साउदीमा चार वर्ष देखि मिलन विकलाई बन्धक बनाएको खुलाशा

असार १५, विभेद बिरुद्ध अभियान- सँगै दुर्घटनामा परेर मृत्यु भएकाको शव नेपाल नफर्काएसम्म फर्कन नपाउने भन्दै एक नेपाली कामदारलाई साउदी अरबमा बन्धक बनाएर राखेको पाइएको छ ।चार वर्षअघि दुर्घटनामा परेर बाँचेका इटहरी खनारका मिलन विकलाई अलफराइना कम्पनीले बन्धक बनाएर राखेको हो । उक्त दुर्घटनामा मृत्यु भएका बाँके सीतापुरका हर्षमान खत्रीको शव अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन ।
शव नेपाल नफर्काएसम्म फर्किन नपाउने भन्दै विकको पासपोर्ट र अन्य कागजात कम्पनीले नै राखेको छ । विक रोजगारीका लागि साउदी गएको आठ वर्ष नाघिसक्यो । विकका बाबु धनबहादुरले भने, ‘कहिले शव नेपाल आउने हो र मेरो छोरा फर्किन पाउने हो ?’धनबहादुरका अनुसार पछिल्लो चार वर्षयता कम्पनीले मिलनलाई तलब दिएको छैन । उनले कान्तिपुरसँग भने, ‘काम गरेबापत खान र बस्नबाहेक कुनै सुविधा दिएको छैन ।’

पानी ट्यांकरको चालकका रूपमा काम गर्ने मिलन प्रत्येक साता बाबुलाई फोन गर्दै कम्पनीले कहिले नेपाल फर्काउने हो भन्ने थाहा नभएको सुनाउँछन् । सवारी दुर्घटनामा परी हर्षमानसँगै आफ्नो छोरा पनि मरेको खबर सुनेका थिए धनबहादुरले ।
त्यही खबरका आधारमा चार वर्षअघि उनले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे उजुरी पनि गरेका थिए । पछि मृतक हर्षमानका बाबु वीरबहादुरले साउदी दूतावासमा दिएको उजुरीपछि उनले आफ्नो छोरा बाँचेको थाहा पाए ।
धनबहादुरले भने, ‘बाँचेको छोरा पनि घर फर्किन नपाउँदा साह्रै पीर लागेको छ ।’ उनका अनुसार दुर्घटनालगत्तै मिलन झन्डै नौ महिना जेल परेका थिए ।
उक्त दुर्घटनामा मृत्यु भएका हर्षमानको शव अलहासास्थित सरकारी अस्पतालमा छ । त्यहाँ शव रहेको केही महिनाअघि मात्रै पत्तो लागेको थियो । साउदी प्रहरीले त्यहाँस्थित नेपाली दूतावासमा खबर गरेपछि हर्षका बाबु वीरबहादुरले छोराको शव भेटिएको जानकारी पाएका थिए ।
दुई वर्षअघि नै वीरले छोराको शव नभेटिएको भन्दै कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन् । वीरले सुनाए, ‘शव ल्याउन सके पूरै विधि पुर्‍याएर फेरि दाहसंस्कार गर्नेछु ।’ अवैध रूपमा विदेश पुगेर मृत्यु भएका नेपाली कामदारको शव ल्याउने संयन्त्र र खर्चको अभावमा हर्षको शव ल्याउन ढिलाइ भइरहेको जनाइएको छ ।

No comments:

Post a Comment