मेरो डायरी : जब जातले रोक्यो मामाघर जाने बाटो - लक्ष्मी बर्देवा

जेष्ठ २४, विभेद विरुद्ध अभियान । एसएलसी परीक्षा दिएर घर फर्केकी थिएँ म त्यस दिन । घर पुग्दा ममीको मुहार घण्टौंदेखि मलाई नै कुरिरहेझैं देखिएको थियो । कोठाभित्र छिर्ने बित्तिकै घरमा देखिएका नयाँ मान्छेहरूलाई संकेत गर्दै भन्नुभयो, ‘मामा–माइजूलाई नमस्ते गर ।’ नमस्ते गर्नकै लागि त मलाई सिकाउनुपर्ने थिएन । यो कुरा ममीलाई पनि थाहा थियो । तर ममीले त्यसो नभनेको भए म मामा–माइजूलाई चिन्ने थिइनँ । किनकि मैले त्यो उमेरसम्म पनि मामा–माइजू देखेकी थिइनँ । ‘नमस्ते’, मैले सानो स्वरमा भनेँ र हात जोडेँ । उताबाट नमस्कार फिर्ता आयो । तर मलाई महसुस भयो कि त्योे नमस्कारमा पटक्कै अपनत्व छैन । ‘ठूली भान्जी ।’ ममीले नै मामा–माइजूलाई भनिदिनू भयो । मामा–माइजू निःशब्द मुस्कुराउनुभयो । सायद कुरा गर्ने कुनै बिषय खोज्दै हुनुहुन्थ्यो होला । मामालाई लागेको हुँदो हो– भान्जी त यति ठूली भइसकिछिन् । तर त्यसो भन्न पनि त मिलेन । किनकि सानोमा हुँदा पनि त देख्नुभएको थिएन । त्यस्तो परिस्थितिमा म न मामा–माइजू देखेर खुसी हुन सकेँ, न त दुःखी नै । मेरो मामाघर जाने इच्छा कहिले हो कहिले मरिसकेको रहेछ । मैले मेरो मामाघरका कुनै पनि सदस्यलाई भेट्छु भनेर सोचेको पनि थिइनँ । किनकि मामाघर हाम्रो लागि नजाने गाउँको बाटोजस्तै बनेको थियो । जसको सोधी–खोजी गर्नुको कुनै अर्थ थिएन । त्यही असमञ्जस स्थितिमा मैले ममीको अनुहार हेरें । त्यहाँ त अनौठो किसिमको चमक थियो । सायद, उहाँले मामा–माइजू आफ्नो घरमा आउने दिन आउँछ भनेर कहिल्यै सोच्नुभएको थिएन । मलाई सानो हुँदा मामाघर जान खुब मन लाग्थ्यो ।
 स्कुल छुट्टी हुनासाथ साथीहरू मामाघर जाने कुरा गर्न थालिहाल्थे । तर आफ्नो त आफूलाई भने कुरासमेत गर्न मन लाग्दैनथ्यो । यतिसम्म कि कसैले मामाघर कहाँ हो भनेर पनि नसोधिदिए हुन्थ्योजस्तो लाग्थ्यो । साथीहरूको. मामाघरमोह देख्दा भने साह्रै लोभ लागेर आउँथ्यो । ‘के हुन्छ होला मामाघरमा ? के खान पाइन्छ होला ?’ यस्ता प्रश्न मनमा आइरहन्थे । लाग्थ्यो– जतिबेला पनि बोकेरै हिँडछन् होला मामाहरूले । मामाघर जान नपाएकोमा घरी–घरी त साहै्र रिस उठ्थ्यो बुबा–ममीदेखि । तर रिसाउनुको के अर्थ ? 

