कुटपिटबाट पीडित प्रमिला विश्वकर्माले न्याय पाइनन्


विभेद बिरुद्ध अभियान  -असार ९ , काठमाडौं–  बाटो निर्माण समितिमा अगुवा बनेर काम गर्दा मरणासन्न हुने गरी कुटपिटमा परेकी सुन्दरदुलारी-७ गछियाकी ३५ वर्षीया प्रमिला विश्वकर्मालाई न्याय दिलाउन प्रहरीले बेवास्ता गरेको बताएकी छन्। ०७३ जेठ २५ गते सुन्दरदुलारी-७ गछियाका स्थानीय मन्दिरा गुरुङ, रञ्जना गुरुङ र माया राईले गालीगलौज गर्दै कुटपिट गर्दा प्रमिलाको मेरुदण्ड र जीउमा गहिरो चोट लागेको पीडितले बताइन् । 
स्थानीय महिलाहरूले सानो जातको भएर बढी जान्ने भएको भन्दै छिमेकी रहिता परियारको घरमा आएर जातिय भेदभावपूर्ण गालिगलौज गर्दै कुटपिट गरेर तातो फलामे आइरनले जीउमा डामेको समेत बताइन ।घटना भएको दिन नै सुन्दरदुलारी स्थित प्रहरी चौकी र जेठ २९ गते इलाका प्रहरी कार्यलय बेलवारीमा उजुरी दिएपनि हालसम्म प्रहरीले कुनै कारबाही नगरेको प्रमिलाको गुनासो गरिन् ।


असार १ गते दुवै पक्ष बोलाएर छलफल गराउने भनेपनि बेलवारीका प्रहरी निरिक्षक नै उपस्थित नभएको पीडितले बताइन् । इलाका प्रहरी कार्यालय बेलवारीका प्रमुख इन्स्पेक्टर मेघराज थापाले १ गते प्रमिलाको डिस्चार्ज नभएकोले छलफल गराउन नसकिएकोले असार १२ गतेलाई दुवै पक्षलाई बोलाएको जानकारी दिए ।



०७२ फागुन १० गते बाटो पिच गर्ने विषय देखि नै मन्दिरा र प्रमिलाको विवाद शुरु भएको समेत इन्स्पेक्टर थापाले बताए । उनीहरू आमा समूहमा आबद्ध छन् । प्रमिला अध्यक्ष र मन्दिरा कोषाध्यक्ष छिन ।घटना पछि विराटनगर स्थित न्युरो अस्पतालमा प्रमिलाको उपचार भएको छ । डिस्चार्ज गरेर घर गएकी भएपनि पुनः समस्या देखिएपछि पीडितको विराटनगरस्थित विराट नर्सिङ होममा अहिले उपचार भइरहेको छ । 

No comments:

Post a Comment