतिपय हिराहरू डा. गुणराज अवस्थी जस्ता पद, प्रतिष्ठा, पहूँच र पैसा हुँदा पनि मनकारी र व्यवहारिक नभई दिँदा पीडा. ले छट्पटाउँछन् । उनीहरूको रोदन सुनिदिने, बुझिदिने र मनन् गरिदिनेको संख्या थोरै मात्र हुँदा गरिव, दलित र महिला भएर जन्मिनुनै ठूलो अभिषाप बनिदिन्छ । नियती बनिदिन्छ ।
अब अरु हिरा नबनुन्
अचानोको पीर बन्चरोलाई के थाहा ? हो यो घटनामा पनि यस्तै भएको हो । पेटमा तिम्ल्याहा सन्तान छन् । एउटाको अवस्था ठिक छैन । तुरुन्त राम्रो अस्पताल उपचार गराउन भन्दै हिरालाई सेती अञ्चल अस्पताल धनगढी रेफर गर्ने पनि डाक्टर अवस्थी नै रहेछन् । कुपोषण, तनाव र अभावको जिन्दगी बाँच्नु पर्दा हिरालाई सात महिनाकै समयमा सुत्केरी व्यथाले च्यापिसकेको रहेछ । त्यसैले उनका हात खुट्टा सुन्निएर हिँड्न समेत नसकेकी रहिछन् । तर बैतडीबाट धनगढी पुग्न १८ हजार एम्बुलेन्स चार्ज तिर्न नसक्ने भएपछि उनले दुई हप्तासम्म निसास्सिदै घरमै च्यापेको व्यथा चिकित्सक जस्तो मान्छेले त बुझ्न सकेनन् भने अरुलाई त के नै भन्नु र ? तर पनि पैसा, पहुँच र खोक्रा शैक्षिक प्रमाण पत्र बिनाका दलित महिलाहरूले चन्दा संकलन गरेरै हिरालाई एम्बुलेन्स मार्फत धनगढी पुर्याए । त्यहाँ पनि उपचार नभएपछि बाँकेको कोहलपुर पुर्याएर ज्यान बचाए । डा. अवस्थीले पेटमा तिम्ल्याहा सन्तान भनेका भएपनि कोहलपुर मेडिकल कलेजका चिकित्सकले औषधी सेवन गराई सुत्केरी गराए । दुई छोरा जन्मिए । दुबै बच्चालाई तिनदिनसम्म आईसीयूमा राखेर उपचार गरियो । तर अन्ततः बच्चाहरु बचाउँन सकिएन । आज दुबै सन्तानको मृत्यु भएपछि ट्याक्टरको पछाडी बसेर सुत्केरी अवस्थाकी हिरा कोहलपुरबाट आठ घण्टा भन्दा बढीको कष्टपूर्ण यात्रा गर्दै घर बैतडी पुगेकी छिन् ।
सलाम छ ति महिलाहरूलाई जसले मजदुरी गरेर जोहो गरेका दुई चार सय रुपैयाले एक असल छिमेकी हुनुको कर्तव्य मात्रै पुरा गरेनन्, एउटा मान्छे हुनुको धर्म पनि निभाए ।
कतिपय अस्पतालै देख्न नपाई मृत्यूको मुखमा पुग्छन् त कतिपय हिराहरू डा. गुणराज अवस्थी जस्ता पद, प्रतिष्ठा, पहूँच र पैसा हुँदा पनि मनकारी र व्यवहारिक नभई दिँदा पीडा. ले छट्पटाउँछन् । उनीहरूको रोदन सुनिदिने, बुझिदिने र मनन् गरिदिनेको संख्या थोरै मात्र हुँदा गरिव, दलित र महिला भएर जन्मिनुनै ठूलो अभिषाप बनिदिन्छ । नियती बनिदिन्छ ।
एक पटक मान्छे भएर सोच्ने की !
बैतडीको स्वास्थ्य क्षेत्रमा निकै ठूलो योगदान दिएका व्यक्ति भनेर चिनिएका डाक्टर अवस्थीले के हिराको ठाउँमा उनकी श्रीमती, आमा, दिदी वा अन्य कुनै आफन्त भइदिएको भए यस्तै निर्णय गर्थे त ? उनलाई तत्काल एम्बुलेन्सको आवश्यकता भइरहँदा त्यतिबेला एम्बुलेन्स उपलब्ध गराएर बरु त्यसको बिल तिर्न निश्चित समय तोकिदिएको भए एउटा मान्छे, चिकित्सक र नागरिक हुनुको कर्तव्य पुरा हुन्थ्यो की ? अनि हिरा यदी त्यो १४ दिनसम्म बाँच्न सफल नभएकी भए त्यो घटनाको दोषी को हुन्थ्यो ? के हिराको दुखद् खबर सुनिसकेपछि पनि डाक्टर अवस्थीलाई जीवनभर पश्चातापको रापले खुसी साथ बाँच्न दिन्थ्यो त ? हिराका छोराहरु त बाँचेनन् । उनले रित्तै हात घर फर्किनु परेको छ । भाग्यनै भन्नु पर्छ हिरा त बाँचिन् । अब उनका दुई भाई छोराहरुको मृत्युको कारण डाक्टर अवस्थीलाई मान्ने की नमान्ने ? उत्तर स्वय् डाक्टर र सचेत नागरिकलाई पनि ।
र अन्तमा
पद, प्रतिष्ठा, पहूँच र पैसा भएका सबै मान्छेहरूलाई अनुरोध ! यदी तपाईकी आमाले तपाईलाई नजन्माइदिएको भए तपाई आज यो धर्ती र यो अवस्थामा हुने कुरै थिएन । त्यसैले तपाई नभएको बेला उपचार नपाएर घरमै छट्पटाएकी तपाईकी आमाको रोदनलाई सम्झिनुस्, सुत्केरी ब्यथाले च्याप्दै गर्दा साथमा दुई रुपैया नहुँदा तपाईकी श्रीमती र दिदी बहिनीले ज्यान गुमाउनु पर्दा कस्तो मससुस होला ? र समयमा उपचार नपाएपछि गर्भका सन्तानको मृत्यु भएको क्षण तपाईको लागि कति पिडादायी बन्ला ? बस् हरेक मान्छेले एउटा गर्भवती महिलाको अवस्थालाई यतिमात्रै मससुस गरिदिए पुग्छ । धनी गरिव सबै महिलाहरूको व्यथा एउटै हुन्छ । जात, धर्म, वर्ग अनुसार व्यथा कहाँ फरक हुन्छ र ?
No comments:
Post a Comment