एसएलसीमा उत्कृष्ट नम्बर ल्याएकी दलित किशोरी उच्च शिक्षाबाट वञ्चित

बागलुङ -असार ११,  एसएलसी परीक्षामा उत्कृष्ट नम्बर ल्याएकी एक विपन्न दलित किशोरी उच्च शिक्षा पढ्नबाट वञ्चित भएकी छन् । नारायणस्थान ५ बलेवाकी १७ वर्षीया सिवानी नेपालीलाई यस्तो समस्या भएको हो । उनले यसपटकको एसएलसीमा ३ दशमलव ५५ स्कोर प्राप्त गरेकी छन् । 

आर्थिक अवस्था कमजोर भए पनि पढाइमा मेधावी भएकाले उनलाई मावि तहसम्म गणेश माविले छात्रावासमा बसेर नि:शुल्क पढ्ने व्यवस्था मिलाएको थियो । प्रधानाध्यापक चूडामणि सुवेदीका अनुसार सिवानी १५ दिन हुँदा बाबुको मृत्यु भएको थियो भने आमाले दोस्रो विवाह गरेपछि पालनपोषणको जिम्मा हजुरआमा कलिमायाको काँधमा थियो । ‘यस्तो थाहा पाएपछि हामीले सिवानीलाई नर्सरीदेखि माविसम्म आवासीय सुविधासहित पढ्ने व्यवस्था गरेका थियौं ।’
‘घरको अवस्था ज्यादै कमजोर भएकाले सिवानीलाई हामीले एसएलसीसम्म खाने, बस्ने व्यवस्था गरेर पढाएका थियौं,’ प्रधानाध्यापक सुवेदीले भने, ‘अब उच्च शिक्षा कसरी पढ्ने भनेर उनी एकोहोरिने गरेकी छिन् ।’ 
‘बाबुको मृत्युपछि आमाको माया नपाई हुर्किएको मलाई विद्यालयको सहयोगले गर्दा एसएलसीसम्मको पढाइ पूरा गर्न सकें,’ सिवानीले भनिन्, ‘अहिले आर्थिक अभावले उच्च शिक्षा पढ्न नपाउँदा दु:ख लागेको छ ।’ ‘बिहान–बेलुकीसमेत कसरी हातमुख जोर्ने भन्ने घरमा समस्या छ,’ उनले भनिन्, ‘त्यसैले उच्च मावि कसरी पढ्ने भनेर चिन्तामा छु ।’ विज्ञान पढेर डाक्टर बन्ने इच्छा भए पनि आर्थिक अभावमा चाहनालाई त्यसै छाड्नु परेको उनले बताइन् ।
७० वर्षीया हजुरआमा कलिमायालाई पनि नातिनीको भविष्यको निकै चिन्ता छ । ‘बिहान र बेलुकी हातमुख जोर्नै समस्या छ,’ उनले भनिन्, ‘हामी गरिबले पढाउन पैसा जुटाउन सक्ने कुरै भएन ।’

‘घरको अवस्था ज्यादै कमजोर भएकाले सिवानीलाई हामीले एसएलसीसम्म खाने, बस्ने व्यवस्था गरेर पढाएका थियौं, अब उच्च शिक्षा कसरी पढ्ने भनेर उनी एकोहोरिने गरेकी छिन्’
कान्तिपुर बाट

No comments:

Post a Comment