दलित परिवारकी रुपा हितांगा महिलाहरुका लागि प्रेरणाको स्रोत बन्न सफल

५ आषाढ २०७३,विभेद बिरुद्ध अभियान- गाँस, बाँस र कपासको जोहो गर्नकै लागि शुरु गरिएको बाख्रापालन तथा तरकारी खेतीले विपन्न परिवारकी रुपा हितांगा मदनपोखरा गा.वि.स. तथा आसपासका अन्य गाँउहरुका महिला दिदीबहिनीहरुका लागि प्रेरणाको स्रोत बन्न सफल भएकी छिन् ।निम्न आर्थिक अवस्थाकी रुपा मदनपोखरा, पाल्पामा बसोबास गर्छिन् । उनी आजभन्दा करिब ८ वर्ष अगाडीसम्म अर्काको खेतबारीमा मेलापात तथा ज्याला मजदुरी गरेर परिवारको गुजरा चलाउने गर्दथिन् ।एकातिर चरम गरिबी, तथा दलित परिवारको सदस्य अनि अर्कोतिर श्रीमान्ले अत्याधिक मदिरापान गरेर दुःख दिने गरेको कारण समुदायका मानिसहरुले रुपालाई अन्यको तुलनामा भेदभाव गर्ने गर्दथे । उनीहरुको त्यस्तो ब्यवाहारले रुपालाई भित्रभित्रै दुःखी बनाउथ्यो । र, उनले समाजमा केही गरेर देखाउने संकल्प गरिन् ।
समय बित्दै जाने क्रममा रुपाले छोरीलाई जन्मदिइन् । पारिवारीक जिम्मेवारी बढेको भएतापनि श्रीमानको व्यवाहारमा कुनै परिवर्तन आएको थिएन । छिमेकीको खेतबारीमा ज्याला मजदुरी गरेर मात्र जीवन विताउनु भन्दापनि बरु सानो तिनो नै भएपनि आफ्नै व्यवसाय गरेर स्वरोजगार हुने उद्देश्यले उनले बाख्रापालन शुरु गरिकी हुन् ।एक हजार रुपैयाँबाट बाख्रापालन गर्न शुरु गरेकी रुपाले अहिलेसम्म दुई लाखजतिको आयआर्जन गरिसकेकी छिन् । कडा मेहनत र परिश्रम अनि लगनशीलतासहित गरिएको बाख्रापालन ब्यवसायमा रुपाले परिश्रम अनुसारको परिणाम नपाउने त कुरै थिएन । यसैबिच उनले फेरि छोरालाई जन्मदिइन् । तर, श्रीमान्को ब्यवहारमा कुनै परिवर्तन आएको थिएन ।
पारिवारिक खर्च बढे संगै घरको आर्थिक अवस्थामा सुधार गर्नका लागि रुपाले स्थानीय समुदायमा मौसमी तथा बेमौसमी तरकारी ब्यवसाय गर्न शुरु गरेकी हुन् । यसका लागि उनले स्थानीय संगम टोल आमा समूह, मदनपोखराबाट २० हजार रुपैयाँ ऋण लिएकी थिइन् । उक्त रकमबाट उनले ४ रोपनी जमिन भाडामा लिनुको साथै आवश्यक बिउ, बिजन तथा मल आदी खरिद गरेकी थिइन् ।ब्यवसायिक तरकारी खेतीबाट प्रत्येक वर्ष ७० हजार जतिको आम्दानी गर्दैआइरहेकी छिन् । अहिले उनी त्यही तरकारी खेतीको ब्यवसायको कारणले आफ्नो समुदायमा अन्य महिलादिदीबहिनीहरुका लागि पे्ररणाको स्रोत बनेकी छिन् ।
रुपाले यसरी ब्यवसाय गरेको देखेर स्थानिय तथा अन्य आसपासका धेरै महिलाहरुले पनि फुर्सदको समयलाई सदुपयोग गर्दै ब्यवसायिक तरकारी खेती गरेका देख्दा रुपा खुशी छिन् । त्यसको साथै उनले दायित्व महिला इन्टर प्राइजच्यालेन्ज, पाल्पामा पनि सहभागी जनाएकी छिन् ।रुपाको परिवार तथा आफन्तहरु मध्ये यसरी व्यवसायिक तरकारी ब्यवसाय गर्ने उनी नै पहिलो सदस्य हुन् । उनीहरुको परिवार तथा आफन्तहरुमा कसैले पनि तरकारी खेती गरेको थिएनन् ।
उनका श्रीमान् ताराले आफूले मदिरापान गरेकै कारण उनी र उनकी श्रीमती रुपा तथा उनको परिवारलाई अन्य ब्यक्तिको तुलनामा फरक ब्यवाहार गरेको महशुष हुनथाल्यो । त्यसपछि उनले मदिरा सेवन गरेर खेर फालेको समयलाई खेतबारीमा प्रयोग गर्न थाले । मदिरा सेवनको नराम्ररी लत बसेका तारालाई श्रीमती रुपाको साथ र सहयोगले मदिरालाई चटक्कै छाड्नका लागि ठूलो सहयोग पुगेको थियो ।
बिस्तारै आर्थिक अवस्थामा सुधार आयो । उनको ब्यवसायमार्फत उत्पादन भएको तरकारीहरु तथा खसी, बोका तानसेन बजारमै खपत हुने गर्दछ । अझकहिले कँही त घरसम्मपनि खरिद गर्न आउने गर्दछन् ।रुपा एक्लैले विगत ५ वर्षदेखि पूरै घर ब्यवहारसहित बाख्रापालन तथा तरकारी खेतीको ब्यवसाय चलाइरहेकी छिन् भने तारा बैदेशिक रोजगारीको शिलशिलामा कतारमा छन् । रुपाको स्वदेशको कमाईले उनीहरुको परिवारको खर्च राम्ररी चलिरहेको छ र केही बचत भइरहेको छ । त्यसको साथै श्रीमान्ले बिदेशबाट पठाएको रकममा आफूले गरेको बचत पनि थपेर बुटवलमा घडेरी समेत जोडेकी छिन् ।
उनले आफ्ना छोराछोरीलाई गुणस्तरिय शिक्षा दिएकी छिन् । उनीकी छोरी ८ कक्षा र छोरा ४ कक्षामा अद्यययनरत छन् ।कुनै समयमा मदनपोखरा गाविस भरिकै दुःखी परिवार भनेर चिनिने रुपाको परिवार अहिले सबै भन्दा सुखी परिवार भनेर चिनिएको छ । आखिर दृढ संकल्पका साथमा मेहनत तथा लगनशील भएर काम गरेमा सफलता पाइन्छ भन्ने त रुपाको कथाबाट पनि थाहा पाइयो । हामीले पनि रुपाले झै आफ्नो परिवारलाई सुखी र खुशी बनाउन सृजनात्मक सोचाइ राखेर अगाडी बढ्ने पो हो की ?

No comments:

Post a Comment