मेरो मामाघर जाने सपना रोक्ने एउटै कारण थियो– बुबा–ममीको अन्तरजातीय विवाह । बाबा परियार र ममी ब्राम्हण समुदायको भएकै कारण मलाई मामाघर जाने सपना देख्ने अधिकार थिएन । ठुलो हुँदै जाँदा बिस्तारै बुझ्न थालेँ कि घर र मामाघरबीचको ठूलो पर्खाल भनेको मेरो हजुरबुबाको प्रतिष्ठा र आत्मसम्मानको खोक्रो घमण्ड थियो । घरको जेठो सन्तान हुनुहुँदो रहेछ ममी । सानै उमेरमा आफ्नै फ्याक्ट्रीमा काम गर्ने, त्यो पनि कथित तल्लो जातको व्यक्तिसँग विवाह गरेको भनेर घरबाटै बहिस्कार हुनु परेको रहेछ । जब कुरा बुझ्दै जान थालेँ, ममीप्रति सम्मान र मामाघरप्रति घृणा बढ्दै जान थालेको थियो । ममी ऐशआराममै हुर्किनुभएको रहेछ । काठमाडौंको स्थायी बासिन्दा । सुखसयलको जिन्दगी चटक्क माया मारेर रामेछापजस्तो विकट ठाँउमा घाँस, दाउरा, पानीपधेँरो गर्न तयार हुने उहाँको प्रेम र त्यसप्रतिको समर्पण साँच्चै अतुलनीय छ । बाबाले ममीको बारे धेरै कुरा सुनाउनुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘ढिँडो भनेको सुन्दा तेरी आमा हाँस्थी ।’ म सानो बेलाको कुरा सम्झन्छु, रामेछाप हुँदा ढिंडो पकाउन समेत पिठो नपुगेपछि ममीले खोले बनाएर खुवाउनुभएको थियो । यी कुराहरू बुझ्दै जान थालेपछि मैले मामाघर लैजानू भनेर ममीलाई कहिल्यै कर गरिनँ । किनकि मलाई थाहा थियो– स्कुलबाट छुट्टी हुँदा साथीहरूले गरेको कुरा सुन्दा जति मलाई मामाघरको याद आउँथ्यो, त्योभन्दा धेरै नियास्रो ममीलाई तीज र तिहारमा माइतीकोे लाग्थ्यो । २० वटा नियास्रा तीज र तिहार मनाइसकेपछि आमाको अगाडि त्यो दिन आएको थियो । उहाँको अगाडि माइती आएका थिए । मलाई पनि मामा आफैं हाम्रो घर आएकोमा अचम्म लागेको थियो । यत्तिकैमा माइजू बोल्नुभयो, ‘बिहा गरेको छ महिना बितिसक्दा पनि दिदी हुनुहुन्छ भन्ने मलाई थाहा नै थिएन । पछि उहाँले भनेर थाहा पाएँ । जे जस्तो भए पनि चेलीबेटी भनेको चेलीबेटी हो ।’ माइजूको कुरा सुनेपछि लाग्यो– उहाँहरू आउनुमा माइजूको ठूलै योगदान रहेछ । त्यसपछि मामाले भन्नुभयो, ‘जे भए पनि अब आऊ जाऊ गर्न थाल्नुपर्छ । 
सधैँ यसरी हुँदैन ।’ त्यतिबेलासम्म ममीको आँखामा तलाउ बनिसकेको रहेछ । मैले अनुमान गरेँ, त्यो आँसु पक्कै खुसीको हुनुपर्छ । त्यस दिन उहाँहरूले धेरै कुरा गर्नुभयो । दिन ढल्कँदै जाँदा मामा–माइजू फर्किन लाग्नुभयो । मतिर हेरेर हाँस्दै निम्ता गर्नुभयो, ‘भान्जी, ममीसँगै तपाईं पनि आउनू है मामाघर ।’ मैले मुस्कुराएर भनेँ, ‘हुन्छ ।’ तर झट्ट मनमा आयो– मेरो रमाउँदै मामाघर जाने उमेर त होइन यो । त्यतिबेलासम्म मेरा साथीले मामाघरको कुरा सुनाउन छोडिसकेका थिए । मामाघर भन्ने शब्द सुनेर उत्साहित र उत्सुक हुने उमेर मैले छिचोलिसकेकी थिएँ सायद । सायद, मामाघरमा गएर रमाइलो गर्ने रहरहरूमा धेरै पहिले पूर्णविराम लागिसकेको थियो । 

रातोपाटी बाट

No comments:

Post a Comment