बागलुङको गैरागाउँमा भगत सर्वजित विश्वकर्माको शालिक अनावरण

बागलुङ, ४ जेठ/नेपाली दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको शालिकको शुक्रबार शिक्षामन्त्री गिरिराजमणी पोख्रेलले अनावरण गरेका छन् । सालिक बागलुङ नगरपालिका–७ गैरागाउँमा निर्माण गरिएको छ । कालिमाटी, गैरागाउँ विश्वकर्माको जन्मथलो हो । शालिक अनावरण गर्दै मन्त्री पोखरलले भगत सर्वजित विश्वकर्मा जातिय मुक्ती आन्दोलनका प्रणेता भएको बताए । 
उनले कठोर राणाकालमा पनि दलित मुक्ती आन्दोलनका लागि विश्वकर्माले दिएको योगदान चिरस्मरणीय रहेको उल्लेख गरे । ‘राणाकालको कठिन घडीमा पनि उहाँले जातिय विभेदको विरुद्धमा आन्दोलनको उठान गर्नुभयो, उहाँ हामी सबैका प्रेरक व्यक्तित्व हुनुहुन्छ’ मन्त्री पोखरेलले भने । नेपाली दलित आन्दोलनलाई एकीकृत रुपमा अघि बढाउन विश्वकर्माले खेलेको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ । समाज सुधारक विश्वकर्माले १९९७ सालमा पहिलोपटक दलित आन्दोलनको सुरुआत गरेका थिए । 
बागलुङ शैक्षिक विकासमा पनि विश्वकर्माको उल्लेख्य योगदान छ । विश्वकर्माले २००७ सालमा विश्वकर्मा प्राथमिक विद्यालय स्थापना गरेका थिए । जुन अहिले विश्वकर्मा उच्च माविको रुपमा सञ्चालित छ । उनले धार्मिक, साँस्कृतिक, आर्थिक, शैक्षिक र सामाजिक हिसावले दलित समुदायलाई अधिकारसम्पन्न बनाउनुपर्ने मुद्दालाई मुल रुपमा उठाएका थिए । उनको व्यक्तित्व र पहिचानलाई जोगाइ राख्न भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान समेत स्थापना गरिएको छ । प्रतिष्ठानलेनै विश्वकर्माकोे शालिक निर्माण गरेको हो ।

No comments:

Post a Comment